
समीक्षा
आमोई : नेपाली महिलाको गहिरो चित्रण
जुमन किरण
गोपाल सञ्जेलद्वारा लिखित ‘आमोई’ दुई वर्षअघि प्रकाशित उपन्यास हो । समाजको गहन आयामलाई उजागर गरिएको यो उपान्यास विशेष गरी पारिवारिक जीवनभित्रका मानवीय संवेदनाका विषयमा आधाररत छ । ७०/८० वर्ष अगाडिको काँठ क्षेत्रको पनि ग्रामीण जीवन, एक महिलाका भोगाई, सङ्घर्षका कथा गहिरो ढङ्गले प्रस्तुत गरिएको छ । काँठे भाषिकपनले कतै कतै छिचोलेर पढ्न सकस दिन्छ तर उत्तिकै मिठास पनि ।
नेपालको ऐतिहासिक प्रकाशन गृह साझा प्रकाशनले प्रकाशित गरेको ‘आमोई’ उपन्यासले सञ्जेललाई सफल लेखकको उचाइमा पुर्याएको छ । औपन्यासिक कृतिका हिसाबले समेत अब्बल छ । यसअघि सञ्जेलका उज्यालो बाटोतिर र निशब्दका शब्दहरू कवितासङ्ग्रह, मैँ हराएँ आज गजलसङ्ग्रह, मभित्र म खोजेर हाइकुसङ्ग्रह, पत्थर पगाल्दै निबन्धसङ्ग्रह र बिस्मात उपन्यास प्रकाशित छन् ।
‘आमोई’ उपन्यास एक सामाजिक कथावस्तु हो । ‘आमोई’ यस उपन्यासकी मुख्य पात्र हुन् । ‘आमोई’द्वारा त्यो बेलाको काँठ क्षेत्रमा बसोबास गर्ने ब्राह्मण समुदायकी महिलाको ग्रामीण जीवन, वनपाखा, घाँसदाउरा, पत्कर, पानीपँधेरो, पिठो, माटो, कमेरो, बजार अनि सामाजिक परम्परा, संस्कृति प्रकृति र समाजलाई मिठोसँग चित्रण गरिएको छ । परम्परागत नेपाली समाजको संरचनाभित्र रही छोरीबाट बुहारी, श्रीमती सासु, हजुरआमा हुने क्रममा एक महिलाको जीवन भोगाइका भावनाहरूलाई गहिरो गरी उतारिएको छ ।
सञ्जेलको लेखनशैली सरल भाषाशैली भइकन पनि संवेदनशील छ । पात्रहरूको मनोभावना र संघर्षपूर्ण जीवनलाई उनले यथार्थपरक ढङ्गले प्रस्तुत गरेका छन् । कथाको लय र भावनात्मक गहिराईले पाठकलाई कथामा डुब्न बाध्य बनाउँछ । मौलिक काँठे भाषा र शब्द चयनको प्रयोगले पाठकलाई यो कृति पढ्नमा थप नयाँ स्फूर्ति प्रदान गर्छ । यसमा समेटिएका कतिपय शब्दहरू अचेल लोप भइसकेका छन् । त्यतिबेला प्रयोगमा आउने सरसमानहरु पनि अहिले विस्थापित भइसकेका छन् । जस्तै लस्करी, छाते ढुङ्ग्री, माँठबरी, कर्कौली, चौँठी, गरियो आदि शब्दहरू त मैले यो कृति पढ्नुभन्दा अघि सुनेकै रहेनछु । यो उपन्यासबाट हाम्रा हजुरआमाहरूले बाँच्नुभएको समय बुझ्ने मौका पाएँ । म लेखककै जिल्लाबासी तर ओल्लो काँठको परेँ । तर उहाँले समग्र काँठको जनजीवनालाई यति मिहिन रूपमा प्रस्तुत गर्नु भएको छ कि चलचित्र हेर्दाको कथावस्तु पर्दामा उतारेजस्तै लाग्छ । केही खण्डहरूमा भने कथा अलि छिटोछिटो दौडिएको हो कि जस्तो लाग्यो । तर समग्रमा यो उपन्यासले पठनीयताको गुणस्तर कायम राख्न सफल भएको छ ।
‘आमोई’ नेपाली समाज विशेष गरी हजुरआमा पुस्ताकी निरक्षर महिला जो अहिलेको प्रविधियुक्त पुस्तासँग घुलमिल हुन असहज वातावरणले उकुसमुकुसको स्थिति छ । यो कथाव्यथा हर घरको हो । बल्लबल्ल रेडियोमा अभ्यस्त हजुरआमा पुस्ता टेलिभिजन हुँदै मोबाइल र इन्टरनेटसँग झुम्मिने पुस्ताको प्रभावलाई निफन नाफन गरी केलाइएको छ । निरक्षर पुस्ता र मोबाइल पुस्ताबिचको सम्मिलनलाई रोचक ढङ्गले कथा बुनिएको छ ।
छ/सात दशक अघिको पुस्ता र अहिले हामीले बाँचिरहेको पुस्ताबिचको भिन्नता बुझ्न यो उपन्यासले गज्जबले मद्दत गर्छ । यस उपन्यासको कथावस्तु साधारण देखिए पनि यसले गहिरो मानवीय अनुभूति, संघर्ष र सम्बन्धको अन्तरकथालाई समेटेको छ । ‘आमोई’ले बोकेको समयलाई मौलिक काँठे भाषामा बुनिएको यो एक जीवन्त औपन्यासिक कृति हो । त्यसैले यो ‘आमोई’ उपन्यास प्रत्येक आज पुस्ताले एकपटक पढ्नैपर्छ ।







