
मुक्तक
हरि गौतम
१.
हेर्दा छुट्टिदैन को विद्वान् को मूर्ख,नत लेखिएको निधारमा हुन्छ
कसको सामु कसरी प्रस्तुत हुने,त्यो व्यक्तिको विचारमा हुन्छ
अचेतनले जीवनको मार्ग ढलपल गराउँछ लेखेर राख्नु
ज्ञानी र अज्ञानीको भेद,अनुहारमा हुदैन व्यबहारमा हुन्छ ।
२.
दिमाग घुमाउछन् देश उनैले चलाउछन कलम चोपेर खानेहरु
भित्रभित्रै मौलाउछन नपाए बहुलाउछन् भाषण ठोकेर खानेहरु
सतिले सरापेको देशमा उँभो लाग्छन शोषक र शासक जति
सधै कमजोर छन पसिना चुहाउदै भारी बोक्दै हड्डि घोटेर खानेहरु ।
३.
एकै झट्कामा आतिन्छन कराउँछन् निथ्रिएर बाँच्नेहरु
सुखमा रमाउँछन् दुखमा डगमगाउछन थिग्रिएर बाँच्नेहरु
आफुमा आत्मविश्वास छ अठोट छ टुट्दैनन् केही गरेपनि
अरुलाई गुनासो गर्दैनन् यहाँ एक्लै पीडा पिएर बाँच्नेहरु ।
४.
उनकै यादमा मदहोस् छु उनकै माया मधुर छ
डुबेको छु मस्त उनैको प्यारमा यो दिल मजबुर छ
यति माया गर्न चाहन्छु मदनलाई पछि पार्न सकुँ
सच्चा आशिक भन या पागल प्रेमी भन मन्जुर छ।
५.
परिस्थिति र बाध्यताले मान्छेको भिन्न चरित्र हुन्छ
बाहिर खोज्दै हिड्छ मानिस ईश्वरआफैं भित्रहुन्छ
सधै दिन दुखीको सेवा गर्नु दान गर्नु पुन्य कमाउनु
दयाले दिएको भन्दा मायाले दिएको पवित्र हुन्छ।







