
काठमाडौं । कवितामा छुट्टै पहिचान बनाएका रमेश क्षितिजको कथा संग्रह ‘एउटा मायी नगरमा’ लोकार्पण भएको छ ।
शुक्रबार राजधानीको प्रज्ञा डबलीमा आयोजित एक समारोहमा उनका पिता पवित्रराज न्यौपानेद्वारा उक्त संग्रहको लोकार्पण गरिएको हो ।
लेखक कुमार नगरकोटीले नेपाली कथा लेखनमा क्षितिजको प्रवेश कथाको नयाँ क्षितिज भएको बताए । उनले कथा संग्रहबारे टिप्पणी गर्दै सामाजिक यथार्थदेखि अतियथार्थ, म्याजिकल रियालिज्मदेखि एआईको दुनियासम्मका १७ वटा फरक कथाले पाठकलाई छुट्टै मात दिन्छन् । कथा भन्ने शैली, लेखनको भाषा र पात्र, परिवेश र चरित्र चित्रण सर्वथा नौलो भएको उनले बताए ।
कथा पढ्नुअघि आफूले अति प्रेमले पढेको कविले कतै कथा पठनपछि निराश पो बनाउने हो कि भनेर डराएको पनि त्यस्तो नभएको उनले बताए । पढिसक्दा कथा संसारमा यसरी पनि प्रवेश गर्न सकिने रैछ र कथा यसरी पनि भन्न सकिने रैछ भन्ने बोध भएको बताए ।“ नेपाली आख्यान लेखनमा क्षितिजको प्रवेशले अर्को एउटा मानक खडा गर्नेछ,” उनले भने ।
कवितामार्फत लामो समय प्रेमका कुरा, करुणाका कुरा, अध्यात्मको कुरा लेखेका क्षितिजलाई पछि आफू बाँचेको समाजका कुराहरू पनि लेख्नुपर्छ भन्ने महसुस भयो । समाजका कुराहरू कवितामार्फत अभिव्यक्त गर्न सहज नभएपछि आख्यानमा पनि कलम चलाउनुपर्छ भन्ने सोच आएको क्षितिजको भनाइ छ ।
प्रस्तुत कथासँग्रहलाई बुकहिलले प्रकाशन गरेको हो ।





