
संस्मरण
नाङ्गै आयो, नाङ्गै गयो
आखिरीमा के छ र जीवन ?
उद्धव सापकोटा
मलाई यो सहरको भिडभाड र कोलाहाल स्थिति असहज लाग्छ । आज फेरि त्यहि गाउँको पुरानो यादमा डुब्न थाल्छु । आँखामा बालवयका अनगिन्ति दृश्यहरु खेल्न थाल्छन । अनि बालवयमा हिडेका ती पैतालाका डोवहरु सम्झन्छु । बालपनमा गरेका उपद्रोहहरु सम्झन्छु । कति चञ्चल र निर्वोध थिए ती दिनहरु । घरगोठ उकाली र ओराली गर्दाका क्षण पनि सम्झन्छु । घरबाट ओराली झर्दै गर्दा बनपाखोमा ससाना खोल्साखाल्सी आउथे । तिनीहरुको छेउछाउमा अकालमा मृत्युवरण गरेका ससाना केटाकेटीहरुको सवलाई पुरिएको हुन्थ्यो । कहिलेकाहीं एक्लै हिड्दा त्यस ठाउँमा पुगेपछि डरले थुरथुर काम छुट्थ्यो । मुटु ढक्क फुल्थ्यो । त्यहि सुनसान वनपाखामा चराहरु कराएको आवाजले झनै अत्यास लाग्थ्यो ।
त्यही बाटो हुदै लेकबेसी गर्नु पथ्र्यो । कहिले बाआसँग पछिपछि लागेर लुथुरलुथुर हिडिन्थ्यो । खुट्टामा जुत्ता हुन्थेन । सरिरमा जाडो छेक्ने टम्म कपडा हुन्थेन । दुस्ख त कति हो कति भनि साध्य छैन । आमाबासँग हिडेको समयमा आफूलाई सुरक्षित भएको महसुस हुन्थ्यो । डर त्रास मनबाट टाढा भाग्थ्यो । तल गोठबारीको काम सकेपछि फेरि उकालो लाग्दै झम्के साँझमा माथि घरमा पुगिन्थ्यो । हामी केटाकेटीको काम त घरमा पुग्नु हुन्थ्यो । तर आमाबाको गोठधन्दा बाँकी नै रहन्थ्यो । बाआमा त रात परे पछाडिमात्र घरभित्र पस्थे । आमाको काम भातभान्छामा हुन्थ्यो । बाको काम डोरी बाट्ने हो कि, मही तुल्याउने हो, मकै छोडाउने हो कि केहि न केहि काम गर्ने हो हात खाली हुँदैनथ्यो । हात खाली हुने भनेकै राती सुत्ने समयमा मात्र थियोे ।
आमाबाका यस्तै दिनचर्यामा समय अगाडि बढिरहन्छ । उमेर पनि बिस्तारै थाहा नपाईकन ढल्दै जान्छ । जीवनका हरेक मोड अनुसार नै मानिस चल्ने हो । उसले सोचे जस्तो समय परिस्थिति अनुकुल नहुन पनि सक्छ । यो गर्छु भन्यो, उ गर्छु भन्यो, पैसाकै लागि मरिहत्ते ग(यो । जग्गा जमिन जोड्यो । घर बनायो । यो भएन, त्यो पुगेन, यसो गर्न पाए हुन्थ्यो कि, उसो गरे हुन्छ कि भन्दै जीवन लिला समाप्त ग(यो । आखिरमा हुन्छ के ? नाङ्गै आयो यस धर्तीमा नाङ्गै गयो कुन लोकमा ?
बालवयदेखिका यी सारा कुराहरुलाई सम्झनामा कैद गर्दै जाँदा २०३५,०३६ सालतिर पुग्छु । यति बेलासम्म बाआमाले धेरै दुस्खकष्ट गरेर निकै जग्गा जमिन जोडिसकेका थिए । लाउन र खानलाई कुनै दुस्ख थिएन । त्यति बेलाको परिवार ठुलै हुन्थ्यो । हाम्रो परिवारमा दुईचार हल बारी, पन्ध्र बीस मुरी धान फल्ने खेत, गोठमा एकदुईवटा लैना गाई भैसी, एकहल गोरु र दुईचारबटा बाख्राका पाठा हुन्थे । त्यति भएपछि लत्ता कपडा र मरमसला भन्दा अरु किन्नु पर्ने सामाग्री अरु थिएनन् । बर्षमा एकदुईजोर कपडा किने भयो । अहिले जस्तो जाडो फाल्ने कपडा हँुदैनथे त्यतिबेला । दाउराका मुढा बालेर जिउ तताउने हो । आगो तापेर पिडुलाका रौं खुईल्याइ सकेका हुन्थे हजुरबाहरुले । एउटा भोटो लगौटी र कछाडको भरमा जीवन बित्थ्यो बुढाहरुको । त्यहि लगौटीबाट एकातिर कोल्टे परेको हुन्थ्यो भित्रीअङ्ग तर चाल पाउदैनथे । केटाकेटीमा यस्तो दृश्य रहस्यमयी हुन्थ्यो हाम्रा लागि । यो त हामी केटाकेटी केही जान्ने भएपछिको अवस्था थियो । त्यसभन्दा अगाडिको अवस्था झन कस्तो थियो होला त अझैं ?
यस्तै २०३५ सालतिर बाले नयाँघर बनाउने योजना बनाए । अलि माथि लेकबाट अलि तल बेशीमा । त्यति तल आउनु पनि चानचुने कुरा थिएन । फलानाले पैसा कमायो । फलानो साहु भयो । झिंगटी, टायल हालेर घर बनायो भनेर गाउँथे गाउँलेहरुले । त्यहि अनुसारको नाम रहन्थ्यो । टायलघरे, झिंगटीघरे, हजारीसाहु आदि । माथि निगालेभन्ज्याङ्ग लेकमा उतीसका रुखहरु थिए । ति सबै काटिए । जंगलमा बस्ने चराहरुको उठीबास लाग्यो, घर बनाउदा । बिचरा तिनीहरुलाई कति दुस्ख कष्ट भयो होला । कतिको आफुबस्ने घर (गुँड) भत्कियो होला । तामाङ्ग दाजुभाइले आरो लगायर त्यहि बनमा नै काठ चिरानी भयो । ठुलो सल्लाको रुख काटेर निदाल बनाईयो । उतीसका रुखहरुबाट दलीन बनाईयो । घरलाई आवश्यकता अनुसार काठ तयार गरियो । ढुङ्गा माटो र काठबाट घर बनाउने चलन गाउँमा थियो । गाउँमा सक्नेले झिंगटी टायल हाल्थे भने नसक्नेले गहुँको छ्वालीले घर छाउँथे । त्यतिबेला गाउँमा सबै घर यसरी नै बन्थे ।
हाम्रो घर बन्ने प्रक्रिया शुरु भयो । नामै सम्माको पाटो । घडेरी खासै सम्याउनु परेन । डकर्मी, सिकर्मी, ढुङ्गा बोक्ने महिला, माटो मुछेर तयार गर्ने लाठे, सबै कामको तय भयो । सिकर्मीको मुख्य जिम्मा निउरे खोला (घट्टा) का कर्मी हजुर बाले लिए । सिकर्मी कामको लागि त्यस समयका अब्बल थिए उनि । उनलाई ठुलाबडाले घट्टाको माझी भन्थे । उनको बाउको नाम कुञ्जरमुनी थियो । कसै कसैले कुञ्जरेको माझी पनि भन्थे । उनको खास नाम चाहि गोपीकृष्ण थियो । घरमा हाल्ने ढोका, झ्याल, मेठ, थाम, निदाल दलीनहरुलाई बसिला र रञ्जाले सफा बनाएर चिरिच्याट्ट बनाउथे । छानो बनाउन टुँडाल, मोठल, जुवाहरुमा बुट्टा काटेर चिटिक्क बनाउथे । उनले सिकर्मी गरेर बनाएको घर र अरु सिकर्मीले बनाएको घर ठ्याक्कै छुटिन्थ्यो ।
उनलाई चिया चुरोट खाजा पानीको व्यवस्था राम्रो गर्नु पथ्र्यो । थोरै भए पनि मिठो चाहिने थियो । आमाले माथि घरबाट ठिक दुई बजे खाजा लिएर आउथिन । सधै सहि समयमा खाजा आएको देखेर तिम्रो हातमा घडि छैन र पनि सधै यहि समयमा खाजा लिएर आउछौं भनेर सोध्थे आमालाई । उनले काम गर्दा केहि मात्रा खुस्कियो भने काठ ताछ्न लागेको बसिला पनि त्यहि फ्याकेर हिड्थे । उनलाई छिटो रिस उढ्थ्यो । तर त्यसको ईख राख्दैनथे । भोलीपल्ट काममा आईहाल्थे । उनकै सहकर्मीहरुले केहि काम बिगारे भने एक पटक आँखा तरेपछि पुग्थ्यो । म उनले काम गर्ने वरिपरि नै खेली बस्थे । उनले काम गर्दा करौतीले काटेका टुक्रा काठ खेलाउथे । उनको केटाकेटीलाई माया गर्ने स्वभाव थियो ।
एक दिनको कुरा म आँगनमा उनले खेलाउने रामो, बसिला, करौती खेलाउदै थिए । ससाना काठलाई करौतीले रेट्न खुब मजा आउथ्यो । सिधाई दिएर काट्न जानिदैनथ्यो । यसरी खेल्दा एउटा छोटो गल आँगनमा रहेछ । त्यसलाई उठाएर छोडे । गल गएर हतियार उध्याउने ढुङ्गामा गएर बल्झियो । ढुङ्गा दुई टुक्रा भयो । अब मेरो सातो गयो । अब हजुरबाले मार्ने भए भन्ने लाग्यो नभन्दै मलाई आँखा तरेर मारौला झैं गरे । तर पिट्न चाहि पिटेनन् । तर सामानको नास त भयो । मैले गल्ति गरे भन्ने लाग्यो । म निलोकालो भए । मेरो संझनामा त्यतिबेला सिकर्मीको दैनिक ज्याला पन्ध्र रुपैयाँ थियो भने अन्य काम गर्नेको ज्याला तीन मोहरदेखि पाँच रुपैया थियो ।
उनको एउटा नराम्रो बानी पनि थियो । उनि रक्सी, चुरोट पिउथे । लगभग एक महिनाजतिमा हाम्रो घर तयार भयो । टायलको छानो लगाएर धुरीमार्ने काम सम्पन्न भयो । त्यसदिन घरभित्रै बोको काटेर बुईकलमा लगेर घर बनाउनेहरु सबै मिलेर मासु र रक्सी खाए । उनले जवानीमा कमाएको पैसा जति त्यसैमा सिध्याए । त्यो पिएर आएको बेला गाउँमा कसैलाई पनि गाली गर्न छुटाउदैनथे । नखाएको बेलामा भगवान जस्तै थिए । सबैलाई माया गर्थे । उनले आफ्नै घरअगाडि निउरेखोलाको पानीमा घट्ट बनाएर चलाएका थिए । त्यतिबेला पनि सानो डाईनोमो जोडेर आफुलाई पुग्ने बिजुली बत्ति पनि निकालेका थिए । गाउँमा एक प्रकारबाट सानो बैज्ञानिक नै थिए भन्दा हुन्छ । किसान कर्ममा पनि उनि अब्बल नै थिए । उनको अर्को काम झारफुक पनि थियो । उनले बनाएको हाम्रोघर २०७२ सालको बिनासकारी भुकम्पले तहसनहस बनायो । उनी भने यहि २०८२ साल पौष १६ गते सदाको लागि बिदा भए । बैकुण्ठमा बास होस भन्छु । आखिरीमा दुबैको भौतिक अस्तित्व यस पृथ्वीबाट विलायोे ।







