
कविता
कागजको देश!
दीपक श्रेष्ठ
कागजमा लेखिएको छ – समृद्ध देश, सुखी जनता
यथार्थमा देखिएको छ पाइलैपिच्छे –
कपाल दुखाउने परिस्थिति
अनन्त दु:ख दिने यथास्थिति
कागजमै सिमित छ-
नागरिकताको प्रमाणपत्र,
विभिन्न परीक्षामा प्राप्त लव्धाङ्क पत्र
विधालय, विश्वविधालयले दिएको चारित्रिक
प्रमाणपत्र
कागजमै रहेको छ
होल बडी चेकअप पछि
डाक्टरले दिएको निरोगिताको प्रमाणपत्र
कागज मै मात्र सिमित छैन अरू धेरै यथार्थहरू –
जस्तै कि
परदेश जान चाहिने राहदानी प्रमाणपत्र
अनि भिषा लागेको छाप
राहदानी र भिषाले दिएकै सही,
कागजी खोस्टामै त टिकेको छ –
एउटा समृद्ध मनस्थिति
जसले बचाएको छ परिवार
एउटा सचेत मिहिनेती
जसले पढाएको छ बालबच्चा
एउटा कर्मठ कर्मयोगी
जसले हुर्काएको छ देशको भविष्य
र बचाएको छ देशलाई रोग, भोक र शोकबाट
देश समृद्ध बनाउँदै गर्दा-
कागजकै भर परेर धेरैले बिर्सिए भने देश
कागजमै लेखिएको इतिहासको पानामा
सिमित भइजाने







