
आखिरीमा भट्टमास फिर्ता
उद्धव सापकोटा
आज भन्दा झण्डै ३०,४० बर्ष अगाडिको कुरा हो । आजकोभन्दा त्यतिबेलाको जमाना धेरै कुरामा फरक थियो । कहाँ अहिलेको जस्तो सबै कुरामा सहज थियो र ? गाउँघरमा बाआमालाई आफ्नो कामधन्दा बाहेक अर्को कुनै कुरा सोच्ने फुर्सद नै थिएन । बिहान हामीहरु उठ्दा बाआमाको एकलग काम सकिएको हुन्थ्यो । गोठमा भएका वस्तुभाउलाई सिहार्ने काम हुन्थ्यो प्राय । हामी केटाकेटीहरु ढिला उठ्ने नै भयो । यो काँचो माटोको शरीर त हो नि, जे गर्यो त्यहि ठिक हुन्छ,बेलैमा उठ्नु पर्छ भनेर भनेर सम्झाउँने गर्थिन आमा ।
त्यो समय गाउँका सबै परिवार किसान नै हुन्थे । उनीहरुको दिनचर्या वस्तुभाऊ पाल्ने, खेतीकिसानी गर्ने, वनपाखामा घाँसदाउरा गर्ने मेलापात, बनिबुटो, लेकबेसी, यस्तै थियो । त्यतिबेला खेतबारीमा रासायनिक मलको प्रयोग भएको थिएन । अन्नपात त्यति उब्जनी हुन्थेन । अहिलेको जस्तो हाइब्रिडको जमाना थिएन । बस्तुभाउमा पनि नश्ल सुधारको चलन आएको थिएन । जे थियो अर्गानिक र रैथाने बालीमात्र थिए । कसैकसैको घरमा बर्षदिन काम गरेर पनि खान पुग्दैनथ्यो । त्यसैले गाउँका केहि दाजुभाइ भारतमा लाहुरे हुन गएका पनि थिए । उनिहरु चाडपर्वमा फर्कदा आफ्नो रवाफ देखाउँथे । चियालाई पनि चा भन्थे । पसल पसलमा उनीहरुकै चर्चा हुन्थ्यो ।
हाम्रो परिवारमा खान लगाउन कुनै कमि थिएन । पाखोबारीमा मकै धेरै उत्पादन हुन्थ्यो । मौसम अनुसारको अन्य बालीनाली पनि प्रसस्तै हुन्थ्यो । हाम्रो घरबाट मकै किनेर लैजाने मानिसको ताँती लामो नै हुन्थ्यो । मकै लैजाने प्राय: तामाङ्ग जातिका हुन्थे । बर्षेनी उब्जनी हुने अन्नबालीमा मकै, धान, गहुँ, कोदो, तोरी, भट्टमास, सिमीबोडी हुन्थ्यो । त्यहि अन्नपात र बस्तुभाऊ बिक्री गरेर केहि रकम जम्मा हुन्थ्यो घरमा । त्यसरी जम्मा भएको आम्दानीबाट बाले केहि टुक्रा जमीन पनि जोडेका थिए । अनि केही रकमबाट स्कुलको फी, किताव, कपिकलम, अनि बर्षदिनमा एकदुई जोर कपडा किनिदिन्थे ।
हाम्रो त्यतिबेला तीन दाजुभाइ, चार दिदीबहिनी र बाआमा गरि नौ जनाको ठूलो परिवार थियो । घरको जेठोदाइ धेरै पहिलेदेखि शहरमा बस्ने भएकोले बालाई काममा बढी नै भार थियो । दाइ एक दुई महिना र चाडपर्वमा गाउँमा जान्थे । घरमा गएको समयमा बालाई सहयोग गर्थे । हामीहरु अलिअलि काम गर्नसक्ने भएपछि बालाई धेरै सजिलो भएको थियो ।
मैले जान्दा एक पाथी मकैको मुल्य पचास पैैसा थियो त्यतिबेला । धेरै अन्नपात उब्जनी भयो भने पनि बिक्री गर्न हम्मेहम्मे नै हुन्थ्यो । त्यतिबेलाका बिक्री केन्द्रहरु भक्तपुर, पाटन, साँगा, बनेपा, पनौती, गोदावरी, बाँडेगाउ र चापागाऊ आदि स्थानहरु थिए । हाम्रोगाउँ बिहावरबाट धोक्रोमा मकै बोकेर लठ्ठाभन्ज्याङ्ग हुँदैं बेच्न गोदावरी ल्याएको पनि याद छ मलाई । मकैको धोक्रो बोकेर हिडेको छु धेरै पटक म । गाउँघरका बाआमा, काकाकाकी, दाइभाउजु, दिदीबहिनी सबै हाम्रो घरको मकै बेच्न गोदावरी, भक्तपुर, पनौतीसम्म जाँन्थे । मकैको भारी बोकेर बजार जाँन पाउदा उनीहरु धेरै खुशी हुन्थे । त्यो दिनको ज्याला पनि पाउँथे । त्यतिबेला एकदिनको ज्याला यस्तै तीनमोहोर जति थियो होला । घर फर्कदा त्यही तीनमोहोरबाट पनि धेरै कुराहरु किनेर ल्याउथे ।
हाम्रो गाउँमा पर्खालचौर भन्ने एउटा ठाउँ छ । कुनैबेला त्यस ठाउँबाट निउरेखोला हिड्थ्यो र ढाँडाचौर हुदै लिलावतीमा मिसिन पुग्थ्यो रे । त्यहाँ ठुलाठुला ढुङ्गा थिए । त्यहि ढुङ्गालाई पर्खाल लगाएर राखेको चौर हुनाले त्यसलाई यो नाम दिएको होला सायद । त्यति बेलैदेखि यो एउटा सानो व्यापारीक केन्द्र भयो । हामीले जान्नुभन्दा अगाडिदेखि नै त्यहाँ एउटा ठुलो पसल थियो । हाम्रै दाजुभाइले राखेको पसल थियो त्यो । त्यो पसलमा दैनिक आवश्यक पर्ने सबै सामानहरु पाईन्थ्यो । ती सामानहरु पनि साँगा, पनौती, भक्तपुर, बनेपा, बाडेगाउँ, सानागाउँ, लुभु र पाटनबाट बोकाएर लगिन्थे । हामीले उत्पादन गरेका अन्नबाली पनि त्यो पसलमा खरिद बिक्री हुन्थ्यो । प्राय हामी पनि त्यहि पसलमा बिक्री गर्थेउँ । भक्तपुरको भाउ र त्यहांँको भाउमा खासै फरक हुन्नथ्यो ।
हाम्रो घरमा बिक्री गर्नको लागि केहि पाथी भट्टमास थियो । त्यो भट्टमास बिक्री गर्नको लागि बाले त्यहि पसलमा भाउ सोधे । एक पाथी भट्टमासको यस्तै तीन मोहोर दिन्छु भने पसले काकाले । यहाँ त तीन मोहोर छ भने भक्तपुरमा लैजान सके त पक्कै पनि यो भन्दा बढी दिन्छ भन्ने भयो बालाई । अनि घरमा सल्लाह भयो । भोली बिहान बाउछोरा मकैं र भट्टमास बेच्न भक्तपुर जाने निधोमा पुगियो ।
बेलुकै बाले एउटा धोक्रोमा १०-१२ पाथी मकै भरे । मलाई अर्को धोक्रोमा ७-८ पाथी भट्टमास भरेर राखियो । भोलीपल्ट सबेरै हामी दुई बाउछोरा भारी बोकेर भक्तपुरतिर लाग्यौं । यतिबेला हामी रुद्रामती खोलाको किनारै किनार हिडेका थियौं ।। रुद्रामती खोला आफ्नै ताल र लयमा बिपरित दिशामा बग्दै थिईन । मकै र भट्टमास बेचेर केही रकम हात पार्ने चाहाना छ हामी बाउछोराको । बाउ छोराको यसै बिषयमा केहि कुराकानी हुन्छ बाटोमा । गह्रुङगो भारीलाई ठाउँठाउँमा बिसाउछौ । केहिछिन थकाई मार्छौ । तुरतुरे धाराको चिसो पानी पिउछौं । भारी बोकेर खरो भएको आँत चिसोपानी पाउदा हरहर हुन्छ । मनमा शितलता प्राप्त हुन्छ ।
भारी बोकेको तालमा एकनासले हिडेका छौ आफ्नो गन्तव्यतर्फ । कहिले त यी बुढाले किन दुस्ख दिएका होलान जस्तो लाग्थ्यो मनमा । उतै पसलमा बिक्री गर्न पाएको भए यो दु:ख त हुदैनथ्यो जस्तो पनि नलागेको होइन् । त्यतिबेलाका मानिसहरु कति दुस्ख गर्न सक्छन, यो भारी बोक्नु परेकोमा किचिंत दु:ख छैन बुढालाई । कत्रो जोस, कत्रो जागर ? मलाई भने ………उफ् !
तिनघट्टेदेखि केहि अगाडि दोबाटोमा पुग्छौं हामी । साँगातर्फ नगई आशापुरीतर्फको बाटो लाग्छौं । पहिला अन्न पिसानीको लागि अलिकति वर तीनवटा अनि अलिकति पर चारवटा घट्ट एक लाईनमा थिए । अहिले ती सबै लोप भईसकेका छन । केहि पर पुगेपछि आशापुरी र चारघट्टेलाई पनि छोडेर अलिमाथि पट्टीको नाङ्गोडाँडामा पुग्छौ।
त्यतिबेला केहि सल्लाका बुट्यान थिए त्यो डाँडामा । भर्खरै बृक्षारोपण गरेको जस्तो पनि देखिन्थ्यो । त्यतिबेला श्री कुशादेवी बिद्यालयमा पढ्दा लामाडोलको नाङ्गो डाँडाभरि सल्लाका बिरुवा बृक्षारोपण गरेका थियौं । ती सल्लाका रुखहरु बढेर अहिले बुढा हुन लागि सकेछन्
हामी भारी बिसाउछौ । आफु आएकै बाटोतर्फ हेर्छौ । हामी बसेको ठाउँबाट पूर्वतर्फ साँगा निस्कने बाटो देखिन्छ । हाम्रो गन्तव्य भक्तपुर हो । हामी आराम गरेकै ठाउँबाट आशापुरेश्वर महादेवलाई फूल चढाँउछौ । यो मन्दिर काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको काभेरी खोला र नर्बदा खोलाको दोभानमा अवस्थित छ । स्वस्थानी कथामा सतीदेवीको ………..अङ्ग पतन भएको स्थान हो । यी महादेवको दर्शन गर्नाले मनको आशा पुरा गरिदिन्छन भन्ने जनविश्वास रहेको छ । श्रावण र माघ महिनामा यहाँं ठुलो मेला लाग्छ ।
केहिछिनको थकाई मेटाईवरी हामी फेरि त्यहि भारी बोक्छौ । हाम्रो थाप्लोमा नाम्लो अनि पिठ्यूमा भारी छ । यताउति हेर्ने अवसर पनि छैन हामीलाई । हामी नङखेलपट्टिको बाटो लाग्छौ । अघिसम्म तेरपिनबाटो अब केहि ओरालो लाग्छ । भारी बोकेर ओरालोमा हिड्न झनै गाह्रो हुन्छ । मेरा खुट्टाहरु केहि लर्वराउछन । पाको उमेरका छन बा । मेरो त भर्खरको चढ्दो जवानी छ । म यस्तै चौध, पन्ध्र बर्षको मात्र छु ।
केहि ओरालो झरेपछि भक्तपुरको समथर फाँटमा पुग्छौ हामी । त्यहि फाँटैफाँट हामी भातेढिकुर निस्कन्छौं । हामी त्यहाँ पुग्दा फाँटमा तरकारी खेती गरिरहेका ज्यापूहरु भेटिन्छन । केहि ज्यापूहरुले बालाई चिनेका पनि छन । उनिहरु नेवारी लवजमा नै केहि भलाकुसारीका गर्छन । हाम्रा बा उनीहरुलाई जिस्क्याउछन तर उनीहरु रिसाउदैनन् । हाम्रा बाको अलिअलि जिस्कने स्वभाव छ । कैलालाई काली, कालेलाई कैली केटी बिहे गर्नुपर्छ भनेर केटाकेटीमा हामी दाजुभाईलाई जिस्क्याउथे बुढाले । लगभग भयो पनि त्यस्तै ।
हामी बनेपा काठमाण्डौको रोडमा निस्केका छौ । रोडको दाँयाबायाँ ठुलाठुला लहरे पिपलका रुखहरु सिपाही डिउटीमा बसे जसरी उभिएका छन । बेलाबेलामा दाँयाबायाँबाट ट्रलिबस चलेको दृश्य हेर्न लायक छ । यो दृश्य हेर्नलाई टाउकोसम्म उठाउन नसक्ने हालत छ हाम्रो । थाकेका छन शरीरका हरेक अङ्गहरु । अहिले त यसको नामोनिसानामा कतै कतै बिजुलीका पोल झिक्न बाँकी होला । यो लगायत कति उद्योगहरु सबै प्रजातन्त्रले खाईहाल्यो । जसले गर्दा देशमा बेरोजगारीको शिकार छन् युवाबर्ग ।
योे रोडैरोड जगातीतर्फ अगाडि बढ्छौ । त्यहाँ जगातीमा हजुरबाको पालादेखि घिउ, अन्नपात बेच्ने र घरायसी सामान किन्ने कर्णेको पसल थियो । हामीले बाउ छोराले त्यहि कर्णेको पसलको पेटीमा दुईभारी अन्न बिसायौं । केहिछिन थकाई मार्दै मकै र भट्टमास पाथीको कति कति छ भनेर बाले साहुजीलाई सोधे ।
पञ्जामा आएको शिकारलाई किन सजिलै छोड्थ्यो र साहुजीले । हाम्रो दुस्ख उसलाई छु मतलव । साहुजीको भाउ सुन्दा त हावा खायौं हामीले । चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भने जस्तै भयो । मकैको भाउ त लगभग गाउँको पसलको मुल्य नै मिल्यो । तर भट्टमासको मुल्य चाहि एक पाथीमा पचास पैसा कम भयो । अब के गर्नु फसाद पो पर्यो। त्यत्रो बाटो ज्यानलाई दुस्ख दिएर केहि फाईदा हुने भएन । त्यहां पुग्दा त झन कम दाम पो दिन्छ साहुजीले । सात, आठ पाथीमा पचास पैसा फरक पर्दा चार रुपैंया फरक पर्ने भयो । दश रुपैया भए हाम्रो एक महिनाको स्कुल फि नै तिर्न पुग्थ्यो त्यतिबेला ।
पैसाको कुरामा हाम्रा बा अलि कडा नै थिए । किनकी पैसा कमाउन कति दुस्ख हुन्छ बालाई राम्रै थाहा थियो । साहुजीसंग धेरैबेर गलफत्ती गरेपछाडि, त ज्यापूलाई म यो भट्टमास दिदैदिन्न भन्न थाले । साहुजी र बाको बिचमा धेरैबेर लफडा भयो । अर्को पसलमा पनि बुझ्न गईएन । घर फर्कन ढिला हुदै थियो । त्यस पछाडि मकै बेचेको केहि पैसाले होटेलमा गएर दही र चिउरा मज्जाले खायौं बाउछोराले । अनि मनभरि चिन्ता लिदै भट्टमासको धोक्रो बोकेर काक्राबारीको उकालो लागेउ । मरेको बिरालो काखी च्यापेर ठिमी जाने उकालो सोधे जस्तै भयो । बेलुका त्यसरी घरमा आउँदा परिवार सबै दङदास भए । आखिरीमा भट्टमास जस्ताको त्यस्तै फिर्ता घरमा नै आयो । बा स्वर्गवास भएको धेरै वर्ष बितिसकेको छ । तापनि यस्ता संस्मरणहरु मनभरि आईरहन्छन ।






