पाँच मुक्तक
प्रकाश घायल
१.खुराफात सोच उस्तै महासयको घमण्डी बानी उस्तै
विगतदेखि बर्तमानसम्म गरिरहेको बेइमानी उस्तै
चर्कोसँग बोल्नु हुन्थ्यो संस्कार बदल्छु भन्नुहुन्थ्यो
संस्कारको ओछ्यान लगाएनी गफको सिरानी उस्तै !
२.व्यबहार मिठो होस् अझ झन् बोली मिठो होस्
अतीत अमिलो भएपनि भलै भोली मिठो होस
यथार्थमा उभिएर असरल्ल जिन्दगी नियाल्दा,
सुन्दर सपनाले भरिएको मनझोली मिठो होस !
३. तिम्रो ओठमा घाम हुन्थ्यो उत्साहको याम हुन्थ्यो
प्रफुल्लित मन हुन्थ्यो जताततै तिम्रो नाम हुन्थ्यो
पीर व्यथाले सताए पनि रोगले ग्रसित बनाएपनि
तिम्रो मिठो स्पर्शमा शीतल हुन्थ्यो आराम हुन्थ्यो !
४. जस आफू राख्नु पोको पारेर अपजस यता पठाउनु
बाडुल्की लाग्दा हुने घाँटीको खसखस् यता पठाउनु
स्वच्छ हराभरा जिन्दगीलाई खंडहर बनाउदै तर्कनेले
साँचेको बिश्वास जब हुनेछ तहसनहस यता पठाउनु !
५. जीर्ण नैतिकताको पर्दामा लाजको टालो हाल्दै हिड्छन्
कठै ! अझैपनि आफैंतिर भ्रमको भजालो तान्दै हिड्छन्
हेर्नुस् ! भुइँभरी इमानदारीता छताछुल्ल पोखिसक्दा पनि
अझै ! छर्लङ्गै भैसकेको लाज ढाक्न अंगालो मार्दै हिड्छन !