धमनीमा विषादीको लेदो !
कृष्ण बाउसे
क्यान्सरको कमारो भएर भोगिरहेको छु मैले
मेरा बाजेले वन उजाडेर सुर्ती लगाएको सजाय ।
हुन त
बाबुले उब्जाउ खेतको छातीमा
चिता बनाएर चलाएको उद्योग पनि
त्योभन्दा कम कहाँ थियो र !
मैले ?
मैले त के बिराएको थिएँ र !
सहरका चोक चोकमा
टायर र आगोको समागम गराएर
सत्ताको प्रतीक आकाशलाई
अलिबढी गुम्स्याएको न थिएँ धुवाँमा !
अझ बढी केही गरेको भए
प्लास्टिकका झिरिमिटी डढाएर
विकासको विजयउत्सव मनाएको न थिएँ
सत्तासीन भएको मौकामा !
फेरि किन यी कलिला मुनाहरू राखिदै छन्
मैले नै ओगटेको भेन्टिलेटरको पालोमा ?
ए डाक्टर !
कृपा गरेर नभनिदेऊ मलाई
मेरा नातिनातिनाका धमनी र सिराहरूमा
रगतको सट्टा
धुवाँ , प्लास्टिकका कण र विषादीको लेदो मात्र
बगिरहेको छ भनेर !