
चर्चामा पुस्तक
रे
लघुकथाकार सुमन सौरभको लघुकथा कृति हो रे । भावना र विचारलाई उधिनेर लघुकथा सृजना गर्ने खुवी भएका सुमनको यो नविनतम कृति हो । सामान्य विषयवस्तुमाथि गहन अनुभूतिको मिश्रणद्धारा सुन्दर लघुकथाहरु सृजना भएका छन ।बौद्धिकता झल्किने कथाहरुको प्रधानता छ ।प्राय:जसो लघुकथाहरु प्रयोगवादी छन ।लघुकथामा मानक लाग्छन सुमन ।
छोटा शिर्षक,कथामा विविधता सहित उनका ५४ थान लघुकथा कृतिमा समावेश छन।
प्रेम,विद्रोह,अवसर,पीडा,धोका लगायतका विषयवस्तुलाई कथानक बनाइएका लघुकथाहरुले पाठकलाई मज्जैले तान्ने देखिन्छ ।फरक धारमा लघुकथा सृजना गर्ने सुमनको यो छैठौं लघुकथा कृति हो ।
रे लाई कलम प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु. २९८। रहेको छ ।
चिहानमाथि महल बनाइरहेको मान्छे
यो घनश्याम अस्तित्वको कविताकृति हो ।शिर्षक विविधाका ६६ थान कविताहरु यसमा समावेश गरिएका छन । समकालीन कविता लेखनमा समय,समाज र जीवनमाथि उनी कविता लेख्छन ।उनका कविताहरु प्रगतिशील चेतले भरिएका छन । भुइँमान्छेका व्यथाहरुले प्राथमिकता पाएका छन । अन्याय र अत्याचारको विपक्षमा कवि मज्जैले उभिएका छन ।
कृतिभित्र समावेश कविताहरु विषयवस्तुका हिसावले वलिष्ठ छन । युगवोधले भरिएका छन । सरल भाषाशैली,बिम्ब र प्रतिकहरुको सुन्दर प्रयोगले कविता थप सुन्दर बनेका छन ।
चिहानमाथि महल बनाइरहेको मान्छेलाई बिएन पुस्तक संसार प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३५०। रहेको छ ।
रगतको मूल्य
कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह हो । यसभित्र समकालीन समाजका विकृति,विसङ्गतिहरुलाई कथानक बनाएर लेखिएका कथा छन ।कतिपय कथा आफ्नै अनुभूतिमा आधारित देखिन्छन । यसभित्र १९ थान कथाहरु रहेका छन । यसैगरी कृतिमा नारी र पुरुषका बीच जन्मसिद्ध हुने सामाजिक विद्रोह,पुरुषको दम्भ,अभिमान र घमण्डी मनोग्रन्थी,यौन वासना, प्रेम, पारिवारिक र सामाजिक परिवेश,पारिवारिक समस्यामा परेका पात्रहरुका कथावस्तुलाई लिएर कथाहरु लेखिएका छन ।
सलल बगेको भाषाशैली,बिम्ब र प्रतिक,स्थानीय लबजहरुको प्रयोगले कथाहरु पठनीय लाग्छन ।
रगतको मूल्यलाई साझा प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.३००। राखिएको छ ।







