भेषराज रिजाल
बादलडाँडा : नियात्रा लेखनमा नौलो प्रयोग
विश्वका जिज्ञासु पर्यटकहरूलाई नेपालका भूगोल, प्रकृति र संस्कृतिसँग चिनजान गराउने प्रसिद्ध पर्यटन व्यवसायी हुनुहुन्छ– राजेन्द्रमान डङ्गोल । पर्यटन व्यवसायीभन्दा साहित्यकार व्यक्तित्व झन् प्रखर छ उहाँको । नेपाली भूगोल, इतिहास र जनजीवनका पुष्पपत्रहरूलाई एउटै मालामा उनेर सुन्दर साहित्यिक रचना तयार पार्न उत्तिकै खप्पिस हुनुहुन्छ । र, त यात्राका पाइला, २०७६, पैतालामा हिउँ, आँखामा हिमाल, २०७८ र बाँदलडाँडा, २०८० जस्ता ओजिला नियात्रा कृतिहरू सिर्जना गरिसक्नुभएको छ ।
पाइलाका डोबहरूमा परेका अनुभूतिका छापहरू लिपिबद्ध गर्दा सिर्जना हुने साहित्यिक विधा नियात्रा हो । अचेल गैरआख्यान (ननफिक्सन) साहित्यको लोकप्रिय विधाको रूपमा स्थापित भइरहेछ– नियात्रा । नियात्रा विधाका सुन्दर कृतिहरूको अग्रपङ्तिमा पर्न सफल भएको छ राजेन्द्रमान डङ्गोलको पछिल्लो नियात्रा कृति– ‘बादलडाँडा’ । सोही कृति उपरको पाठकीय प्रतिक्रिया स्वरूप तयार पारिएको हो प्रस्तुत आलेख ।
बादलडाँडा नियात्रा सङ्ग्रहमा ६ वटा मूल शीर्षक अन्तर्गत २१ वटा नियात्राहरू सङ्ग्रहित छन् । २०७७ साल चैत्रदेखि २०७९ साल माघसम्मको अवधिमा वाग्मती प्रदेशदेखि गण्डकी प्रदेशसम्मका हिमाली, पहाडी लगायतका विभिन्न भू–भागमा यात्रा गर्दा रचित नियात्राहरू समयावधिको क्रममा मिलाएर राखिएको छ । २७६+१२ पृष्ठमा समेटिएको प्रस्तुत कृति भुँडीपुराण प्रकाशन, बागबजारबाट प्रकाशन भएको हो ।
एकदुई अनुच्छेदको मूल शीर्षक पढ्दा नै त्यसभित्र समाविष्ट नियात्राहरूको चिनारी हुन गई छुट्टै आकर्षणले तानिन्छन् पाठक । मूल शीर्षकभित्र पनि यात्रा अवधि र स्थानको सिलसिलेवार संरचनामा उनिएका छन् नियात्राहरू । नेपाली जनजीवन उपर विहङ्गम दृष्टि पु¥याउँदै जनचाहना र अभिव्यक्ति सहितका सम्वादहरू समावेश गरिएको छ अधिकांश नियात्रामा । मिथक, किम्वदन्ती, इतिहास देखि वर्तमानसम्मका समग्र पक्ष समेटेर तयार पारिएका नियात्राहरूले देश चिन्न चाहने नेपालीलाई फराकिलो दृष्किोण दिँदै नेपाली माटो र मुटुलाई माया गर्न सिकाउँछन् । संरचना र अभिव्यक्ति दुबै हिसाबले नियात्रा लेखनमा नौलो प्रयोग गर्नुभएको छ नियात्राकार राजेन्द्रमान डङ्गोलले । प्रस्तुत नियात्रा कृति बारे भन्नुहुन्छ उहाँ– “मैले यसलाई प्रकृति, मानव संस्कृति र इतिहासको धागोले तुनेको छु ।”
पहिलो मूल शीर्षक ‘तनहुँमा तन्मयता’ लाई यसरी चिनाउनुहुन्छ नियात्राकार– “पराशर ऋषि र महर्षि वेदव्यासको तपोभूमि । आदिकवि भानुभक्त आचार्यको जन्मस्थान । दक्षिण एसियाको ठूलो सिद्धगुफा भएको ठाउँ । छिम्केश्वरी, मिर्लुङकोट, मानहुँकोट, डङ्कने जस्ता डाँडा । सम्जुर, तनहुँसुर र बन्दीपुर जस्ता पुराना बस्ती । अनेक चिनारी छन् तनहुँका ।” यस मूल शीर्षक अन्तर्गत ‘चुङ्काको पे्रमिल आँगन’, ‘आकाससँग अङ्कमाल’, ‘गोरखनाथसँग किनेको छोरो’ र ‘सिरिसिरी हावा छिम्केश्वरी डाँडै’मा गरी ४ वटा नियात्रा रहेका छन् । मध्यपहाडी गाउँबस्तीका सुन्दर प्रकृति र घरआँगनका मोहक तस्वीरहरू खिचिएको छ यी नियात्राहरूमा ।
‘सुनको घर सुनकै छाना’ मूल शीर्षक भित्र मर्दी हिमाल आधार शिविरसम्म पुग्दाका स्वर्णीम अनुभूतिहरू छन् । पोखरा कटेर काँडे हुँदै कोकार, हुमाल, केउ, बादलडाँडा र एक्लेदेउराली पुग्दा सम्मको यात्रामा कोरिएका छन् अद्वितीय रोमाञ्चक पलहरू । यी नियात्राहरूमा जीवन जगत छ । निख्खर चोखा अनुभूति र कल्पनाहरू छन् । सत्यलाई अङ्गालेका अनुमान, किंवदन्ती, मिथक र जनबोलीहरू छन् । मान्छेलाई यात्रामा निस्कन इच्छुक र जागृत गराउनका लागि खास, विशेष, पूर्ण र पर्याप्त छन् यी नियात्राहरू ।
कोभिड महामारीपछि पदयात्रामा उतिसारो निस्कन नपाएका नियात्राकार डङ्गोलले सुइरेडाँडाको उकालोमा यतिखेर सम्झिनुहुन्छ आफ्ना दाजु एवं कवि आरएम डङ्गोलको कवितांश–
“जिन्दगीको बिर्सिसकेको उकालो
उकालोमै पुगेपछि सम्झिएँ” (कोकार अर्थात् कटकटिएको रगत, पृष्ठ १०६)
गौतम बुद्धले पनि त आफ्नो ज्योति आफै बनी बाटो पहिल्याउन संसारलाई आह्वान गर्नुभएको छ– अप्प दीपो भवः । डङ्गोलका यी नियात्राहरू उपर सर्सरी आँखा डुलाउँदा अनायास कल्पन्छु म पनि– अहो, एकदिन यस्तै जीवन यात्रामा निस्कन पाए !
बादलडाँडामा समाविष्ट नियात्राका हरफहरू नेपाली जातिका लागि माइलस्टोनमा कुँदिएका पथदर्शक अक्षर झैँ लाग्छन् । यी हरफहरूले मान्छेहरूलाई युगौँ युग सम्झाइरहनेछन् शान्ति र उन्नतिको सन्देश– “गुरुङ भाषामा ‘को’ भनेको रगत र ‘कार’को अर्थ सुकेको । भुरेटाकुरे राजाको शासनकालमा अक्सर लडाइँ भइरहन्थ्यो रे । एकपटकको लडाइँमा भने धेरै रगत बगेछ । दुबै पक्षको क्षति भएछ तर कसैको हारजित भएनछ । त्यसैले आइन्दा रगत नबगाउने र बगेको रगत सुक्न दिने सहमति भएछ ।” (कोकार अर्थात् कटकटिएको रगत, पृष्ठ ११३)
मर्दी हिमालको सामुन्ने ४२०० मिटरको उचाइमा पुग्दा देखिएका मर्दीका साथै अन्नपूर्ण, गंगापूर्ण, माछापुच्छ्रे, थर्पुचुली, सिंहचुली, गन्धर्वचुली, लमजुङ हिमाल आदि हिम शिखरहरूको बेजोड सुन्दरता वर्णित छ यस कृतिमा । अझ कुमारी हिमाल माछापुच्छ्रे र त्यसमै एकाकार झैँ लाग्ने मर्दी हिमालको विचित्र चित्रण पनि छ । हिमाल छेउछाउ पुगेर मात्र हुँदैन, ती मोहक हिमालको जीवन्त वर्णन जरुरी हुन्छ भन्ने हिमाली मनोभावनालाई राम्ररी बुझ्नुभएको छ नियात्राकारले । अनि लेख्नुहुन्छ– “मर्दीलाई हिजो बादलडाँडाबाट देख्दा आमाको छातीमा लिपिक्क टाँसिएको बालक झैँ लाग्थ्यो । आज भ्यु प्वइन्टबाट हेर्दा हाम्रै हातका चोरी औँला र बुढी औँलाका आकृति जस्तै लाग्छ । मर्दीकै सामिप्यताले माछापुच्छ्रे यति सुन्दर देखिन्छ ।” (एक्लेदेउरालीको झरिलो बिहान, पृष्ठ १२८)
साँच्चै माया बस्यो भने सुन्दर लाग्छ जहाँ जेसुकै र जोकोही पनि । तर यहाँ त हिमालको सुन्दरताको कुरा छ, हिमाली स्वच्छता र विशालताको सन्दर्भ छ । त्यसमाथि अझ अर्थ खुल्दा झन् थपिँदो रहेछ सुन्दरता । किंवदन्तीको सहाराले मर्दी हिमालीको अर्थ खुलाई दिनुहुन्छ नियात्राकार– “गुरुङ भाषामा ‘मर्’को अर्थ सुन र ‘धी’ को अर्थ छाना अर्थात् सुनको छाना । सूर्योदय र सूर्यास्तमा सुनौलो हुने भएकोले ‘मर्धी’ नाम रह्यो । अपभ्रंश हुँदै जाँदा ‘मर्दी’ भनिनथाल्यो ।” (एक्लेदेउरालीको झरिलो बिहान, पृष्ठ १३४)
‘खुलेको गगन, हाँसेको पुङ्गेन’ मूल नियात्रा शीर्षक भित्र ८ वटा नियात्रा समेटिएका छन् । यी नियात्राहरूमा काठमाडौँबाट शुरु भई गोरखा जिल्लाको नुब्रीभ्याली र चुमभ्यालीका अनेक ठाउँका दृश्य दुनियाँ दुरुस्तै उतारिएको छ । विदेशी सहयात्री केभिन, मोर्गेनलगायतका सहयात्री सँगै लार्के लाको उचाइ चुमेर नेपालमा पदयात्राका अनेक सामथ्र्य र सम्भावना रहेको सन्देश दिनुहुन्छ नियात्राकार । साम्दोसम्म सडक पुगेमा नुब्रीभ्यालीमा खच्चर युगको अन्त्य हुने सूचना पनि दिनुहुन्छ नेपालका योजनाकारहरूलाई ।
चट्टानी पहराको छातीबाट छङ्छङिएको इन्द्रेणी छर्ने छहरा देख्दाको खुसी पढेर रोमाञ्चित नहुने को होला र ? त्यो खुसी यसरी लिपिबद्ध छ नियात्रामा– “गहिरिएर सुन्छु झरनाको नाद । उस्तै उस्तै लाग्छ यसको छङछङ र सारङ्गीको धुन । कल्पना गर्छु– मान्छेको जीवन र झरनामा अन्तर पाउँदिनँ ।” (खच्चर धपाउँदै धुलो उडाउँदै, पृष्ठ १४५) नियात्राकार डङ्गोल नियात्राभर नेपाली गरिब बस्तीका दुख्ख दर्दमय कहानी पनि कहनुहुन्छ । बुढीगण्डकीको किनारमा अवस्थित सल्लेरी गाउँबारे बताउनुहुन्छ– “एकातिर खोलाले रेट्ने, अर्कोतिर पहिरोले पुर्ने । दोहोरो मारमा छ बस्ती ।” (ओडाल्यो ढिँडो, खायो हिँड्यो, पृष्ठ १५८)
चुम अर्थात् लुकेको उपत्यका जसलाई किमोलुङ वेयुल (शान्ति र खुसीयालीको उपत्यका) पनि भनिँदो रहेछ । चुम उपत्यकामा कुनै पनि जीवजन्तुको मारकाट नगरिने परम्परा रहेछ । यो परम्परालाई स्थानीय चुम्पा भाषामा श्याग्या परम्परा भनिँदो रहेछ । यो परम्पराले चुम भ्यालीको मात्र होइन, हिमाली मान्छेहरूको विशाल दीलको समेत परिचय दिएको छ । अझ भनौँ भने श्याग्याले समस्त मानव जातिलाई नै गर्वबोध गराएको छ ।
नामु्रङको बाटोमा डोरिएका यायावर लेख्नुहुन्छ– “नजरलाई पहाडको पल्लो छेउसम्म हुत्याउँदा गोरेटो त्यहीँ टुङ्गिए झैँ भान हुन्छ । त्यहाँ पुगेपछि फेरि त्यहीँबाट शुरु हुन्छ अर्को गोरेटो ।” अझ अनौठा पहाड देख्दा मनमा अनेक भाव उमार्नुहुन्छ– “सुगन्धित लाग्छ, पहाडको सुवास । सुखद लाग्छ, पहाडको मौसम । चञ्चल लाग्छ, पहाडको वायु । अहँ, म पहाडको सौन्दर्यलाई नकार्न सक्दिनँ ।” (थ्याङ्क यु नाम्रुङ, पृष्ठ १७१) प्रत्येक पटकको आउजाउमा लउ र छाकबासीले ज्यान हत्केलामा राखेर गर्नुपर्ने यात्रा देखेर विरक्ति भरिएको छ नियात्राकारमा– “यही जिल्लाका पहुँचवालाले भने जिन्दगीको बाटो फेरिसकेका छन् । उनीहरूसँग गुड्नका लागि फराकिला राजमार्ग र उड्नका लागि विशाल आकास छ । तर उत्तरी गोरखा भने सधैँ दुर्गम । हैट, कस्तो दुर्भाग्य !” (थ्याङ्क यु नाम्रुङ, पृष्ठ १७६)
भूकम्पपछि धापभन्दा माथिको ३७ नम्बर सीमास्तम्भसम्म पुग्ने बाटो भेटिएन रे । अझै ढुङ्गा खसिरहने सो क्षेत्रमा बाटो खोज्दै जाँदा एउटा गेष्ट हाउसका प्रोपाइटर नै भीरबाट खसेर बितेछन् । यो दुखद घटना थाहा पाएर नियात्राकार विष्मित हुनुहुन्छ– “भौगोलिक विकटताले पनि सीमा जोगिएको भन्ठान्छु । कम से कम सीमामा उभिएका पहाडहरू बसाइँ नसरुन् ।” (आँ रोङ्बा लेप्सोङ, पृष्ठ १८०)
साँच्चै, एकबारका घुमन्ते पर्यटकको मनमा समेत बिझाउने यस्तो विकटता सधैँ कसरी भोग्दो हो दुर्गम ।
यात्राभर नम्र र सहृदयी गाउँलेहरू भेटिन्छन् । उनीहरूसँग आत्मिय सम्वाद भएको छ नियात्राकारको । स्थानीयले पुङ्गेनका नामले पुकार्ने मनासलुको आँगनमा फुर्पूसँग भएको भलाकुसारीले पनि उत्फूल्लित हुन्छ पाठकको मन । फुर्पूबारे नियात्राकारको टिप्पणी सङ्लो पानी माथिको सुकिलो छायाँ जस्तै लाग्छ– “मुस्कानको मुहान हृदय हो । सच्चा मुस्कानले मनलाई आनन्दित गराउँछ, वतावरणलाई रसिक तुल्याउँछ । मौलिक हिमाली मुस्कान थियो उनको । यस्तो मुस्कान मानौँ कि पुङ्गेनको ।” (आँ रोङ्बा लेप्सोङ, पृष्ठ १८८) नेपाली स्वाभिमानी शिर उचालिरहेको त्यही पुङ्गेनबारे खोज गरेर निष्कर्ष निकालिएको छ प्रस्तुत कृतिमा– “पुङ्गेन गहनाले भरिएकी देवी हुन् । शिवको बासस्थान कैलाश पर्वत भएझैँ पार्वतीको बास्थान मनासलु । पार्वती बस्ने भएपछि शिव नहुने कुरै भएन । जहाँ शिव पार्वती, त्यहाँ नन्दी, … गणेश, … शृङ्गी, …भृङ्गी । … स्थानीय भाषामा पश्चिमलाई नुब्र भनिँदो रहेछ । कैलाश पर्वतबाट पश्चिम पर्दा रहेछन् गणेश हिमाल, शृङ्गी हिमाल, भृङ्गी हिमाल, ङादीचुली, मनासलु र हिमालचुली । उहिले कुताङ भनेर चिनिने क्षेत्रलाई अचेल नुब्र भनिन्छ ।” (स्यालाको सौहार्दपूर्ण सन्ध्या, पृष्ठ १९५)
तालिममा धेरै पसिना बगाए लडाइँमा रगत बगाउन नपर्ने कथन सम्झेर पसिना बगाउँदै गरेका उकाली ओरालीहरू, हृदयचक्र खुलाई शान्ति अनुभूत गर्नका लागि घुमाएका मानेहरू, खुसीको कारण सम्झेका उचाइहरू, गाउँ ताकेर झरिरहेका हिमनदी देखेर दुखेका मनहरू, भन्ज्याङ र हिमाल नियाल्ने दुर्बिनडाँडाहरू र चारधाम सम्झेर परिक्रमा गरेका हिमालहरूको बारेमा पढेर मोहित हुन्छु म । अत्यधिक चिसो र हिमपातको सम्भावना काखी च्यापेर बसेको किलर माउन्ट मनासलुप्रतिको नियात्राकारको प्रेम देखेर चकित पनि छु– “साम्दोका लागि पहिलो पाइलो सार्नैै लाग्दा आश्चर्यजनक ध्वनीका साथ सलामी दिन्छ मनासलु र उडाउँछ बारुदको धुवाँ जस्तै सेता हिमकण ।” (शान्त साम्दो रि, पृष्ठ २२२)
पोखरा हुँदै म्याग्दीको घोरेपानी, स्वाँत, चिस्तिवाङ हुँदै खोप्राडाँडासम्मको यात्रामा रहँदा नियात्राकारले सम्झनुहुन्छ म्याग्देली छोरा महावीर पुनलाई । उहाँ लेख्नुहुन्छ– “उनी नेपालका वैज्ञानिक । ग्रामीण भेगका जनताका लागि उनले गरेका सुकर्म अनगिन्ती छन् । उनी नहुँदा हुन् त खोप्राडाँडा ट्रेकिङ नै सञ्चालनमा आउने थिएन सायद । सामान्य खर्कलाई उनले बहुमूल्य हिरा बनाइदिए ।” (ढाँडखर्कमा मुढाको राप, पृष्ठ २२२)
बादल वर्षात्की जननी हुन भने वर्षात् जीवनको प्रारम्भ बिन्दु । वर्षात्, जीवन र सौन्दर्यको पर्याय हो– बादलडाँडा । यस्तै प्रकृतिसँग रमाउँदै साहित्यिक रचनामा गाउँले जीवनपद्धति, नेपाली कला र संस्कृतिलाई दुरुस्त उतार्नु नियात्राकार राजेन्द्रमान डङ्गोलको विशेषता हो । डङ्गोलकृत नियात्रा कृति ‘बादल डाँडा’ले पनि यहाँ उर्जाशील जीवनको अपेक्षा गरेको छ । यथार्थ परिघटनासँग जोडिएर आएका स्रष्टाका अनुभूति र कल्पना बिम्बले नै नियात्रा गतिशील बन्दछ । यस नियात्रा सङ्ग्रहभित्रका हरेक नियात्राका वाक्य, वाक्यांश र अनुच्छेदका गहन भाव, पे्रषित सन्देश र नवीन प्रयोगले उत्साहित, उत्फुल्लित र रोमाञ्चित बनाउँछ पाठकलाई । यात्रामा समेटिएका परिघटना, पात्र, विषयवस्तुलाई बिम्ब, अलङ्कार र उपमाका मिठासपूर्ण प्रस्तुतीको साँचोमा ढालेर नेपाली साहित्य भण्डारमा यति सुन्दर नियात्रा कृति तयार पार्नुभएकोमा नियात्राकार राजेन्द्रमान डङ्गोललाई हार्दिक बधाई छ ।