
लघुकथा
योगदान
गंगा खड्का
दुर्गाले एउटा सारी तथा कुर्थासम्बन्धी अनलाइन पेजलाई पछ्याई र मन पराएको सङ्केत गरिन् । तुरुन्तै उताबाट सन्देश आयो,” हाम्रो अनलाइन पेजलाई मन पराइदिनुभएकोमा धन्यवाद । भन्नुहोस् के सेवा गरुँ ?”
दुर्गाले पनि सन्देशलाई तुरुन्तै प्रतिक्रिया दिँदै लेखिन् ,” दसैँका अवसरमा भारी छुट दिनुभएको रहेछ । मलाई एउटा सारी मन परेको थियो ,त्यसकै मूल्य कति हो भनेर सोध्न खोजेको ।”
दुर्गाले मूल्य सोध्दै सारीको फोटो पठाइन् । उताबाट जवाफ आयो ,”यो सारीको वास्तविक मूल्य दस हजार हो तर अहिले दसैँ अफरमा सात हजार मात्र ।”
“ ए ,हेर्दा साधारण भए नि त्यतिका धेरै मूल्यको रहेछ ।” दुर्गाले सन्देशलाई यतिमै सीमित राखिन् ।
“ म्याम , हजुर त मौन रहनुभयो त ।सारीको मूल्य चित्त बुझेन कि क्या हो म्याम ? ”
उताबाट आएको सन्देशको जवाफ फर्काउँदै दुर्गाले लेखिन् ,” त्यसो होइन ,अहिलेलाई पुरानै सारी लगाऊँ र नयाँ सारी किन्ने यतिका धेरै पैसाले देशमा जलेका संरचनाको पुनर्निर्माणमा अलिकति भए पनि योगदान पुराऊँ भन्ने विचार आएर मौन भएकी हुँ म्याम ।”
बूढानीलकण्ठ ,काठमाडौँ







