
एकालाप
खेमराज पोखरेलद्धारा लेखिएका लघुकथाहरुको संगालो हो एकलाप । यस अघि ६ वटा कृति आइसकेका उनको यो सातौं कृति हो । यसकृतिमा ७१ वटा लघुकथाहरु समावेश गरिएका छन् ।
प्राय:जसो लघुकथाहरु अमेरिकी परिवेशमा लेखिएका छन् । विषयगत विविधताका लघुकथाहरु भएको यो कृतिमा विदेशी रहनसहन र संस्कृति,प्रवासी जिन्दगीका दैनिकी,महिला पुरुषका सम्बन्धमा आउने दरारले उत्पन्न हुने सम्बन्धविच्छेद,सामाजिक विकृति र विसंगतिहरु,यौनका विषयहरुलाई आफैं पात्र बनाइ पोखरेलले लघुकथा गुथेका छन् ।
जीवनको वास्तविकतालाई आफ्ना सृजना मार्फत ओकलेका कथाकार खुला समाजका पक्षपाति देखिएका छन् । प्रतिकात्मक चेतका व्यँगकथाहरु पनि यस कृतिमा देखिन्छन् । आकर्षक विषयवस्तु र आकर्षक तरिकाले कथाको उठान,बैठान र समापन लघुकथाका विशेषता देखिन्छन् । रोचक कथाहरुमा नयाँपन दिने पोखरेलको प्रयास छ ।
एकलाप लघुकथाकृतिलाई मोलुङ प्रकाशनले बजारमा ल्याएको हो ।
मेची मेरो महाकाली मेरो
रामप्रसाद पन्तको मेची मेरो महाकाली मेरो नियात्रोपन्यास हो । यसमा नियात्राहरुको झै अलग अलग शिर्षक नदिई एउटै ढाँचामा लेखिएको छ । यात्रावृतान्तलाई त्यसैगरी वर्णन गरिएको पाइन्छ । नेपाली भाषा,साहित्यलाई माया गर्ने एक साहित्यकारले धावकको रुपमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दौडेका विषयलाई मूल विषय बनाएर यो कृति सृजना भएको छ । यसमा साहित्यकार लक्ष्मण सापकोटाले संकल्प गरेको मेची महाकाली साहित्यिक दौडमा पन्त पनि सहभागी थिए ।
चाखलाग्दो छ कृति । कथा पढेजस्तो लाग्छ । उपन्यासको झल्को दिन्छ । दौडयात्राको दौरानमा देखेभेटेका साहित्यकारहरु,गरिएका गतिविधिहरु,मौसम,स्थानहरु सबैको विस्तृत जानकारी निजात्मक पाराले पन्तले दिएका छन् । विभिन्न स्थानमा गरिएका स्वागत,भेटघाट सबैको फेहरिस्त प्रस्तुति हो यो कृति । एउटा स्रष्टाको पवित्र इच्छा पुरा गर्न अर्काे स्रष्टाले दिएको साथ सहयोग हो यो कृति ।
यात्राको क्रममा भएका विभिन्न गतिविधि,साहित्यिक भेटघाट लगायतका कुराहरुको पोको फुकाउने सह्रानिय कार्य मेची मेरो महाकाली मेरो मार्फत पन्तले गरेका छन् ।
सरल भाषशैली,यात्राको क्रममा भोगिएका विभिन्न भोगाइहरुको सविस्तार तर मीठासयुक्त वर्णनले पाठकको मन खिच्ने कुरामा शंका छैन् ।
प्रस्तुत कृति मेची मेरो महाकाली मेरोलाई दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
गुनासो
डा.ध्रुर्व कुमारद्धारा लेखिएका लघुकथा कृति हो गुनासो । विषयगत विविधताका ४८ वटा लघुकथाहरु यसमा समावेश गरिएका छन् । उनी भारतको पटनामा बस्छन् ।
सामाजिक विसंगति,दैनिकी लगायतका समसामयिकतामा आधारित भएर लेखिएका लघुकथाहरुले यसमा स्थान बनाएका छन् । समाजका विभिन्न पक्षहरु कथानकता बनेर आएका छन् ।
भारतका परिवेश र नेपाली परिवेशका कथाहरु यसमा जोडिएका छन् । मनभित्रदेखि आएक श्वैरकल्पनाका कथाहरु पनि यसमा गुथिएका छन् ।
लघुकथा विधानको फ्रेममा सजिएका,उठान,बैठान र समापनमा बेजोड देखिएका ,सरल भाषशैलीमा खिपिएका गुनासोभित्रका लघुकथाहरु रोचक लाग्छन् । पुराना पुस्ता र नयाँ पुस्ताबिचको टकराव पनि छ ।
गुनासो लघुकथाकृतिलाई नारी स्रष्टा समाजले प्रकाशनले प्रकाशनमा ल्याएको हो ।








