
जाडोमा
डा. दामोदर पुडासैनी किशोर
जाडोमा तिमी र म
पैँयौँको रूखझैँ हिँडिरहेछौँ
रँगिबिरँगी भुत्लाहरू झुण्याएर
बुढो चीललेझैँ फटफटाउँदैछौँ पखेटाहरू
बेला बेलामाजाडोले सुँघ्न आउँछ हामीलाई
काउकुति लगाउँन खोज्छ
टोकेर नीलडाँम पार्न खोज्छ
तिमी र म
काँडा झिकिरहेको बालकझैँ
हटाउँन खोज्छौँ
जाडोका पहाडहरूलाई
जाडोमा
जाडोले बोकेर हिँड्छ आगोको समुद्र
बसाउँन खोज्छ मान्छेको मुटुभित्र एउटा न्यानो घर
वीचैमा झगडा पर्छ उसको र हाम्रो
त्यसपछि पानी बाराबार गर्न तम्सन्छौँ उसँग
याद गर त
उ आएर नै हो हामीलाई
घाम मन पर्न थालेको
उ आएर नै हो डाँडाभरि पैँयौँ फुल्न थालेको
उ आएर नै हो
तिमीले र मैले बदामका कोशामा
प्रेमका कोलाज कोर्न थालेको हो
जाडोकै कारण
भर्न थालेका हौँ हामीले आगोको भकारी
केही सेता हिमालहरू
उभिएकाछन् तिम्रो र मेरो निधारमा
केही कलिला हुस्सुहरू सुतिरहेछन् हामीसँगै
हाम्रै सिरक डसना ओडेर
एउटा रंगीन गुँड बनाउने सल्लाह गरिरहेछन्
चिवे , ढुकुर र सुगाहरू
समयसँगैँ झरेका पहेला पातहरूको डोबमा
मलम लगाउँन
बिस्तारै उठने उम्मेद गर्दैछन्
लालुपाते , जिरेनियम र वेली चमेलीहरू
तिमी र मैले भने कहाँ गर्न सक्छौं
दुस्मनी जाडोसंग
जाडोमा सँसारभरिकै कडा अँध्यारो बोकेर उभिरहेछ रात
पिलपिले बत्ति च्यापेर न्यानो चुम्बनको खोजिमा घस्रिरहेछन् सडकहरू
एक डँगुर आगोको खेती गर्न
तिमीले र मैले
जोगाउँनुछ जाडोमा एक अन्जुली जाडोको बिउ
आगो जोगाउँन
हिउँकै सन्दुस जरूरत पर्छ
हिमाल नासिएको दिन
न आगो बच्छ , न तिमी , न मेरो ढुकढुकी








