काठमाडौं।मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्यांकर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । ४५ जना घाइते भएका छन् ।
नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दा पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएको समयमा त्यो विस्फोट हुँदा ठूलो मानवीय क्षति हुन पुगेको संघीय सडक सुरक्षा विभागका सेक्टर कमान्डर आइशातु साडुले बताए ।
“पेट्रोल ट्यांकर दुर्घटना भएपछि केही बासिन्दा पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका समय ट्यांकर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको र अरू ४५ जना घाइते भएका छन्,” प्रहरीको प्रारम्भिक अनुसन्धानपछि साडुले भने, “घाइतेमध्ये धेरैजना गम्भीर रूपमा जलेको अवस्थामा उपचारका निम्ति अस्पताल लगिएको छ ।”