सुषमा आचार्य ‘अंशु’
कविता
म को हुँ ?
म को हुँ, सोच महासागरमा
पौडिरहेको छ
शरीरको रूप हो कि
भावना भित्रको गहिरो आवाज ?
आशा र भरोसाको साथमा
गरेको लामो यात्राको सम्झनामा
हराएको एक यात्री या
सपना र इच्छामा रङ्गिएका
बिना रङको अस्तित्व हो ?
के म ती आँखा हुँ,
जसले संसारलाई हेरिरहेछन्
के म ती हात हुँ,
जसले संघर्ष र कर्मको बाटो
समातिरहेका छन्
के म ती शब्द हुँ,
जसले प्रेम र पीडाका कथा
सुनाएका छन् ?
के म एउटा कथा हुँ र !
जुन समयको धारामा
सजिलै हराउने ?
सायद, म कविता हुँ
भावना , अनुभुति र शव्द संगम ।
म को हुँ ? जीवनको गहिरो प्रश्नमा
डुबिरहेको छु
उत्तर मौन वर्त तोड्दैनन
सन्नाटा रहस्य खोल्दैनन
शायद, म त एउटा खोज हुँ,
जो समय र अनुभवका पाटोमा
परिस्थितिको निस्कर्ष खोज्दै
प्रश्नपत्र बोकेर हिडेको
एउटा प्रतिबिम्ब हुँ।