
काठमाडौं। उत्तमशान्ति पुरस्कार -२०८१ जीवा लामिछानेको नियात्रा कृति ‘अक्षत अन्टार्कटिका’लाई प्रदान गरिने भएको छ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले हरेक वर्ष उत्कृष्ट गैरआख्यानात्मक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको छ। एक लाख रुपैयाँ राशीको यो पुरस्कार निबन्ध, संस्मरण, जीवनी, आत्मकथा लगायतका विधामा लेखिएका कृतिमध्ये उत्कृष्टलाई प्रदान गरिन्छ।
पुरस्कार गुठीका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको चयन समितिले ‘अक्षत अन्टार्कटिका’ लाई नवीन सोच, रोचक शिल्प र नयाँ शैलीको कारण उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
समितिले अन्टार्कटिकाको रोमाञ्चक यात्रावृत्तान्त मार्फत् पर्यावरण जस्तो विश्वकै प्रमुख सरोकारको विषयलाई प्रभावकारी रूपमा उठान गरेको भन्दै लामिछानेको कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।
वि.सं २०४४ सालदेखि प्रदान गरिँदै आएको यो पुरस्कार यसअघि मन्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ जस्ता चर्चित लेखकहरूले प्राप्त गरिसकेका छन् ।






