
रिमा के.सी.
देश, लठ्ठी र आमा
हिजो आमा –
कलिलो बाँसको मुनाझैँ जवान थिइन
सोझो थियो बैँसको हाँगा पनि
फैलिएका थिए पिपलको जराजस्तै सन्तान
समयसँगै आमाका याम फेरिए
गति फेरियो अनि बदलियो जिवनको मिति
उड्यो आमाले लगाउने साडीको रङ्ग
पहेंलिए पात अनि खसे सिमानामा असरल्ल
सपना चाहुरिए उमेरको अंकगणित पढ्दापढ्दै
बैँस सुकेर पत्झड बन्यो र खस्यो एक्लो पृथ्वीझैँ
बैँस फुलेन तर आमा फुलिरहिन्
अनारको दानाझैँ फलिरहिन्
छोरा हिँड्यो युद्धको पाठशालामा परिवर्तनका क ख रा सिक्न
माटो किन्न-बेचेर आत्मा-छोरी पर्देश पसी
खोजिरहिन् आमा हराएको लठ्ठी
भेटिएन कतै,देखिएन देशको पुरानो नक्सा
टेक्ने सहारा थियो आमाको आँसु
थियो जिन्दगी भत्किएको आली जस्तै
सगरमाथामा हिउँ बिलाएझैँ बिलाए
सन्तान परदेशमै
सबैसबै गुमाएर आमा
लठ्ठीको सहारामा बाँचेकी छ्न आज
(आमाको खुट्टा बनेको छ आज लठ्ठी)
एक पैताला माटो नहुनेको संसार
एउटा बुढो लठ्ठी छ आड
जसले निभाएको छ कर्तव्य
डोर्याउछ त्यही लठ्ठीले गन्तव्यमा आमालाई
भरोसा बनेको छ यतिबेला
धानेको छ उनी बाँचेको युगको इतिहास
थामेको छ यो देशको भार
बचाएको छ बुद्ध, सगरमाथा र सहिदहरूको अस्तित्व
टेकाएको छ जमीनमा आमाको पैताला
आज
आमा छिन्-देश जस्तै एक्लो
एक्लै छन्-गाउँका खण्डहरजस्ता घर
अनि चौतारा
भोकै छन् – सिपाही जस्ता गाउँका खेतबारी
उदास छ हामी बाँचेको समय
झन् झन् घट्दै छ देशको सिमाना
म सोचिरहेछु-
यो देश- देश जस्तै कहिले बन्छ ?








