१.
तिम्रो नजानिदो ढंगको जलनमा नि माया भेट्छु
शब्दहरूले हिर्काएको चड्कनमा नि माया भेट्छु
जब हँसिलो अनुहारमा ईश्र्याको बादल छाउँछ
गर्जिदै दिएका ती कठोर वचनमा नि माया भेट्छु।
२.
मनमा गाँठो पार्ने फुकाउने पनि आफ्नैले त हो
शब्दले ढाल्ने शब्दले उठाउने पनि आफ्नैले त हो
जोडेका सम्बन्ध सुखमा मात्र उपस्थिति हुनसक्छन्
रिस गर्ने माया गर्ने, मन दुखाउने पनि आफ्नैले त हो ।
३.
साँघुरो विचार दरिद्र सोचाइ राखेर पनि खास ठान्नेहरुलाई
कसरी सम्झाउनु आफू मालिक अरूलाई दास ठान्नेहरूलाई
मानसिक अपाङ्गको उपाधि दिऊँजस्तो लाग्छ सत्य कसम
अरूलाई धर्तीको झारपात, आफूलाई आकाश ठान्नेहरूलाई ।
४.
कहिले रमझममा कहिले आँसुको तलाउमा राखिन्छ
अमुल्य जीवनलाई जानीनजानी सस्तो भाउमा राखिन्छ
यो झुटो दुनियाँमा विश्वासका अग्लाअग्ला भ्रम, पालेर
कठपुतलीको बजारमा थोरै खुसी पनि दाउमा राखिन्छ ।
५.
छलकपटको पसल थापी हानथाप गर्नेले
आदर्शका गफ कहिले नछाँट्नु पाप गर्नेले
चिप्लिको वचन छोडेको गोली फिर्ता हुँदैन
नउठाउनु फेरि आशीर्वादका हात सराप गर्नेले ।