पुस्तकको नाम : आस्थापुञ्ज
लेखक : अग्निशिखा
विधा : (अन्तर्राष्ट्रिय मामिला सम्बन्धी लेखहरु)
प्रकाशक : भूँडीपुराण प्रकाशन अग्निशिखा विश्व राजनीतिक परिवेश र समसामयिक सन्दर्भहरुको विश्लेषण गर्ने सामाथ्र्य बोकेका लेखक हुन् । उनले आस्थापुञ्जमा यस्तै अन्तर्राष्ट्रिय मामिला विश्लेषण सम्बन्धि १७ वटा विश्व इतिहासका विविध कालखण्डका चर्चित पात्रहरुको बारेमा कलम चलाएका छन् ।
यी आलेखहरु जानकारीमूलक छन् । जानकारीमूलक र पठनीय छन् । उतिवेलाका महान कम्यूनिष्ट योद्धा रोजा लक्जेम्वर्ग,चे ग्वेभारा र उनकी छोरी एलिज ,गुस्तिना फ्यूचिकोभा,होर्गे अमाडो,जोया,साल्भाडोर एलेण्डे,क्रिस हनी लगायत १७ जनाको जीवनी र तिनीहरुको योगदानको बारेमा पछिल्लो पुस्तालाई जानकारी दिनसक्ने कृतिको रुपमा आस्थापुञ्ज रहेको छ ।
प्रस्तुत कृतिमा असाध्यै मिठो भाषाशैलीमा उनीहरुको जीवनी पस्किएको छ ।
पुस्तकको नाम : आफन्तका चोटहरु
गजलकार : वियोगी बुढाथोकी
विधा : गजल
स्त्री र पुरुषबीचको ससम्बन्ध,प्रेम तिनका सम्बन्धमा आउने उल्झन,विसंगति ,निराशा र कुण्ठा लगायतका विषयहरुलाई मिहिन रुपमा मार्मिकताका साथ रचिएका ६१ वटा गजलहरुको समावेश भएका छन् आफन्तका चोटहरु मा ।
परिपक्व गजल बुढाथोकीका गजल लेखनीको विशेषता हो । प्रस्तुतीकरणमा निजत्व उनको अर्काे विशेषता हो । राजनीतिक जस्ता लाग्ने आर्थिक र सामाजिक भावभंगी देखिएका केही गजल समावेश भएपनि ति कोरानारा भन्दा कोशौं पर लाग्छन् ।
क्लिष्टता र कठिन शब्द शुन्यप्रायः भएका गजलहरुमा उपर्युक्त बिम्ब र प्रतिकको प्रयोग देख्न सकिन्छ । गरिवी र अभावको चित्रण पनि छ त्यहाँ । व्यङ्ग्यचेतको प्रचुरता पनि छ त्यहाँ । गेयात्मक लयमा सलल बगेका सुस्वादु गजलसङ्ग्रह पठनीय छ ।