
चर्चामा पुस्तक
छेपारो समय
पार्वती पुडासैनीको कवितासङ्ग्रहभित्र कोमल अनुभूतिले भरिएका ७५ थान कविताहरु समावेश गरिएका छन् ।
कृतिभित्र प्रेमिल आत्मानुभूतिहरु,नारीका पीडा र वेदना,सत्यको विपक्षमा हुने गरेका कुरुप विकृतिहरुको विरुद्ध लेखिएका कविताहरु छन् ।लैङ्गिक र जातीय विभेदको विपक्षमा बोलिएका कविता छन् । पर्यावरणप्रति सचेत कवि संरक्षणमा बोलेकी छिन् । युवाका यावत समस्या र वर्तमान विषम परिवेश लगायतका विषयमा कविताहरु कोरिएका छन् ।
छोटा आकारका कविता मर्मस्पर्शी छन् । भावनाको गहिराईबाट निस्केका छन् । जीवन दर्शन समेत बोध गराउने कविताहरु सुन्दर छन् । छोटा छन्,काब्यात्मक चेतले भरिएका कविताहरु छन् ।
छेपारो समयलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.२००। रहेको छ।
अतृप्त रहरहरु
अम्बु बिहानीको मुक्तकहरुको संगालो जसमा २१६ वटा विभिन्न विषयमा लेखिएका मुक्तकहरु समावेश गरिएको छ । भावलाई बृहद बनाउन सक्षम,देशको पीडा बोल्ने,राष्ट्र र राष्ट्रियताको पक्षधर देखिने मुक्तक छन् । यसभित्र विभिन्न विकृति र विसङ्ति विरुद्ध तीव्र प्रहार गरिएका सृजना पनि छन् । आशा छ,निराशा पनि छ कहिंकतै । मायाप्रेम पनि मुक्तकका विषय बनेका छन् । समयबोध दर्शाउने विषयले पनि स्थान पाएका छन् ।वर्तमान समयको चित्रणलाई पनि मुक्तकमा विषय बनाइएको छ ।
मनमस्तिष्कलाई छिटो छुने,अनुप्रास र संरचना मिलेका,भावको गहनता बोकेका छन् मुक्तकहरु ।
अतृप्त रहरहरुलाई नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो । यस कृतिको मूल्य रु.२४९। रहेको छ।
गोफ्ले गोठालो
यो बुद्धदेवप्रसाद घिमिरेको उपन्यास हो।पुरानो ग्रामिण परिवेश र परम्पराको बारेमा जानकारी दिनसक्ने,हिजोको समयको सचित्र ऐना जस्तो लाग्छ उपन्यास । नेपालको सुदुरपूर्वको झण्डै चार दशक अघिको गाउँले जनजीवन,दैनिकी,चालचलन मज्जैले यस कृतिले जानकारी दिन्छ । उपन्यास सुखान्त छ । उतिबेलाको प्रेम कहानी लाग्छ । जातपात र छुवाछुतको उतिबेलाको चरम र क्रुर रुपमा मान्ने अबस्थामा भेदभावमुक्त सामाजिक चेतनाको जागृत गरेको उपन्यासले दर्शाएको छ ।
सरल भाषाशैली,जीवनचर्याको मज्जाको वर्णन,काब्यात्मक चेतले उपन्यासलाई पठनीय र मिठासयुक्त बनाएको छ।
गोफ्ले गोठालोको मूल्य रु.४००। रहेको छ ।






