
एउटा लेखकको पुनर्जन्म
ज्ञानेन्द्र विवश
एउटा लेखकको पुनर्जन्म उसको लेखकीय सिर्जनाकर्मले गर्छ । तर त्यो सिर्जना जीवनवादी, मौलिक र मननीय भाव–सौन्दर्यमा अभिव्यक्त भएको हुनुपर्छ । लेख्नु भनेको लेखनको आलस्यमय अवस्था होइन । लेख्नुले मस्तिष्कलाई सधैं गतिशील पारिराख्नुपर्छ । लेख्नुले जीवन्त संस्कारको लेखकीय मान्यता स्थापित गर्छ । अतः यसैबाट एउटा लेखकको पुनर्जन्म प्रारम्भ हुन्छ ।
जीवन एक अन्तहीन पाठशाला हो । म त्यसको एक जिज्ञासु विद्यार्थी । साँच्चै, जानेर कहिल्यै सकिन्न । सगरमाथाको चुचुरो छुन सक्ने आरोहीले फेरि पनि सगरमाथा छुन र चुम्न मन गर्छ । आकाश छुने चाहना राख्छ । चाहनाको भोक कहिल्यै पूरा हुन सक्दैन । एकपछि अर्को चाहना बढ्दै जान्छ । एउटा सफलताले अर्को सफलताको खोजी गर्छ । एउटा गन्तव्यपछि अर्को गन्तव्यको क्षितिज फेरि देखापर्छ ।
वास्तवमा यही असन्तुष्टिले सफलतातिर उन्मुख गराउँछ र सन्तुष्टिको नजिक पु¥याउन मद्दत गर्छ । सिकाइको क्रम, ज्ञानको भोक, चाहनाको चाङ आदिले मान्छेको मन सधैं बेचैन भइरहन्छ । यही बेचैनीहरूले नै हो सफलतासँग साक्षात्कार गराउने ।
सन्तोषले सुखको सास फेर्ने फुर्सद कसैलाई छैन । जतिसुकै पुगिसरी भएकाहरूलाई पनि अझै पुगेको हुँदैन । बरु केही नहुने फुक्काफकिर खुल्ला आकाशको ओतमा पनि मस्तले निदाउन सक्छन् ।
त्यस्तै मैले पनि जति सिकेँ, त्यति नै अज्ञानको ढोकाहरू खुल्दै गए । ज्ञानको यो अदृश्य वृत्तले मलाई फेरि–फेरि खिचिरहन्छ । अनि म त्यसमा एक बालकझैँ लट्ठिइरहन्छु । यसले मेरो लेखनलाई प्रेरणा दिन्छ । म यही प्रेरणाले प्रेरित भएर लेखकीय पहिचानलाई पुनर्जन्म गराउने चेष्टामा चिन्तित हुन थाल्छु ।
सुरुका दिनहरूमा लाग्थ्यो– पढेपछि सबै थाहा हुन्छ, लेखेपछि आत्मा हलुका हुन्छ । सोंचले सारा संसार जितिन्छ । तर समय बित्दै जाँदा धेरै कुराको महसुस भयो । पढाइ त केवल चाबी हो, ढोका खोल्न मात्र काम लाग्छ । तर त्यो ढोकाभित्र कति कोठा छन्, के, के छन् ? त्यो कसैले गनेको र देखेको हुँदैन ।
अतः लेखाइ पनि आत्माभित्रका हल्का कुराहरू मात्र पोख्न सकिने माध्यम रहेछ । गहिरो कुरा त हामी आफैँ बुझ्न सक्दैनौं । अनि सोंच ? सोंच सागर हो, जसको छालहरू एकैचोटि मीठा पनि लाग्छन् र डरलाग्दा पनि । त्यसमा कहिले डुबेर गहिराइमा पुगिन्छ । कहिले तैरिएर अनौठो संंसारमा पुगिन्छ । भावनाका संग्रह यिनै र यस्तै गहिराइ र उचाइ, उकाली र ओरालीका जमघटहरूले गर्छन् ।
यसैले म नजानेका, नबुझेका कुरा सिकिरहेछु । सुनिरहेछु अरूका कथा, बुझिरहेछु हराउन खोजेका अनुहारहरू, अनुभूत गरिरहेछु मौनताका अर्थहरू । हिजोका विचारहरू आज पुराना लाग्न थाल्छन् । अनि आजको बुझाइ भोलि फेरि अलमलिने छ । तर यति बुझें– अलमलिनु पनि सिकाइको एक हिस्सा हो । प्रश्न उठाउनु पनि उत्तरको पहिलो पाइला हो । त्यसैले सिकेर कहिल्यै सकिँदैन ।
सिक्ने यो यात्रामा म केवल किताबका अक्षरहरूमा मात्र नभएर मानिसका आँखामा, सडकका धूलोमा, बालकका हाँसोमा, बुढी आमाको चुप्पामा, अनि बेलुकाको चिसो बतासमा पनि अर्थ खोज्दै हिँडिरहेछु ।
कहिलेकाहीँ कुनै दृश्यले मनको क्यानभास रङ्ग्याउँछ, कुनै वाक्यले भावनालाई बिझाउँछ, अनि कुनै स्पर्शले सम्झनाको गोरेटो कोरिदिन्छ ।
हाम्रो समाजले बाँच्नलाई सीप सिक्न सिकाउँछ, तर बचाइको सौन्दर्य बुझ्न आत्मा चाहिन्छ । मैले आत्मालाई सुन्न थालेको धेरै भएन, तर जतिबेला सुनें, थाहा पाएँ– म अझै केही पनि जान्दिनँ । यही अपूर्णताको अनुभूति नै सिक्ने चाहना बन्यो । यही अधुरोपनमा पूर्णताको झल्को देखियो ।
त्यसैले भन्ने गर्छु– जानेर सकिँदैन भन्ने लाग्छ र पो सिक्न खोज्दैछु म । किनभने जहाँ अन्त्य लाग्छ भन्ने ठानिन्छ, त्यहीँबाट फेरि नयाँ अध्याय सुरु हुन्छ । त्यही अध्यायले जीवनलाई संवेदनशील पार्दै सोंचाइको गति विस्तृत पार्छ ।
बढ्दो उमेरसँगै जिन्दगीले अनेकौं मोडहरू देखाउँछ– कतै घुम्ती, कतै गहिरो ओरालो, कतै झलमल्ल उज्यालो, अनि कतै– कतै यस्तो अँध्यारो जहाँ आफ्नै छायासँग डर लाग्न थाल्छ । यस्ता अनिश्चित मोडहरूमा कुनै दिन एक शब्द सम्झन्छु, कुनै दिन एउटा वाक्य भेटिन्छ, अनि कुनै साँझ अक्षरहरूकै काखमा पुगेर बिर्सिएझैं लाग्छ जीवनका चापहरू । त्यसैबेला महसुस हुन्छ– म फेरि फर्किएको छु । म फेरि जन्मिएको छु– कागजमा, कलममा, अनि आफ्नै आत्माको गहिरो तहमा ।
लेख्न सक्नु मात्र सीप होइन, त्यो एक पुनर्जन्म हो । त्यो एउटा सास हो, जुन बन्द भएर बसेको मुटुलाई फेरि धड्काउने अदृश्य स्पन्दन हो ।
जब कुनै बिहान अनुहार धुनुअघि म कागजमा आफ्नो अनुहार देख्छु, त्यस क्षण लाग्छ– यी अक्षरहरू म हुँ । यी धर्काहरूमा मेरो हाँसो छ, मेरो रोदन छ, अनि मेरो आत्मदर्शनको गहिरो झिल्को पनि छ । मेरा हरेक दिनचर्या यिनैमा प्रतिविम्बित छन् ।
यिनै विविध आयाम र अध्यायका पात्र र पाटाहरूमा म जीवनको सौन्दर्य खोज्छु । देउराली र भन्ज्याङहरूमा पसिना ओभाउँदै जीवनलाई ऊर्जाशील पार्दै म त्यहाँ जीवनको नयाँ गोरेटोतिर प्रस्थान गर्छु । त्यहाँ मैले मेरो लेखक पहिचानलाई पुनर्जन्म गराएर छैटीले लेखेको भाग्यरेखामा आफैंले जीवन्त रेखाको अमर निशानी स्थापित गराउनु छ ।
कहिलेकाहीँ लाग्छ, म लेख्दै आफैंलाई बिर्सिर भीडमा पनि एक्लो हुन्छु । एक्लोमा पनि भीडामभीडमा कतै हराएझैं लाग्छ । कोही मान्छे, कसैसँग कुनै मतलव नराख्ने हुन्छन् । कोही मान्छे चासो र चिन्ता लिने स्वभावका हुन्छन् । फरक मान्छे, फरक स्वभाव र सोंचका हुन्छन् । यद्यपि लेखक मन सधैं सुकोमल भाव–गंगामा डुब्दै, तैरिँदै गन्तव्यमा पुगेरै छाड्न उद्दत रहन्छ ।
आत्मदर्शन र आत्मगौरवको अमूल्य क्षण भन्नु यथार्थमा आफूलाई इमानदारीपूर्वक अभिव्यक्त गर्न सक्नु हो । यसले खुशी दिन्छ । सन्तुष्टि दिँदै एउटा लेखकको पुनर्जन्म गराउँछ । र, त्यो पुनर्जीवित लेखकबाट सिर्जनात्मक आलेखनको नवीन धारा–प्रवाह प्रवाहित हुन थाल्छ ।







