
साताका मुक्तक
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
१)
सायद सम्झनाको गहराईमा डुबेर त होला
दुई मुटुको धड्कन जस्तै भित्र छुपेेर त होला
भेट भए झैँ लाग्ने गर्दछ हरेकपल हामी बीच
अत्यास लाग्ने धैर्यताको बाँध फुटेर त होला!
२)
परि आए कुनै काम गर्न डराउँदिन
दिव्य ज्योति धर्ती भरी छर्न डराउँदिन
कायर कहिले नसम्झनु यो सिपाहीलाई
गोर्खालीको छोरा हुँ म मर्न डराउँदिन!
३)
गाउन गीत मनैबाट शब्दहरु फुर्नुपर्छ
भेट हुनलाई पर्खिनुस साईत जुर्नुपर्छ
जति जति समीप आउँछ प्रतिक्षाको घडि
अत्यास लाग्छ मनलाई झन धेरै कुर्नपर्छ!
४)
जताजता भाग मिल्छ उतैतीर दल फेरे हुन्छ
मनको आकांक्षा पूरा भए अँगालोमै बेरे हुन्छ
दलका मान्छे कस्ता हुन्छन जानु पर्दैन हेर्न टाढा
मन्त्री सांसद किन खोज्नु गाउँका नेता हेरे हुन्छ!
५)
दु:ख पीडा पोख्दै मैले आफ्नो मुटुलाई आफैं रेटेको छु
लागेको कालो दागलाई मैले परिश्रमले मेटेको छु
विरहको भाकाहरुमा उसको वेदना नसमेटेरै
मन नपर्दा कोईलीलाई गाली गर्ने पनि भेटेको छु !






