
प्रकाश घायल
१.
गाउँघर सुन्दर उस्तै लाग्छ अस्तव्यस्त शहर उस्तै लाग्छ
उमेरले नेटो काटेपनि जवानीमा जस्तो रहर उस्तै लाग्छ
कट्मेरो समय भएपछि ,सुख दु:खमा अनुवाद भएपछि
बेथिति मिसावट हुँदा अमृत होस् कि जहर उस्तै लाग्छ।।
२.
भरोसा गरेकाले कैँची,कप्टी पासा बोकेको देखियो
निहित स्वार्थको उत्कट अभिलाषा बोकेको देखियो
उज्ज्वल भविस्यको स्वर्णिम यात्राले लय लिदा नलिदै
हाँस्दै निस्कनेहरूले फर्किदा निराशा बोकेको देखियो।
३.
लटरम्म फल फलेको हाँगोले जमिनमा झुक्नुपर्छ
संसारको उज्यालो सूर्यले पनि बादलमा लुक्नुपर्छ
शक्तिशाली भएपनि घमण्डको महासागर तरेपनि
आखिर ! साउनमा उर्लने खहरे हिउँदमा सुक्नुपर्छ!
४.
माया गरेका हारूले मौका पाए डस्दा रहेछन्
चिल्लो घस्ने तिनैले मुटुमा छुरा धस्दा रहेछन्
दुनियाँमा माया र बिश्वास नै ब्यापार भएपछि
अरूलाई हालेको जालमा आफैं फस्दा रहेछन्।।
५.
हेर्नुस घमण्डको सगरमाथा कति धेरै अग्लिन्छ
भित्रभित्रै दवाउन नसकेपछि आँसु छल्किन्छ
तथ्यको नजरअन्दाज हुन्छ ईमान लिलाम हुँदा
नैतिकताको अभाव झन् पलपलमा खड्किन्छ।








