नारी दिवस
रुपा रिसाल चालिसे
केशव-‘ए भवानी तिमी छिट्टो तल आउ त ।’
भवानी-‘हजुर म आउँदैछु।’
भवानीले हत्त न पत्त हात धोएर तल आइन्।अनि श्रीमानको मुख हेरेर भन्न लागिन्-‘हैन के भो?किन आत्तिएर बोलाउनु भएको विद्याको बुवा?’
केशव- ‘हेर न त्यो भरिया कहाँ गयो गयो कति खोजे कति छिट्टै गायब भयो । त्यो त परैतिर भाग्यो जस्तो छ। साहुजी यो धानको भारी चिसो रहेछ,धेरै भारी छ मलाई रुपैया दिनु न भन्यो । मैले पनि सोझो मन तीनसय खल्तिबाट झिकेर दिए,अल्पर गएपछि उसले मलाई पिसाब च्याप्यो साहुजी भन्यो । मैले किलागलको गणेश नजिकैको पाटीमा यहाँ विसाउनु दाइ।अनि मैले तिमी शौचालय जाउ न त अनि फेरीसँगै जाउला भनेर भने। ऊ त्यो साइला दाइको घर पछाडि गएको थियो। आधी घण्टा नै भै सक्यो आँउदै आएन। मैले शौचालयमा गएर हेरे त्यहाँ पनि थिएन । कता भाग्यो भाग्यो । म त जिल्लाराम भए । कस्तो विपद पो आइलाग्यो के गर्ने होला अब । पुलिसलाई फोन गरु भने पनि जनसेवासम्म जानुपर्छ ।अहिले त त्यो भरिया पनि रत्नपार्कमा गएर बस चढिसक्यो होला।’
‘धन्न छिमेकी हेरमानचादाइ त्यही बाटो तरकारी किन्न भेडासिंग तर्फ जाँदै थिए। अनि मैले उसलाई दाइ यो धानको बोरा चिउरा कुट्न लगन जान लागेको भरिया नै भाग्यो भने ल दाइ भाउजूलाई बोलाउन जानु, म यो भारी हेरिदिन्छु भन्यो।फेरी म तिमीलाई बोलाउन आएको।’
भवानी- ‘लौन नि मैले त आफैं जान्छु भनेको थिएँ नि । हजुरले आज मेरो फुर्सद छ शनिवार विदाको दिन म जान्छु तिमी बच्चा हेरेर घरमा नै बस भन्नु भो । कहिले बाहिर गएर दुखका काम नगरेको, हजुर जस्तो अति सिधा मान्छे भएपछि यस्तै ठगहरुले ठगेर जान्छन् नि हजुर। पहिले नै भरियालाई पैसा दिनु हुदैनथ्यो के भन्ने मैले हजुरको यो भलादमीपनको सबैले फाइदा उठाउँछन् । कुनै दिन हजुरलाई लुटेर नै पनि लैजान्छन् सक्छन्।’
केशव-‘के गर्नु आज नारी दिवस घरमा तिमीलाई अलिकति काम सघाउँछु भनेर सम्मानका साथ बस भनेको यस्तो होला भनेर मलाई के थाहा थियो र।’
भवानी-‘हवस् हजुर लौ यो धानको बोराको भारी म नै लिएर मिलमा जान्छु,पछाडिबाट धकेलिदिनुस।’