
संस्मरण
त्रिचन्द्रको बार्दलीबाट चिहाउँदा
उद्धव सापकोटा
लामो आयु बाँचेर जिर्ण हुनु नपरोस । बाँच्नेको लागि अनि परिवारको लागि बोझ हुनु नपरोस । यो मेरो भित्रि मनले भन्छ । मलाई यस्तो अनुभव भएको थियो माथिल्लाघरे माईला बाको अन्तिम अन्तिम अवस्था देखेर । म ईमाडोल ललितपुरमा बस्छु । बेलाबेलामा गाउँको घरमा जान्छु । म गाउँमा गएको हरेक पल्ट माईला बालाई बोलाउथे । हामीहरुलाई अति मायाँ गर्थे माईला बा । हामीहरु उनको घरमा जाँदा माईलाबाले मलाई काल आएन भनि गुनासो गरिरहेका हुन्थे । म माईला बालाई सान्त्वना दिदै भन्ने गर्थे । एकदिन काल आउँछ बा अहिले पीर नर्गनुस ।
शरीरका हरेक अङ्गले सही काम गर्न सक्तैनन् बुढेस कालमा । बुढो भयो सब रङ्ग गयो आँगन भयो परदेश त्यसै भनेको होईन रहेछ । जन्म, मृत्यु, बिबाह यी सबै कुराहरु हिजो भावीले लेखेरै पठाएको हुन्छ भन्छन, आखिर हो जस्तै लाग्छ ।
बाल्यकालदेखि गाउँघरमा माईला बासंग हामीहरुले बिताएका ति दिनहरु सम्झन्छु र भावुक हुन्छु म । माईला बा हाम्रा असल छिमेकी थिए । अति सोझा । आफ्नो किसानी कर्ममा लुटुपुटु गर्ने । गाउँघरमा सबै सीप जानेका । माईली आमा अलि बाठी छिन । घर व्यवहार उनैले चलाउँथिन् । सामान्य स्तरको परिवार थियो त्योे । तिहारमा देउसी भैलो खेल्न जाने हामीहरुलाई पनि राम्रै दक्षिणा दिन्थीन । हामीहरु खुशी हुन्थेउँ । ती बालाई तीनघरे माईलो भन्थे ठुलाबडाले । त्यहाँ नजिकै तीनवटा माईला बाहरु थिए । एउटा माईला हजुर बा थिए । जसलाई सुन्दरे माईला बा भन्थे । अर्को माईला बा थिए सम्मापाटा बस्ने सम्मे माईलो । त्यतिबेला जन्मको रोलक्रम अनुसार नाम राख्ने चलन पनि गज्जवको थियो । प्राय सबैको दोस्रो नाम हुन्थ्यो नै । जस्तो गोरे, काले, पुड्के, धाङ्ग्रो, च्याङ्ग्रो, माझी, सार्की, भोटे आदि आदि ।
नभन्दै हिजोको साँझमा तीनघरे माईला बाको निधन भयो । हामीहरु ईमाडोलबाट माईला बाको मलाम गईयो बिहावर । फर्केर आउदा राती सुत्न ढिला भयो । त्यहि भएर बिहान उठ्न अलि गाह्रो भएको भयो । तैपनि म उठ्छु, नियमित समयमा,नित्यकर्म गर्छु । आफंै कालो चिया पकाउछु । त्यहि चियासंग दशरुपैयाँ जाने एक पुरिया कोकोनट बिस्कुट खान्छु । पहिला हाम्रो पालमा पाईने भन्दा अहिलेको बिस्कुटको स्तर र परिमाण घटेको छ । समयसँगसँगै सबै कुराहरु परिवर्तन हुदै जाने रहेछ ।
दाँतको आरसिटी गर्न माहांकालस्थित मिलिटरी हस्पिटलमा जाँने रुटिन छ आज मेरो । अनि हस्पिटल जाने तर्खरमा लाग्छु । म घरबाट स्कुटरमा निस्कछु । घरबाट यो हस्पिटलसम्मको दुरी खासै धेरै छैन । पाटन हुँदै पुल्चोक, बागमती पुल, थापाथलीचोक, माईतीघरमण्डला, भद्रकाली मन्दिरलाई घुम्दै म हस्पिटल पुग्छु ।
हरेक मानिसको जीवनमा उमेरले नुर बदल्दै गएपछि शरिरका हरेक अङ्गहरु कमजोर हुँदै जाँदा रहेछन् । त्यसपछि उपचार गर्नु पर्छ नै । बिहान चाँडै हस्पिटल पुगिएन भने जाँच गर्न अलि गाह्रो हुन्छ । म कार्ड दर्ता गर्छु । त्यो त्रिचन्द्र मिलिटरी हस्पिटलको तीन तलामाथिको फ्ल्याटमा दाँत सम्बन्धि सबै उपचार हुन्छ । त्यहाँ बिरामीहरु चाडैं पुगिसकेका हुन्छन । चेकजाँचको काम भने बिहान ९स्३० बजेबाट सुरु हुन्छ । आफ्नो शरीरको उपचार गर्न केहि समय धैर्य त गर्नै प(यो आफूले पाएको सुबिधामा ।
यहि तलाको बाहिर बरण्डामा बिरामीहरुलाई आराम गर्न केहि कुर्चीहरु राखिएका छन । त्यहि एउटा कुर्चीमा गएर बस्छु । अरु एकदुईजना बिरामीहरु पनि त्यहाँ बसेका छन उपचारको प्रतिक्षामा । मेरो दिमागमा केहि कुराहरु खेल्न थाल्छन । अनि गोजीबाट मोवाईल निकाल्छु र शव्दमा ती कुराहरु कैद गर्न थाल्छु । बिभिन्न कालखण्डमा भएका शासकहरु र उनिहरुले देशलाई गरेको शासन ब्यवस्था कस्तो थियो होला ? कल्पना गर्न थाल्छु ।
गए रातभर झमझम पानी परिरहेको थियो । अझै बिहानसम्म पनि सिमसिम पानी पर्न रोकिएको थिएन । जमिन पुरै गिलो भएको छ । अहिले बिहानी घुर्मौलो छ । पूर्वतर्फको केहि आकाश उज्यालो देखिन्छ यहाँबाट । बादलका केहि झुण्डहरु आकाशमा यताउता साउतीमार्न कुदिरहेका देखिन्छन । कतै कतै धुवा जसरी बादल उडिरहेको देखिन्छ । अगाडि टुडिखेल वरिपरीको किनारामा स्वामी, शिरिष, ज्याकाराण्डाका रुखहरुको हरियाली छ । यी रुखहरुको हरियालीले वरपरको वातावरणलाई शोभायमान बनाएका छन । अगाडि बाटोमा को अघि पुग्ने भनेर सवारी साधनहरु घुईकी राखेका छन । यो बरण्डाबाट पुरै टुडिखेलचौरको प्रष्टरुपमा दृष्टिगोचर भएको छैन । ती किनाराका रुखहरुमा केहि चराहरु रमाई रहेका देखिन्छन । लाग्छ प्रकृतिको अनुपम उपहार यहि छ । यो बराण्डाको ठ्याकै अगाडि महांकाल मन्दिर रहेको छ । अहिले काठमाण्डौं शहर सफासुग्घर देखिन्छ । बाटोहरु पनि टायल राखेर चिटिक्क पारिएको छ । यी दृश्यहरु नियाल्दा मनमा एकप्रकारको बेग्लै आनन्द आएकोछ ।
विक्रम सम्वत् १९५८ सालमा श्री ३ महाराज चन्द्र शमशेर ज.ब.रा प्रधानमन्त्री थिए । त्यसपछि नेपालमा केहि सामाजिक सुधारका कामहरु शुरु भए । नेपाल अझै राणाशासनको कठोर छायाँमा थियो । जनताले स्वतन्त्रताको स्वाद चाख्न पाएका थिएनन् । उनको शासनकालमा शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा केहि ढोका खोलिन थाले । श्री ३ महाराज चन्द्र शमशेरका दुईवटी महारानीहरु थिए । जेठी, बडा महारानी लोकाभक्त लक्ष्मीदेवी, कान्छी श्री ३ बालकुमारीदेवी जाजरकोटी थिईन । छोरी खगराज दिव्यश्वरी राज्यलक्ष्मी बझाङ्गका राजा जयपृथ्वी बहादुर सिहसंग बिबाह भएको थियो । छोराहरुमा मोहन शमशेर, नवौं राणा महाराज, बबर शमशेर, केशर शमशेर, शिहं शमशेर, कृष्ण शमशेर, बिष्णु शमशेर, शंकर शमशेर, मदन शमशेर, बद्रि शमशेर थिए । धेरै छोराहरु मध्येका एक थिए युवराज त्रिभुवनचन्द्र शमशेर । राजाका असाध्यै प्रिय छोरा थिए । राजाले भावी उत्तराधिकारीको रुपमा हेरेका थिए उनलाई । दुर्भाग्यवश त्रिभुवनचन्द्र जवानीमै बिते । त्यो असामायिक निधनले चन्द्रशमशेरको मनमा गहिरो पीडा भरियो ।
तर एउटा बुवाले छोरा प्रतिको मायालाई रोएर, दुख मानेर जीवन बिताउने कुरा थिएन । चन्द्रशम्शेरले छोराको नामलाई इतिहासमा अमर बनाउने बिचार गरे । त्यसैका लागि उनले दुई महत्वपूर्ण कदम चाले । पहिलो, त्रिचन्द्र कलेज घन्टाघर १९७५ सालमा खोलेर नेपालकै पहिलो कलेज स्थापना गरे भने दोस्रो त्रिचन्द्र सैनिक हस्पिटल १९८२ सालमा स्थापना गरे । त्यसपछि त्रिभुवनचन्द्रलाई छोटकरीमा त्रिचन्द्र मात्र भनिन थालियो ।
श्री ३ महाराज चन्द्रशम्शेर जगबहादुर राणाले बि सं १९८२ सालमा त्रिचन्द्र हस्पिटल बनाएका थिए । यो अस्पताल ब्रिटिस सरकारको सहयोगमा पहिलो विश्वयुद्धमा सहभागी भएका नेपाली सैनिकहरुको स्वास्थ्य उपचार र सम्झनामा स्थापना गरिएको थियो । राणशासनकालमा यति ठुला भवनहरु कसरी निर्माण भए होलान ? म बिचार गर्छु । प्रायः माथि उल्लेख गरिएका सबै राणाहरुका नाममा यस्ता दरवार बनेका छन । बिशाल बिशाल भवनहरु निर्माण गर्न त्यतिबेला आर्थिक व्यवस्थापन कसरी भयो होला ? श्रमशक्तिको कसरी उपयोग भयो होला ? यो राणाकालीन भवन पहिला त्रिचन्द्रमिलिटरी हस्पिटलको नामले प्रख्यात थियो । सबै सैनिकहरुको उपचार यसै हस्पिटलबाट हुन्थ्यो ।
२०४६ सालमा हामीहरु भर्नाहुँदा पनि हाम्रो मेडिकल चेकजाँच यही भएको थियो । छाउनी स्थित बीरेन्द्र सैनिक हस्पिटल बनेपछि सबै सेवाहरु उतैबाट हुनथाले । यो हस्पिटलको आडैमा देशको सबैभन्दा जेठो बीर हस्पिटल रहेको छ ।
मैले मेरो हजुरबालाई देख्न पाईन । खिरिलो शरीर बडो जब्बर पो थियो रे । कसैले अन्याय गरे नसहने । प्रतिकार गरिहाल्ने । त्यतिबेला यो शहरको वरिपरि पनि यातायातको सुविधा थिएन । हजुरबाहरु सोलीमा खोया, दाउरा, मकैको पिठो, गुन्द्रक, मस्यौरा, ढिडो पकाउनलाइ ताब्के, कराई, राखेर नेपाल पस्थे रे । अनि राणाहरुको सेवामा जागीर गरेर दुईचार पैसा बोकेर घर फर्कन्थे रे ।
त्यतिबेलाको समयमा राणाहरुले प्रत्येक घरबाट श्रमदान गर्नुपर्ने उर्दी चलाउथे रे । काठमाण्डौमा बनेका यी दरवारहरु कति बिशाल र कति बलिया छन । कुनै सालको भूकम्पले हल्लाउन सकेको थिएन । यो भवनको ठ्याकै पूर्वमा सैनिक मञ्च टुडिखेल रकेको छ । सेनाको लागि परेड खेल्ने बिभिन्न सभासमारोहहरु मनाउने स्थलको रुपमा रहेको छ । बिशेष गरेर शिवरात्रीपर्व, घोडेजात्रापर्व, वडा दशैमा फूलपाती बढाँईपर्व मनाउने गरिन्छ । त्यतिबेलाको सरकारले यस्ता धेरै खुल्लाठाउँ राखिदिएको थियो । आज ती ठाउँहरु साघुँरीदै गएकोमा दुख लाग्छ ।
यस्तै २०४०-०४१ साल तिरको कुरा हो । मेरो जेठो दाइ काठमाण्डौंमा नै बस्ने हुनाले म आउनेजाने गर्थे । त्यो सालको घोडेजात्रा पर्व हेर्ने मौका मिल्यो । बा र म काठमाण्डौ आएका थियौं । हामीहरु न्युरोडतर्फबाट जात्रा हेर्न निस्कियौं । त्यो भिडमा म केटाकेटी मान्छे हराईने हो कि भन्ने डर छ मनभित्र ठेलमठेल छ बाटोमा । त्यतिबेला पनि यो टुडिखेलको बार छेउमा बडेमानका रुखहरु थिए । जात्रा हेर्न मानिसहरु तिनै रुखमाथि चढेका थिए । मानिसहरु रुखमा चढ्दा हाँगा भाँचिएर घाईते भएका थिए ।
घोडेजात्राको घोडा दौड शुरु भयो । हामीहरुले बारको छेउबाट त्यो दौड नियाली रहेका छौ कुन चाँही घोडाले बाजी मार्छ भनेर । घोडाहरु आफ्नो बेगले भ्याएसम्म दौड खैचन थाले । यही रफ्तारमा एउटा घोडाबाट रिसल्ला लड्यो । तर पनि घोडाले आफ्नो रफ्तार छोडेन । आखिरीमा त्यहि घोडा प्रथम भयो । त्यसरी दौडिएर प्रथम भएको घोडा मालिकलाई खोज्दै अघि लडेकै स्थानमा आयो । रिसल्लालाई गाडीले हस्पिटल तर्फ लग्यो । हामीलाई भने त्यो लडेर घाईते भएको रिसल्लाको चिन्ता लागिरह्यो ।






