
पुराना पुस्तक
कृति :नेपाली साहित्यको सेरोफेरो
कृतिकार : कपिल लामिछाने
विधा : समालोचना
विभिन्न समयमा विभिन्न स्रष्टा र तिनका कृतिलाई जोडेर लेखिएका समालोचनालाई समेटेर निकालिएको समालोचना कृति हो नेपाली साहित्यको सेरोफेरो । यसभित्र २१ वटा भानुभक्तदेखि बालजीवनी लेखन सम्मका विषयहरुमा समालोचकीय प्रस्तुतिहरु यसमा उधिनिएको छ ।समालोचकले भिन्न भिन्न समयमा लेखेका समालोचनाहरु समावेश गरेको बताएका छन् ।
समालोचनामा कृति भित्रका वस्तु र शिल्पको सन्तुलित प्रयोगलाई महत्व दिएर केलाएका छन् ।
प्रस्तुत नेपाली साहित्यको सेरोफेरो वि.सं.२०५८ सालमा पहिलो पटक प्रकाशनमा आएको हो ।
कृति :कविता सोच
समकालीन नेपाली कवि विचार र कविता
सम्पादक :राजेन्द्र पराजुली
विभिन्न चर्चित १८ जना कविका कविताको सन्दर्भमा उनीहरुको विचार सहित एक एक थान कविता समावेश गरेर कविता सोच तयार भएको छ । राजेन्द्र पराजुलीको सम्पादनमा बनेको यो कृति ति १८ कविका काव्यका मान्यताहरुलाई राखिएको छ । कविको चिन्तन र विचार यहाँ मज्जाले प्रकटीकरण भएका छन् । समकालीन कविता प्रस्तुतिका सबै खाले विचारहरुलाई यहाँ स्थान दिइएको छ । यसमा महिला तथा पुरुष दुबै कविहरुका कविताका सम्बन्धमा मान्यता र कविता समावेश गरिएका छन् ।
कवितामा कविका अनुभूतिहरु पोखिएका छन् ।
यस कृतिभित्र विमल निभा,अशेष मल्ल,गोविन्द वर्तमान,प्रमोद प्रधान,मञ्जु काँचुली,पुरुषोत्तम सुवेदी,दिनेश अधिकारी,सरुभक्त,श्यामल,गोविन्द गिरी प्रेरणा,नरेन्द्र बहादुर श्रेष्ठ,विप्लव ढकाल,बेञ्जु शर्मा,मंजुल,कणाद महर्षि, राजव, नकुल सिलवाल,राजकुमार के.सी विंसं..का कविता सम्बन्धि धारणा र कविताहरु समावेश गरिएका छन् ।
प्रस्तुत कविता सोचलाई नेपाल साहित्य गुठीले २०५० सालमा प्रकाशनमा ल्याएको हो ।
कृति :जब पूर्वाकाश उज्यालो हुन्छ
विधा :कवितासंग्रह
कवि :तारामणि दाहाल
विभिन्न विषयमा लेखिएका ४२ थान कविताहरुको संकलन जब पूर्वाकाश उज्यालो हुन्छ भित्र सरल भाषा र भावमा लेखिएका कविताहरु समावेश गरिएका छन् । भावनाका भुल्काहरु मिसाइएका कविताको प्रधानता भएका कविताहरु फूलजस्तै कोमल छन् । घाम,बादल,उज्यालो,दिन,आकाश जस्ता विषयमा कविका कल्पनाहरुले कोरिएका कविता मात्र नभएर छोरी बिम्बमा पनि कविता परेको छ । मायाप्रेममा पनि कविता आएको छ । भाव र विषयवस्तुलाई सही ढंगले समिश्रण गरिएका मीठा कविताहरु यसमा छन् । कृतिमा रचनाकालको हिसावले वि.सं.२०२७ सालदेखि विं.सं.२०३३ सालभित्र रचिएका कविताहरु यसमा परेका छन् ।
कवि तारमणि दाहालको यो कवितासंग्रहलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक विंसं.२०३५ सालमा प्रकाशनमा ल्याएको थियो ।







