निबन्ध
लेख्ने, छाप्ने, बेच्ने र पढ्नेहरू
ज्ञानेन्द्र विवश
किताबका चार आयाम लेख्ने, छाप्ने, बेच्ने र पढ्नेहरू अर्थात् लेखक, प्रकाशक, विक्रेता र पाठक । यिनैबीचको सम्बन्धले लेख्नेहरू लेखक बनेर आफूलाई गौरव मान्छन् । छाप्नेहरू प्रकाशक भएर गौरव ठान्छन् । बेच्नेहरू लेखिएका र छापिएका किताब बेचेर लेखक र प्रकाशकलाई ठूलै गुन लगाएको गौरव गर्छन् । पाठकहरू पनि ती किताब पढ्न पाएको खुसीमा गौरवकै अनुभूति महसुस गर्छन् ।
किताब ! यो शब्द सुन्नेबित्तिकै मनमा अनगन्ती भावना र चित्रहरू एकैपटक सल्बलाउँछन् । किताब केवल कागज र मसीको थुप्रो मात्र होइन । यो त मानव चेतनाको प्रतिविम्ब हो । सभ्यताको यात्रा हो । समयको साक्षी पनि हो । यस अदभुत संसारका मुख्य खेलाडीहरू तीन वर्गमा बाँडिएका छन्– किताब पढ्नेहरू, किताब लेख्नेहरू र किताब बेच्नेहरू । यिनको आ–आफ्नै भूमिका छ, जसले किताबको जीवनचक्रलाई पूर्णता दिन्छ ।
किताब पढ्नेहरू, उनीहरू संसारका सबैभन्दा भाग्यमानी मानिसहरू हुन् । उनीहरू प्रत्येक पानामा नयाँ क्षितिज भेट्टाउँछन्, नयाँ जीवन जिउँछन् । कहिले प्रेमको सागरमा डुब्छन् । कहिले बिछोडको पीडादायी घटना पढेर आफै भावविभोर हुन्छन् । कहिले युद्धको मैदानमा होमिन पुग्छन् ।
अन्ततः उनीहरूले इतिहासका पानाहरू पल्टाउँदै विगतलाई नियाल्छन् । दर्शनका जटिलताहरूमा हराउँदै जीवनको अर्थ खोज्छन् । कल्पनाका उडानहरू भर्दै अदृश्य लोकमा पुग्छन् ।
पाठकहरूले लेखकका भावनालाई आफ्नो बनाउँछन्, पात्रहरूसँग हाँस्छन् र रुन्छन् । उनीहरू शब्दहरूको जादुमा यति लीन हुन्छन् कि, किताब बन्द गरेपछि पनि ती पात्रहरू र कथाहरूले उनीहरूको मनमा वास गरिरहेका हुन्छन् । हरेक पाठकको अनुभव अद्वितीय हुन्छ । एउटै किताबले पनि फरक पाठकलाई फरक अर्थ दिन सक्छ । पाठक बिना किताब मृत शरीर सरह हो, उनीहरूले नै किताबलाई जीवन दिन्छन् ।
अनि आउँछन्, किताब लेख्नेहरू । उनीहरू त ती सृष्टिकर्ता हुन् जसले शून्यबाट ब्रह्माण्डको रचना गर्छन् । उनीहरूले आफ्ना विचार, भावना, अनुभव र कल्पनालाई शब्दको माला उनेर पुस्तकको आकार दिन्छन् । एक लेखकका लागि लेख्नु भनेको केवल अक्षरहरू कोर्नु मात्र होइन, यो त आत्माको प्रकटीकरण हो, मनको गहिराइमा लुकेका सत्यहरूको उद्घाटन हो ।
कहिले उनीहरू समाजका विसङ्गतिहरूमाथि कलम चलाउँछन् । कहिले मानव मनका अव्यक्त पीडाहरूलाई शब्दमा उतार्छन् । कहिले अमूर्त विचारहरूलाई मूर्त रूप दिन्छन् । मूर्त रूपहरू पनि कहिले अमूर्त किसिमले व्यक्त भएका हुन्छन् ।
हरेक लेखकको पछाडि अथक परिश्रम, अनुसन्धान र रातभरका अनिँदा सपनाहरू लुकेका हुन्छन् । कति दिनका कठिन यात्राले अनुभूतिहरू लेखाएका हुन्छन् । कतिपय भावना पढेका, सुनेका, भोगेका आधारमा लेखनमा प्रकट हुन्छन् ।
उनीहरू आफ्ना शब्दहरू मार्फत पाठकलाई हँसाउन, रुवाउन र सोच्न बाध्य पार्छन् । कहिलेकाहीँ त विश्व बदल्न पनि सक्ने सामथ्र्य राख्छन् । लेखकहरूले समयलाई जित्छन्, किनकि उनीहरूका सिर्जना शताब्दीयौँसम्म जीवित रहन्छन् । उनीहरूको अनुभव गहिरो सोंच र चिन्तनबाट अभिव्यक्त भएका हुन्छन् ।
यता किताब बेच्नेहरू ती अदृश्य पुल हुन् जसले लेखकका सिर्जना र पाठकको जिज्ञासालाई जोड्ने काम गर्छन् । पुस्तक पसलहरू ज्ञानका मन्दिर हुन्, जहाँ नयाँ र पुराना विचारहरू एकै ठाउँमा भेटिन्छन् । यो कुरा पढ्ने मनहरूले महसुस गर्ने विषय हो ।
किताब बेच्नेहरूले पुस्तकको किनबेच मात्र गर्दैनन्, उनीहरूले पाठकलाई सही किताब छनोट गर्न मद्दत गर्छन् । नयाँ लेखकहरूलाई प्रोत्साहन दिन्छन् र साहित्यिक संस्कृतिलाई जीवित राख्छन् । कतिपय पाठकहरू पुस्तक पसलमा गएर नयाँ किताब आएको चासो राख्छन् । आफूलाई मनपर्ने किताब पाएमा तुरुन्तै किनेर पढ्छन् ।
बिक्रेताहरूलाई थाहा हुन्छ, कुन किताब कुन पाठकका लागि उपयुक्त छ । उनीहरूले किताबको भौतिक अस्तित्वलाई कायम राख्छन् र यसलाई पाठकको हातसम्म पु¥याउँछन् । प्रविधिको विकाससँगै ई–पुस्तक र अनलाइन बिक्री बढे पनि, पुस्तक पसलको महत्व कहिल्यै घट्दैन । किताबको बास्ना, पानाहरू पल्टाउँदा आउने सरसराहट र पुस्तक पसल वा पुस्तकालयको शान्त वातावरणको अनुभव अनमोल हुन्छ । अझ त्यसमाथि मन परेको लेखकको मनपर्ने किताब हात परेपछि खुसीसँग पढ्नुको आनन्द असीमित हुन्छ । किताबका पाना–पाना र अनुभूतिका अध्यायहरूमा डुब्न पाउँदा पाठकीय मन हर्षले गद्गद् हुनु स्वाभाविक हो ।
वास्तवमा किताब पढ्नेहरू, लेख्नेहरू र बेच्नेहरू यी एकार्काका परिपूरक हुन् । लेखकले लेख्छ, प्रकाशकले छाप्छ, बिक्रेताले बेच्छ र पाठकले पढ्छ । यो बिना किताबको यात्रा अधुरो रहन्छ । किताब केवल वस्तु होइन, यो त एउटा जीवित परम्परा हो, जसलाई आफ्नो निःस्वार्थ समर्पणले पोषित गरिरहेका हुन्छन् ।
मेरा लागि, किताब पढ्ने वा लेख्ने माध्यम मात्र होइन । यो त जीवनको एउटा अभिन्न अंग हो, एउटा यस्तो साथी जसले सधैँ साथ दिन्छ, एउटा यस्तो मार्गदर्शक जसले सधैँ नयाँ बाटो देखाउँछ ।
म चाहन्छु– किताबको संसार सधैँ यसरी नै फलोस् फुलोस् र फैलिरहोस् ! मैले किताबको साथ छोड्नु नपरोस् । जीवभरि किताब मेरो प्यारो साथी बनिरहोस् ।