
बहस कार्यक्रमभित्रका बहस’
सुमन थापा ‘सङ्गम’
‘लघुकथामा बहस’ शीर्षक राखेर ममता मृदुलको कथामा बहस कार्यक्रमको पहिलो अध्याय ‘नारी स्रष्टा समाज’ले पुष ४ गते गरेको सो कार्यक्रममा मलाई निमन्त्रणा आएकोले म पनि सहभागी बनेकि थिएँ ।
नारी स्रष्टाहरूले निक्कै उत्साहका साथ बिभिन्न कार्यक्रम आयोजना गरिरहेका हुन्छन् । लघुकथामा बहस कार्यक्रम भिन्न र एकदम आकर्षक थियो ।
ममता मृदुलको ‘माया’ कथामा निराजन मौदगल्यको अभिनय जीवन्त थियो । सो कथाको अभिनयमा दर्शक मौन बनि चुर्लुम्म डुबेर अभिनयको रसास्वादन गरिरहेका थिए । दर्शकहरूले अभिनय सकिनासाथ गडगडाहट तालीले स्वागत गरेका थिए।
कार्यक्रममा डाक्टर पुष्करराज भट्टज्युलाई प्रमुख अतिथि बनाएर मंचमा आसन ग्रहण गराइएको थियो भने अरु अतिथिहरूलाई दर्शकदीर्घामै अघिल्लो तहमा राखिएको थियो । एकजना मात्र अतिथि मंचमा आसिन गराएर कार्यक्रम अघि बढाइएको थियो यसरी एकजना मात्र अतिथिलाई ड्यासमा राखेर कार्यक्रम गरिएको पनि राम्रै लाग्यो । हुन त दर्शकहरूबाट ड्यासमा एकजना मात्रै हुँदा एक्लो देखियो अरु अतिथि पनि अगाडी राख्नुपर्यो भनेको सुनेकी थिएँ । छोटो मिठो कार्यक्रममा यो तरिका राम्रै लाग्यो ।
लघुकथामा बहस कार्यक्रममा लघुकथाकार ममता मृदुलका कथाहरू कथाकार तुलसीहरि कोइराला , दिब्य गिरी, धनवन्तरी मिश्र कात्यायन, राम कुमार पण्डीत, शुक्रराज कुँवर, सुनिता निरौला पौडेल , शान्ता तिमिल्सिना, एन्जल निलु , अनुराग, नारायण ढुङ्गाना र विलोमका लघुकथा बिनोद नेपालले वाचन गरेका थिए।
एक कथाकारका कथा बिभिन्न वाचकहरूले वाचन गरेको यो शैली उत्कृष्ट थियो । एकल कार्यक्रम भनेर आफ्ना रचना आफैले वाचन गर्ने नभै यो लघुकथामा ममता मृदुलका लघुकथा हरू अन्य वाचकहरूले वाचन गरेका थिए। कथाहरू सामाजिक,पारीवारिक परिवेशमा अत्यन्त मीठा थिए । मलाई अलिक चित्त नबुझेको कुरा एकल कथा वाचनका निम्ति वाचकहरूलाई पहिल्यै जानकारी नदिइएको हो कि जस्तो लाग्यो किनकी कथाकारहरूले कथा वाचन गर्दा अल्मलिएको भान भएको थियो । ममता मृदुलका कथा वाचन पहिल्यै जानकारी भएको भए त्यसरी अल्मलिने अवस्था कम हुने थियो ।
कथा वाचनको बीचबीचमा दर्शकहरूलाई प्रश्न सोध्ने र अतिथिहरूले जवाफ दिने समय छुट्ट्याएर बहस चलाइएको थियो । सो बहसमा दर्शकबाट आएका प्रश्नको उत्तर दिन अतिथिहरू अशेष मल्ल, ध्रुब मधिकर्मी, भागीरथी श्रेष्ठ, आर आर चौलागाईं र लता के सीले आएका प्रश्नहरूका जवाफ दिनु भएको थियो ।
शुरुमै अतिथि अशेष मल्ललाई सोधिएको प्रश्न- ‘लघुकथा कहिले देखि शुरु भएको र छोटा कथालाई किन लघुकथा नै भनिएको ‘भन्ने प्रश्नको उत्तरमा अशेष मल्लले दिनु भएको उत्तर बिश्लेषण गर्ने क्रममा ‘कथा पहिला नेपालमा एकदम कम मात्र पत्रपत्रिका भएका कारण नेपालका भन्दा भारतका पत्रिकामा धेरै कथा पढिन्थ्यो ‘भारतबाट भन्ने शब्दले दर्शक दर्शकदीर्घामा सहि बुझाई नभएकोले एकछिन कार्यक्रम उत्तेजनामय बनेको थियो, कार्यक्रम बहसमा बहस राम्रै चल्यो । बिभिन्न प्रश्नहरू बिभिन्न अतिथिलाई सोधेर दर्शकहरू प्रष्ट बनेका थिए ।
कार्यक्रमको अन्तिममा प्रश्न गर्नेहरूलाई समेत मायाको चिनो उपहार दिइएको थियो । नारी स्रष्टा समाजले गर्न खोजेको कार्यक्रम निक्कै राम्रो छ तर हरेक कुरामा उपहार दिँदा उपहारलाई अलिक सस्तो बनाइयो कि भन्ने मलाई लाग्यो ।
छोटो मिठो कार्यक्रममा दिपक लोहनीबाट बिलोम कथा बारेमा प्रष्ट पारिएको थियो र बिनोद नेपालबाट विलोम कथा वाचन भएको थियो । कथामा बहस उत्कृष्ट कार्यक्रम रहेको थियो । कार्यक्रमको अन्तिममा फोटो सेसन चल्न थाले पछि म भने सुटुक्क निस्स्किएर खाजा खाईवरी फर्किएँ । नारी स्रष्टा समाजबाट आगामी दिनहरूमा पनि यस्तै राम्रा कार्यक्रमहरू शृजना भैईरहोस् शुभकामना छ ।








