
बेड नं.३८
छविरमण सिलवाल
मेरा मुटुहरु, मायाहरु ……आवाज सुनिन्छ । कम्मलभित्रबाट फुत्त एउटी महिला निस्किन्छिन र, बेडबाट तल झर्छिन । म हेरिरहन्छु, उनको मोबाइल बेडमै हुन्छ, आवाज प्रष्टै सुनिन्छ, मेरा मायाहरु, मेरा मुटुहरु, एउटा मिठो गीत गाइदिनु न ल । महिला वार्डबाट बाहिरिन्छिन,सायद वासरुम गएकी होलिन । उनी बाहिरिएको करिब तीस मिनेटपछि उनी पुनः बेडमा आइन । उनको मोवाइलमा भने माया र मुटुहरु सहित केही आवाजहरु आइरहेका थिए । मैले त्यति ध्यान दिन सकिन किनकी मपनि विरामी आमालाई कुरिरहेको थिएँ । उनी उसैगरी बेडमा कम्मलभित्र पसिन । मंसिरको अन्तिम सप्ताह चलिरहेको छ । काठमाडौँलाई जाडोले घप्लक्क अँगालो मार्दैथियो । अझ बेलुकाको समय चिसो निकै थियो । कोठा दक्षिणतर्फ भएकोले भित्र त्यति जाडो थिएन । मैले यता उता हेरे एसी कतै छ कि भनेर, तर एसी रहेनछ । तैपनि कोठा न्यानो नै थियो । अस्पतालमा कोठा न्यानो भएपनि मन चिसै हुँदोरहेछ ।
आमाको अस्पताल बसाईको दोस्रो दिन थियो । म पुग्दा सायद साँझको ५ बजेको हुनुपर्छ । क्रमशः अस्पतालको भीड कम हुदैँछ । अस्पतालमा हेर्यो संसारका बिरामी सबै त्यहीँ छन्, जस्तो लाग्ने । अहिले कुनै न कुनै रोग नभएको मान्छे भेट्नै कठिन छ । त्यसैले त दबाईखानाहरु धेरै नै चलेका छन् । अस्पत्तालको व्यापार दिन दुई गुना रात चौगुना भएको छ । भाई रामकृष्ण खाना खानको लागि घर गएकोले म एक्लै थिएँ । आमा बेडमा निदाई रहनु भएको छ, म आमाको अनुहार हेरिरहेको छुु । अस्पतालको बसाई कहाँ सजिलो हुन्छ र ? हरेक बिरामी चाँडै निको भएर आफ्नै घर फर्कन हतार हुन्छन्, कतिको त्यहीँ अस्पतालमा जीवन लीला सकिन्छ र घर फर्कनै पाउँदैनन् । दुःखसुखको चौतारी हो जीवन । हाँसोे र रोदनको बीचमा हामीले आफ्नो उमेरको गाडी लाई धकेल्नु छ अघिअघि । तर समय भन्दामाथि हामी पुग्न सकेका छैनौं । समयले हामीलाई धकेलिरहेको छ । अस्पताल बस्ने कसैलाई रहर हुँदैन,यो त बाध्यता हो, त्यहीँ बाध्यता थियो हामीमा पनि । आमाको रोग निको बनाउनु मुख्य कुरा थियो हाम्रो ।
बेड नं ३७ मा ति महिला एकोहोरो कम्बलभित्र घुस्रेर भन्दै थिइन मेरा मुटुहरु ! मेरा मायाहरु ! म आएँ है । म त अस्पताल छु, मलाई भेट्न को को आउनुहुन्छ भोली ? ल ल डबल ट्यापट्याप गर्नु न हो ? कति कन्जुस हो तपाईहरु त ? मलाई त खोई केही पनि आएन कस्तो निष्ठुरी हो तपाईहरु त ? लु मेरो एउटा गीत गाउनु त ? क–कसलाई कण्ठ छ मेरो गीत ? यस्तै यस्तै थोरैथोरै कुरा सुनिन्छ,। तर एकोहोरो उनी बोलिरहेकी छिन् । कल्याङ्कुलुङ् आवाज आउछ उताबाट पनि । मैले ध्यान नदिउ भन्दा पनि मेरो ध्यान उतै खिचिएको छ । यता आमा मस्त निद्रामा हुनुहुन्छ, मैले आमालाई उठाउने कोशिश पनि गरिन, औषधिले निन्द्रा लागेको छ,केही समयपछि आफै उठ्नुहन्छ । म असमन्जस्यमा छु, उनले के गरेकी होलिन यस्तो ? तुरुन्तै सोध्ने कुरा पनि भएन । बेडका कुरुवाहरु सुत्ने तरखर गर्दैछन् । एक मनले सोचे मानसिक रोगी पो रहिछन् कि क्या हो ? बेड नम्बर ३९को दाइ तीन महिनादेखि बिरामी पत्नीको उपचारमा हुनुहुन्छ । एक अर्थमा उहाँ यहाँको रैथाने जस्तै बन्नु भएको छ । एकजना बहिनी सबै बिरामीहरुको हालखवर सोध्ने, सहयोग गर्ने, निकै सहयोगी थिइन ति बहिनी, उनी सेल्फ डिफेन्डर रहिछन् । उनीसँग प्रायः कुरा भएपनि मैले नाम भने विर्सेछु । बेलुकाको समयमा मात्र म अस्पताल पुग्ने भएकोले त्यहाँको चाल चलनमा त्यति भिज्न सकेको छैन । अरुसँग बोल्न पनि के बोलौँ जस्तो हुन्छ । सबै बिरामी तथा आफन्तको पीडा प्रष्टै बुझ्न भने सकिन्छ ।
सधैं हतारको जिन्दगी तर अस्पतालमा हतार देखिएको छैन्, कुर्नुभन्दा अर्को उपाए पनि त छैन ।
अहिले आमा उठ्नु भएको छ । मैले पानी खुवाएँ । केही कुराकानी भयो, निमोनियाले समातेको रहेछ, चाढैँ निको भएर घर जानुपर्छ, लौ औषधि खाने बेला भएछ, खानुस भने । हल्का खाना खाइसक्नु भएको थियो । मैले औषधि खुवाएँ । साँझ क्रमशः ढल्कदैछ, कोही सुतिसकेका छन्, कोही बिरामीकै सुसारमा छन् । रात निसास्सिदो हुँदैछ । पल्लो बेडको बिरामी बहिनीका कोही पनि कुरुवा थिएनन् । उनी अवेर रातसम्म के के भन्दै थिइन् । भाइ रामकृष्ण खाना खाएर आएपछि मैले सोधे ति बहिनीले के गरेकी हुन् । टिकटक लाइभ गरेकी रे दाइ । म फिस्स हाँसे, टिकटकमा त्यति ध्यान नदिने मलाई के थाहा टिकटक लाइभ । अर्को कुरा अस्पत्तालमा मैले टिकटक नै बिर्सैछु । जमान अनुसार चल्न नजान्नु पनि मेरो कमजोरी होला भन्ने ठाने । रात छिप्पिदो छ, तपाई घर जानु भनेर भाइले भने पछि म घरतिर लागे । बाटोभरी ति बहिनीको कुरा सम्झिरहे तापनि मन भने आमा स्वस्थ कहिले हुनुहुन्छ भन्ने नै थियो ।
उता अर्को भाइ सुर्दशन चिन्तित छ, आमाको स्वास्थ्यलाई लिएर । केही दिनदेखि छोरा लोकेशसँग कुराकानी हुन सकेको छैन । उ पनि चिन्तित छ, म्यासेज गरिरहन्छ आमाको स्वास्थ्य जानकारी लिइरहन्छ । आमा बेडमा सुुतिरहँदा बाल्यकालको सम्झना फिल्मको रिलझैँ घुमिरहन्छ । आमाका दुःखका कथा लेख्दा ठूलै महाकाव्य नै बन्न सक्छ । जीवनका आरोह अवरोहका गन्थनै भनौ, दुःखसुख, मायामोहले जेलिएको हाम्रो नियति पनि यस्तै यस्तै हो । माया जतिसुकै गाढा भएपनि विछोडका पीडा पनि सहनु हाम्रो नियतिलाई कसैले रोक्न सक्दैन् । कहिलेकाँही लाग्छ,जीवनमा पर्ने दुःखसुख हाम्रै दौतरी साथी हुन् जस्तो पनि लाग्छ । हाम्रो जन्मसँगै हुर्केका न हुन ति पनि । आमासँगै बसिरहँदा कतिबेला कतिबेला मन भारी पनि हुन्छ, नर्सहरुले रगत निकाल्दा होस वा आमाले दुख्यो भन्दा मन अमिलो हुन्छ । मनमा गाँठो पारेरै भए पनि औषधि खाएपछि ठिक हुन्छ आमा भनेर सम्झाउने भन्दा अरु हामीले के नै गर्न सक्थ्यौं र ?
भोलीपल्ट ति बहिनीसँग कुराकानी भयो। तर टिकटकका बारेमा भने केही कुरा भएन । यो आ आफ्नो इच्छाको कुरा हो, तर बिरामी अस्पतालको बसाईमा भने अलिक भद्धा नै लाग्यो । अरुलाई डिस्टर्भ नहोस भनेरै उनी कम्मलभित्र पसेकी हुनुपर्छ । हामी कुराकानीकै विचमा उनको फोनमा घण्टी बज्छ । उताबाट सानो छोरा ममी कहिले आउने भनेर रुँदै थियो, छोरासँग उनी पनि गहभरी आँसु पारेर चाँडै आउँछु भन्दै थिइन् । उनी भन्दै थिइन मलाई धेरै रोगले गाँजेको छ । जिन्दगीको के भर छ र । पुलिसको जागिर,श्रीमान एकातिर छोेरा एकातिर आफू एकातिर, बिजोक छ दाजु । उनको कुरा सुनिसकेपछि पीडा भुल्नकै लागि उनको टिकटकमा रमाएकी रहिछिन् भन्ने लाग्यो । केही गीतमा मोडलिंङ पनि गरेकी रहिछन् । केही लोकगीत पनि गाएकी छु भन्थिन् । वास्तवमा भन्ने हो भने हाम्रो शरीर रोग नै रोगको अड्डा हो जस्तो पनि लाग्छ मलाई त । अखाध्य र अस्वस्थ्यकर खानपान र मिसावटले पनि होला, त्यसको असर हामीले भोगिरहेका छौँ । जे जस्तो भएपनि पेट भर्ने वहानामा हामी दिनहुँ विष सेवन गरिरहेका छौँ । उमेरको नदी नर्तदै कैयौँ मान्छे जीवनको नदी पार गरिसकेका हामीले देखिरहेका छौँ । हामी जताबाट जे जसरी कुरा गरे पनि राज्यसत्तासँग गएर ठोकिन्छ । विगतदेखि वर्तमानसम्मका शासकवर्गले जनतालाई दिएका भन्दा जनतासँग असुल गरेका फेहरिस्त धेरै देखिन्छन् । जता र जहाँ हेरे पनि विकृतिका चाङमात्र देखिन्छन् । जनताको स्वास्थसँग पनि खेलवाड भैरहेको छ, र त बग्रेल्ती खोलिएका अस्पतालहरुमा भीड देखिन्छ । जहाँ म छु यो सरकारी अस्पताल हो । मुख्यतः यहाँ प्रहरीलाई उपचार गर्न खोलिएको अस्पताल हो, यहाँ प्रहरीका परिवारलाई पनि सहुलियतमा उपचार हुँदोरहेछ । अहिले सबैको लागि खुला गरिएको रहेछ । तैपनि आम जनताभन्दा प्रहरीकै परिवार तथा प्रहरीको उपचार भैरहेको देखें । प्रहरीहरुको लागि नि:शुल्क तथा प्रहरी परिवारकोलागि केही रकम लाग्ने रहेछ ।
कान्छो भाइ नेपाल प्रहरीमा जागिरे भएको कारणले गर्दा आमाको उपचारको लागि यहाँ लगिएको हो । अस्पताल बसाईकै क्रममा आमा निकै गल्नु भएको थियो । करिब एकहप्तासम्म त राम्रै थियो, त्यसपछि भने उहाँको हाउभाउमा परिवर्तन हुन थाल्यो । अमेरिकामा वसोवास गर्ने भाइ डिल्लीराज पनि आमाको विग्रदो स्वास्थ्य अवस्थाको खवरले अमेरिकाबाट आइपुग्यो । अहिले हामी पाँचभाइ नै आमाको समिपमा थियौ । आमाको स्वास्थ्य रिपोर्ट ठीक आउँथ्यो तर स्वास्थ्य विग्रँदो थियो । डाक्टर र नर्सहरुको प्रयास राम्रै थियो । आमाको स्वाथ्यमा सुधारका संकेतहरु केही देखिएपछि, एकहप्ताको बसाई पछि अमेरिकातर्फ फर्कियो । कहिले आइसियू र कहिले नर्मलवार्ड गर्दै चौबीस दिन वितिसकेछ अस्पतालको बसाई । बिरामी गल्नु त छँर्दैछ, कुरुवाहरु पनि विरामी पर्दारहेछन् अस्पतालमा । यो नौलो कुरै भएन, आफूलाई संसार देखाउने जननीको लागि हामी जे जस्तो भोग्न पनि तयारै थियौ बस् आमाको स्वास्थ्य ठीक हुनुपर्यो । यसको लागि भाइ बासु, रामकृष्ण, भतिज विवेक तथा दिल्ली दत्तचित्त भएर लागेका थियौँ । आमाको स्वास्थको कामना गरेर अस्पताल हामीलाई सान्त्वना दिने आफन्त साथीभाइहरुको कमी थिएन । सान्त्वना भन्ने ठूलो कुरा रहेछ, आमामा पनि केही महसुस गराउँदो रहेछ । यसकारण पनि हामी आमा स्वस्थ हुनुहुन्छ भन्नेमा ढुक्क थियौँ । धेरै समय बसेपछि अस्पताल पनि आफ्नै घर जस्तो लाग्ने रहेछ । बिरामीहरु आउने जाने क्रम उस्तै थियो । बेड नं.३८ कि बहिनी केहीदिनमै डिस्चार्ज भएर घर लागिन । उनी भन्दै थिइन अब दुई महिनापछि आउँनु भनेका छन् डाक्टरले, यो जिन्दगीको के नै भर हुँदो रहेछ र, तैपनि अनेक रोग लुकाएरपनि हाँस्नु परेको छ । हो जीवन भनेकै यही नै हो । जीवनरुपी भवसागरमा डुबेपनि जे जस्तो पनि सहनुको उपाय हुँदैन ।
ती बहिनीको कुरा बास्तबमै हो जस्तो लाग्यो । त्रियासी वर्षसम्म आमा लामो समय अस्पताल बस्नु भएको रेकर्ड छैन । आमाको जीवनको कथाका पाटाहरुको साक्षी हामी स्वयंम् छौँ । जुनदिन देखि म आमाबुवाको दुःख बुझ्ने भए, त्यसदिनदेखि मैले कहिल्यै गुनासो गरिन। हामीले अस्पतलामा आमाका दुःखका पहाड बोक्ने कोशिस गरर्यो । ती बैनी गएपछि पनि मैले अस्पताल बसुन्जेल बेड नं.३८ हेर्न छोडिन् ।







