चर्चामा पुस्तक
श्वेत पर्वत
विष्णुप्रसाद शर्माको नियात्रा कृति श्वेत पर्वत । हिमालभन्दा पनि पर नेपाली गाउँघर बस्ती छ भन्ने जानकारी दिने कृति । यसमा त्यहाँका समाज,दैनिकी,भाषा,इतिहास,भूगोल सबै सबै बारे यथेष्ट जानकारी दिन्छ । कृतिमा दुर्लभ हिमाली दृष्यापान गर्न पाइन्छ । यात्राका सुखद पल,अप्ठ्याराहरुको अनुभूति सबै सबै छ । कतै कतै आङ सिरिङ्ग गराउने पलहरुले पाठकलाई झस्काउँछ । अनुभूतिको गहिराइमा रहेर नियात्रा लेखिएका छन् ।
प्रचुर नीजात्मकता,आत्मपरकता र तथ्यात्मकताले भरिएको छ कृति ।सरल र मीठो भाषाशैलीले नियात्रा खिपिएको छ ।
श्वेत पर्वतलाई भुँडीपुराण प्रकाशनले वजारमा ल्याएको हो । यसको मूल्य रु.४९०। रहेको छ ।
औडाहा डटकम
भोजराज मुखालेको यो हास्यव्यङ्ग्य कवितासङ्ग्रह हो । यसमा विकृति र विसंङ्गति विरुद्ध व्यँङ्ग्य प्रहार गरिएका तीन भागमा विभाजित कविताहरु समावेश गरिएको छ। पहिलो भाग सिंगडा कविता,दोस्रो गीत,गजल र तेस्रो फुरौला कविता रहेका छन् । ५३ थान कविता,गीत,गजलको सङ्ग्रह अत्यन्तै रोचक छ। घोचक छ । पाठकलाई मज्जा आउँने छ । गलत गर्नेहरुलाई मज्जैले गाली गरिएको छ । विकृति छर्नेहरुलाई सरापिएको छ । राष्ट्र राष्ट्रप्रेम पोखिएको छ । घृणाका प्रहारहरुले पदको गरिमा जोगाउन चुकेकाहरुले गाली पाएका छन् ।
मीठो भाषा,सरल लेखनशैलीले पाठक तान्ने खुवी राख्छ ।
औडाहा डटकमलाई फित्कौली अनलाइन मिडियाले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२५५। रहेको छ ।
सफलताको आयाम
यो राजीव श्रेष्ठको विश्वप्रसिद्ध व्यक्तित्वहरुको जीवनी संङ्ग्रह हो ।यस कृतिभित्र २४ जना विभिन्न विश्वप्रसिद्ध व्यक्तिहरुको जीवनी राखिएको छ । नेपालका प्रसिद्ध गायकदेखि खेलाडी,समाजसेवी,प्राध्यापक सबै क्षेत्र समेटिएको छ । धर्मगुरु साइबाबा, दलाइ लामादेखि ओसासम्म यसमा अटेका छन् ।
यसमा विश्वप्रसिद्ध व्यक्तिहरुको योगदान,भूमिका लगायतका विषयहरु पनि समावेश गरिएको छ । उनीहरुका जीवनका रोचक पक्षहरु समेत पाठकले जानकारी पाउन सक्ने गरी राखिएको छ ।
सरल भाषा,संक्षिप्त आयतनले पुस्तक झन सुन्दर बनेको छ ।
सफलताको आयामलाई माया पब्लिकेसनले प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२७५।रहेको छ ।