
काठमाडौं । डा.राजेन्द्र विमल प्रतिष्ठानको १२औँ वार्षिकोत्सवका अवसरमा दुई सर्जकलाई सम्मान एवं पुरस्कृत गरिएको छ । साहित्यकार डा। राजेन्द्र विमलको ७९औँ जन्मदिनमा शनिबार (चैत १६)उनीहरूलाई सम्मान गरिएको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा धनुषाका पुराना पत्रकार एवं अधिकारकर्मी कुलराज घिमिरेलाई विशेष अभिनन्दन गरियो । उनलाई दोसल्ला ओढाएर अभिनन्दनपत्र प्रदान गरिएको थियो ।
यस्तै, प्रतिष्ठानले धनुषाकै तबलावादक बदन मण्डललाई नगद ११ हजार रुपैयाँसहित ‘राजेन्द्र विमल प्रतिभा पुरस्कार, २०८१’ बाट पुरस्कृत गर्यो ।
कार्यक्रममा साहित्यकार अवधेश पोखरेल‘जनकपुरिया’को व्यंग्यकृति‘जीवनका रङहरू’सार्वजनिक गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले डा.विमलका कथाहरूले हिमाल,पहाड र तराईलाई जोडेको उल्लेख गरे ।
आख्यानकार डा.विमलले मुलुकलाई विकसित र समृद्ध नेपाल बनाउन आग्रह गरे । उनले भने-‘आउनुस्,नेपाल बनाउने काम गरौँ । एउटा नेपालीले अर्को नेपालीलाई माया गरौँ।नेपाली नेपाली एक ठाउँ जुटौँ र सु्न्दर नेपालको रचना गरौँ ।’
सार्वजनिक गरिएको कृतिमाथि साहित्यकार सुशीला पौडेले समीक्षात्मक टिप्पणी गरिन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अवधेश पोखरेल ‘जनकपुरिया’,कवि शैलेन्द्र साकार,प्रह्लाद पोखरेल,दिनेश अधिकारी,कथाकार इस्माली, डा.रजनी ढकाल,आभाकुमारी सिंह,सलीम खानलगायतका साहित्यकारले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।




