
लघुकथा
प्रदीप सापकोटा
योग्यता
निर्वाचन आयोगले चुनावको कार्यतालिका घोषणा गरिसकेको थियो । रमेश निरन्तर दलको झोला बोकेर हरेक मोर्चामा अग्रणी भूमिकामा रहेर योगदान गर्दै आएको इमान्दार नेता । जनबल कम्यूनिष्ट पार्टीकोे केन्द्रीय कार्यसमितिमा छ । उसले जीवनभर इमानको काम गर्दै आयो पार्टीमा पनि उसले इमान्दार भनेर चिनिन्थ्यो । लाभको पदमा कहिल्यै पुगेको थिएन् ।उसको कार्यकर्ताविच लोकप्रियता थियो । पार्टीले चुनाउको लागि टिकट बाँड्ने भनेर आकाँक्षीहरुलाई फारम भरायो । उसले फारम भर्यो ।
उता उसको क्षेत्रबाटै अर्को नेताले पनि फारम भर्यो । दुईजनाको माग दावी देखिएपछि केन्द्रीय सचिवालयले दुबैलाई बोलायो ।
एउटै प्रश्न दुबैप्रति तेर्साइयो– ‘तपाईहरु योग्य भएको कुनै प्रमाण छ ?’
पालो रमेशको थियो पहिले ।
‘म निरन्तर विद्यार्थीकालदेखि अविचलित भएर पार्टीका विभिन्न गतिविधि र जिम्मेवारीमा सामेल हुँदै आएको छु । पढेलेखेको छु । जेलनेल भोगेको छु । संगठक बनेर काम गरेको छु । लोकप्रिय पनि छु । त्यसैले यो पाली पार्टीले मलाई टिकट देओस । ’
अर्को कमरेडको पालो आयो –‘मसँग धनसम्पत्ति छ । मैले पार्टीलाई धेरै पटक आर्थिक सहयोग गरेको छु ।अब परेको बेला पैसाको खोलै बगाउनेछु । साम,दाम,दण्डभेद नगरी चुनाव जित्न सकिन्न । फेरी मसँग अराजनीतिक झुण्ड छ । मोटा र दर्विला पाखुरा देखाउनेहरु अघिपछि लाएर हिड्न सक्छु । आफ्ना त आफ्ना भैहाले । चुनावको निम्ति कार्यकर्ता ओसारपसार गर्ने गाडी मसँग जत्तिपनि छन् । त्यसैले मैले चुनाव जित्ने दावी पेश गरेको हुँ ।’
‘माफ गर्नुहोला कमरेड इमान्दार भएर मात्र चुनाव जित्न सकिन्न । चुनाव जित्न पैसा,गुण्डा सबै चाहिन्छ । अहिले परिवेश नै त्यस्तै छ । तपाईको योग्यता राजनीति दलभित्रको पदको निम्ति ठीक छ । संसदीय चुनावको निम्ति होइन् ।’
रमेश अयोग्य ठहरियो र अर्कोले टिकट पायो ।






