मुक्तकहरु
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
१.
आँखा चिम्ली करौतिले रेट्न गाह्रो हुन्छ
टाढिएर गए पछि भेट्न गाह्रो हुन्छ
कति हुन्छ जीवनमा तिता मिठा पलहरु
बिर्सिएर बसौं भन्दा मेट्न गाह्रो हुन्छ!
२.
अब हाम्रो भनेर पार्टी र दलका कुरा के गर्नु
सँधै छलछाम हुने गर्छ बलका कुरा के गर्नु
किसान पुर्पुरोमा हात राख्दै खेतवारीमा हेर्छन
यता दुष्ट सरकारसँग मलका कुरा के गर्नु !
३.
बस्दा रैछन् आफन्त दुश्मन बन्दै बाटो कुरी
जस्लाई ठान्यो आफ्नो उसैले बढाउँछ दुरी
सियो बनेर पस्छन ,फाली बन्दै निस्कन्छन्
कसरी बन्न सकेका होलान कठैबरा निष्ठुरी !
४.
समयको पनि खै कस्तो कस्तो माग हो
दुस्ख ,सुख त लेखान्तको भोग भाग हो
मौका पाए अगाडी आफ्नै मान्छे आउँछ
छुरा हान्छ र भन्छ यो त सानो दाग हो !
५.
पानी मीठो,नमिठो हुन्छ, मुल अनुसार
माफी पनि दिईन्छ बस, भुल अनुसार
हेर्ने नजर अति नै सुन्दर र सफा छ भने
जस्ले छुट्याउँछ सुगन्ध, फूल अनुसार !