
कविता प्रदीप सापकोटा
भ्रमित भुइँमान्छे
भ्रमित छन् भूइँमान्छे
उस्तै भ्रममा छ यो शहर पनि
अनि छर्दैछ आफैं यो शहर
पुरा गरिदिनेछु तिम्रा सपना भनेर
हामी भूइँमान्छे पत्याइदिन्छौं यो मिथ्या ।
सपना पुरा गर्ने नाउँमा
हाम्रा जीवनका गाँठीपलहरु
शहरले कप्लक्कै निल्यो
हामीले श्रम,पसिना र रगत बगायौं
बदलामा उसले हामीलाई
अभाव र पीडा उपहार दियो ।
हामीले उसका हर आवश्यकता
पुरा गर्न कुनै कसूर बाँकी राखेनौं
उसको सुखको निम्ति
दुखको आहालमा डुविदियौं
तर,बदलामा शहरले हामीलाई
उचटा मात्र दियो ।
हामी उसका सब कठिनतामा
उत्तारुका साथमा उदात्तचरित्र देखाएर
पाइला पाइलामा साथ दिइरह्यौं
उसले,गँगटेचाल देखाउँदै
जहिल्यै आँखा टेडो गरिरहर्यो ।







