
पुराना पुस्तक
कृति: कार्पेट टाँगिएकोआकाश
विधा : निबन्धसंग्रह
निबन्धकार:अभि सुवेदी
निबन्धसंग्रहभित्र गाउँदेखि शहर र शहरदेखि देश हुँदै देशबाहिरसमेतका जीवन यात्रामा बटुलेका अनुभवहरु अभिव्यक्त भएका छन् । यात्रामय छन् निबन्धहरु । सुवेदीका भावना र विचारहरुको संगम बनेका छन् । उनको यात्राका चेतनाले भ्याएसम्म भोगेका कुराहरुलाई समावेश गरिएका छन् । उनका आत्मसम्बादहरु मज्जैले पढ्न पाइन्छ । निबन्धलाई सरल शब्दमा खिपेर जीवन्तता दिइएको छ ।
सोह्रवटा विभिन्न शिर्षकमा शिर्षकृत निबन्धहरुले कृति सजिएको छ । सरल छ,जानकारीमूलक छ । आत्मानुभूतिले भरिएको छ । आत्मपरकताले भरिएका सुस्वादु निबन्धले पाठकको मन मज्जैले तान्छ ।
कार्पेट टाँगिएको आकाशलाई पहिलो पटक वि.सं २०५६ मा सलिल सुवेदीले प्रकाशनमा ल्याएका हुन् ।
कृति: शहरमा बत्ती निभेको बेला
विधा : काव्यात्मक सँगालो
कवि : किशोर पहाडी
किशोर पहाडी कविता सुन्दर शिल्पीमा लेख्छन् । कविताप्रतिको उनको मोह यो कृतिले प्रष्ट्याउँछ । उनको बहुआयामिक क्षमता यहाँ काव्यमा द्रवित भएर पोखिएको छ । यस कृतिमा कविको आसन जमाएका पहाडीका चौध थान कविता,एक्काईस थान मुक्तकहरु र छ थान बालगीतहरु सहित आठ थान गीतहरु समेत समावेश गरिएका छन् ।
समयका छालहरु कविता मार्फत बगेको छ । युगबोध छ । विकृति र विसंगतिमाथिको प्रहार छ । मुक्तकहरु शिर्षकृत भएर आएका छन् । सरल र सुवोध्य भाषा,बिम्बकृत कविता अत्यन्तै पठनीय लाग्छन् ।
शहरमा बत्ती निभेको बेलालाई तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले वि.सं.२०५३ सालमा पहिलो पटक प्रकाशन गरेको हो ।
कृति : युद्धोपरान्त
विधा : कविता सङ्ग्रह
कवि :शारदा शर्मा
शारदा शर्माकृत कविता सङ्ग्रह हो युद्धोपरान्त । सङ्ग्रह दुईखण्डमा विभाजित छ । पहिलो खण्ड मुक्तिगीत अन्तर्गत सात कविताहरु समावेश भएका छन् । द्धितिय खण्डमा एक्काईस कविताहरु समावेश गरिएका छन् ।
पहिलो खण्डका कविताहरुमा मुक्तिका कुरा परेका छन् । माटोको माया वोलेका छन् । युद्धपछिका शान्तिका भाव झल्केका कविता पनि छन् । द्धितिय भागका कविताहरुले कविमनका भावनाहरु व्यक्त गरेका छन् । मानवीय संवेदनाका कुराहरु छन् ।
कविताहरु बिम्बात्मक छन् । प्रतिक प्रयोग भएका छन् । सरल भाषामा छन् । क्लिष्टता भन्दा पर छन् ।
युद्धोपरान्तलाई तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पहिलो पटक वि.सं.२०४९ सालमा प्रकाशनमा ल्याएको हो ।







