
कविता
शुचिता काफ्ले
प्रेम उत्सव
हरेक विहान
जव एउटा रक्तिम सूर्य
मेरो ओछ्यानमा आएर
आँङ् तान्दै मडारिन्छ,
अनि म लज्जाले कायल हुन्छु
जसलाई मैले वस्त्र खोजेर
ओढाउन सक्दिन ,
अत: सूर्यले ममाथि
व्यभिचार गर्छ भने
गरोस मञ्जुर छ मलाई ,
उष्णता चहारेर
छटपटाएको रातलाई
विहानीको मन्द पदचाप
कति थाहा हुन्छ ?
जुनको कान्तिलाई
मेरो लज्जालु यौवनसित
समागम तुल्याएर ,
यो अजेय स्त्री उत्सर्गलाई
कबुल गर्न तिम्रो मौन आलाप
कति कामयावी हुन्छ
हेर्छु ,
प्रेमको गङ्गामा
सूर्यात्म सत्ता
कति निर्वस्त्र हुन्छ ।







