
कृति: गाउँ खोज्दै जाँदा
विधा : कवितासंग्रह
कवि विजय सापकोटा
कवितामा बौद्धिकता,समाजको प्रत्येक विषयवस्तुमाथिको घोत्ल्याईं,मार्मिक र समसामयिक एवं सुन्दर बिम्बहरुको सावधानी साथ प्रयोग विजय सापकोटाका कविताका विशेषता हुन् ।
कवितामा पाठकका सरोकार,देश दुखेका पीडा,गाउँका दुख,दर्द,समय पीडाभित्र आँसुका स्वरहरु उरालेर कविता लेख्न खप्पिस देखिन्छन् कवि । गाउँको आफ्नोपन मर्दै गएकोप्रति चिन्ता प्रकट गर्छन् । कवि मन चेतनशील छ । देश दुखेको पीडा कविताहरु मार्फत आएको छ । राजनीतिक नेतृत्वले दिएको धोकाप्रति रोष ओकल्ने कवि राजनीतिमा आएका बेथिति प्रति चिन्ताभाव प्रकट गर्छन् । उतिबेलाको सशस्त्र द्धन्दको पीडाको कारुणिक चित्रण पनि कवितामा देख्न पाइन्छ ।
सरल शब्द,समाजका बिम्बहरु टपक्क टिपेर बुनेका ३० थान कविताहरु यस कृतिले समेटेको छ । मर्मस्पर्शी भावमा आएका क्लिष्टताभन्दा कोसौं पर सरल रुपमा जिम्मेवारीपूर्ण ढंगले कविताहरु आएका छन् ।
कृति नौ पाइला
विधा : यात्रा संस्मरणात्मक निबन्ध
कृतिकार : निर्माेही व्यास
सरल,सरस भाषाशैली,यात्रापरक र संस्मरणात्मक निबन्धहरु रहेको कृति हो । विविध साहित्यकार र तिनका कृतिलाई जोडिएर सृजना आएको छ । जस्तै देवकोटाको व्यक्तित्वबाट प्रभावित हुँदै कुञ्जिनीमाथि निबन्ध आएको छ । बालकृष्ण सम जोडेर बाल्मिकी आश्रमको चर्चा भएको छ । जुन जुन विषय वा स्थानको बारेमा लेखिएको छ त्यसको ऐतिहासिक र धार्मिक जानकारी समेत दिने प्रयास गरिएको छ ।
आफ्नै किसिमको भाव र शैलीमा निबन्धहरु आएका छन् । यस कृतिभित्र ९ वटा विविध शिर्षकका निबन्धहरु छन् ।
भावप्रधान निबन्धले पाठकलाई भावुक बनाउन सक्छ । प्रवाहमय भावमा आएका प्रभावकारी निबन्धहरु सरल भाषाशैलीमा छन् । केही निबन्धहरुमा वाक्यहरु लामा लामा छन् । आत्मपरकता,तथ्यात्मकता,हार्दिकताले भरिएका निबन्धहरु पठनीय छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले २०४६ सालमा प्रकाशन यस कृतिलाई प्रकाशनमा ल्याएको थियो ।
कृति :पनौतीका चाडपर्वहरु र मकरमेला
कृतिकार : डा.सुमनराज ताम्राकार
एक पवित्र प्राचीन तीर्थस्थल पनौती,भगवान वुद्धको पूर्वजन्मको कथामा पाञ्चाल देश भनिएको पनौती । पलाँती,पँलाती,पन्ती,पनाती,अस्मनगर जस्ता नामले चिनिएको पनौती।
यहाँका विभिन्न देवीदेवताहरुको बारेमा,कला,संस्कृतिको बारेमा र तिनको प्राचीनताको बारेमा यस कृतिले जानकारी दिन्छ । यहाँको कलाकौसल,संस्कृति,पनौतीको इतिहास,धर्म,महत्वपूर्ण अभिलेखहरु,यहाँ प्रचलनमा रहेका चाडपर्वहरु,यहाँ प्रयोग हुने बाजागाजाहरु सहितको बारेमा जानकारी दिने उपर्युक्त पुस्तक हो यो । पनौतीमा लाग्ने ऐतिहासिक बाह्रवर्षे मकर मेलाको पूर्ण जानकारी यसमा पाइन्छ ।
चिकित्सा र प्राध्यापन पेशाका डा.ताम्राकारको यो कृति पनौतीको समग्र ऐतिहासिक,साँस्कृतिक चिनारी बारे जानकारी दिन सफल कृति हो ।पनौतीका चाडपर्वहरु र मकरमेलालाई वि.सं २०६६ मा प्रकाशन गरिएको हो ।







