
काभ्रे,पनौती । जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि.,पनौती १ रयालेको वार्षिक समीक्षा तथा विस्तारित बैठक सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजकुमार सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाको हालसम्मका गतिविधि बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै सल्लाहकार पदम बहादुर तामागले जनमैत्रीले धेरै उपलब्धीहरु हासिल गरेको र थप उपलब्धीहरु प्राप्तिको लागि लाग्नुपर्ने बताए । उनले संस्थागत उपलब्धीको चर्चा गर्दै आगामी कार्यभार पुरा गर्न बाकी कामलाई व्यवस्थित गर्न सुझाव दिए ।
लेखा तथा सुपरिवेक्षण समितिका संयोजक प्रदीप सापकोटाले संस्थाको आर्थिक सुशासनको सूचक स्वागतयोग्य रहेको र अब प्रशासनिक सुधार गर्न आवश्यक भएको औल्याउँदै संस्थाका लगानीका क्षेत्र विस्तार गर्न आवश्यक पहल गर्न सञ्चालक समितिलाई सुझाए ।

संस्थाका अध्यक्ष राजकुमार सापकोटाले संस्थाको समग्र अवस्थाको बारेमा सहभागीहरुबाट उठेका जिज्ञासाहरु मेटाउँदै सबैको सामुहिक प्रयासले मात्र सहकारीले गति लिनसक्नेमा जोड दिए । उनले भावी कार्यभारको रुपमा कार्यक्षेत्र विस्तार,पूँजीको व्यवस्थापन,व्यवस्थितआन्तरिक लेखा परिक्षण,कर्मचारी तथा सञ्चालक लगायत विभिन्न उपसमितिका सदस्यहरुको क्षमता बिकास,भवन निर्माण,महिला समूहहरुले उत्पादन गरेका तरकारी लगायतका फसलहरुको निम्ति वजारीकरण रहेको प्रष्ट पारे ।
यस अघि स्वागत मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष रामचन्द्र सापकोटाले सहकारीका सन्दर्भमा देशमा जनतामा देशका विभिन्न सहकारीका गतिविधि र सहकारीकर्मीहरुको अपचलन र हिनाविना गर्ने समयमा समेत जनमैत्री नाफामा हुनु सुखद भएको बताए ।
संस्थाका प्रमुख व्यवस्थापक वेदप्रसाद सापकोटाले गतिविधिहरु जानकारी गराउँदै सुत्केरी महिला भेटघाट,क्रियापुत्री भेटघाट,कोभिड राहत,लम्पी स्कीन राहत लगायतका राहतहरु संस्थाले उपलब्ध गराउँदै सामाजिक दायित्वका काममा सहकारीले आफुलाई जोडेको बताए । संस्थाका विभिन्न नीतिहरुको जानकारी दिदैं उनले महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरेको जानकारी दिए ।
यस संस्थाले तरकारी खेती,खाद्य व्यवस्थापन,नेतृत्व विकास,स्पेयर वितरण,प्रविधि हस्तान्तरण,बाख्रा साटासाट कार्यक्रम जस्ता महिला लक्षित कार्यक्रम हिमालय रिकी फाउण्डेशनको सहयोगमा महिलाहरुको २१ वटा समूह मार्फत गर्दै आएको छ ।

प्रविधिमैत्री सहकारीले सहकारी शिक्षा वित्तिय साक्षरता कार्यक्रम समेत गर्दै आएको उनले बताए ।
सचिव श्यामहरी सापकोटाको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सञ्चालक समिति,लेखा समिति,विभिन्न उपसमितिका सदस्य एवं पूर्व सञ्चालकहरुको उपस्थिति रहेको थियो ।
स्मरणीय छ,जनमैत्री सहकारीमा ३ हजार ७६ जना शेयर सदस्य छन् भने कूल पूँजी ३७ करोड छ । वचत तर्फ २६ करोड र लगान्री तर्फ ३० करोड रहेको पनि प्रमुख व्यवस्थापक वेदप्रसाद सापकोटाले जानकारी दिए ।





