
कविता
मुरारि सिग्देल
तैपनि अक्षरहरु बोलेनन्
स्कूलका चक र डस्टरहरु
सडकमा ओर्लिएर
जादू देखाउन थालेका छन्
सिंहदरबारका अक्षरहरु विरुद्ध…..
तैपनि अक्षरहरु बोलेनन् ।
तागत छ शिक्षकको कलममा
ज्ञान बाँड्ने छडी छ हातमा
फू मन्तर गरेर
शिक्षा(जादू)को विकास हुँदैछ सडकमा …
तैपनि अक्षरहरु बोलेनन् ।
सिंहदरवारको आँखा छैन्,देख्दैन
कान छैन सुन्दैन्,शिक्षा ऐनका लागि
गीत गाउँछन्,नाच्दैछन्,उफ्रदै छन् आधा अक्षरहरु
तैपनि अक्षरहरु बोलेनन् ।
गाउँ गाउँमा सिंहदरवारको नारा छ
विचरा अक्षरहरु चुनावको बेला पोतिन्छन्
कालो अक्षर भैसी बराबर
तैपनि अक्षरहरु बोलेनन् ।
भविष्यका कर्णधार अक्षरहरु
विहानै स्कूल गएका
अबेरसम्म पनि घर फर्केनन्
प्रि मनसुनको भेलले
डाइभर्सन नै बगाइदियो
बर्खामा के होला ?
स्कूल गए घर पुग्ने पीर
घर पुगे स्कूल पुग्ने पीर
सरकारले अक्षरलाई डाइभर्सन गरेको छ
तैपनि अक्षरहरु बोलेनन् ।
आज भोलि अक्षरहरुमाथि
राजनीति घुसेको छ
स्वयम् अक्षर राजनीतिको शरणमा गए पछि
कहाँ जालान् भविष्यका साँवा अक्षरहरु….
कुवेत,कतार वा मलेसिया ?
तैपनि अक्षरहरु बोलेनन् ।
(सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा मिति २०८२ बैशाख ५ मा आयोजित ठमेल काव्योत्सवमा वाचन गरिएको कविता)







