अन्तरवार्ता
कवि लक्ष्मी ‘रेशमी’ साहित्यमा उदाँउदो नाम हो । उनी माता लक्ष्मीमाया श्रेष्ठ र पिता स्व.हरिबहादुर श्रेष्ठको कोखमा मिति २०३४ असार १४ मा काठमाडौंको गोकर्णमा जन्मिएकी हुन् ।उनले आफ्नो कविता कृति ‘ज्याकारान्डाको सहर’मार्फत सफल उडान भरेकी छन् । जीवनका तीन दशकदेखि शिक्षण पेसामा समर्पित भएर लागेकी छिन् ।
उनका कविताहरुले मान्छेका जीवनप्रतिको विशिष्ट भाव प्रष्फुटन गर्छन् । कविको आत्मबोध कवितामार्फत सार्वजनिकीकरण गर्छन् । लक्ष्मीले जे जति कुरा बोध गरेकी छन् ती कुराहरू घनिभूत रूपमा आफ्ना कवितामार्फत राख्ने गर्छिन् । कविताका अलावा विभिन्न पत्रपत्रिकामा लघुकथाहरु पनि प्रकाशित गरेकी लक्ष्मी सरल,विनयी र मृदुभाषी छिन् । नेपाल स्रष्टा समाजको मधेश प्रदेशकी संयोजक श्रेष्ठ रौतहटको चन्द्रपूर निवासी हुन् ।
(नेपाली साहित्यमा मोफसलको अवस्था लगायत साहित्यप्रतिको उनको दृष्टिकोण,आसन्न नेपाल स्रष्टा समाजको अधिवेशन सहित विभिन्न समसामयिक सन्दर्भको बारेमा इ खवरनेटका लागि प्रधान सम्पादक प्रदीप सापकोटाले गरेको कुराकानी )
१. नमस्कार । सन्चै हुनुहुन्छ ?
नमस्कार । सन्चै छु ।
२.आजकाल के मा व्यस्त हुनुहुन्छ ?
भर्खरै भारतको केही भागहरुको भ्रमण सम्पन्न गरेर आएँ । अब स्कूलकै नियमित काममा फर्केकी छु ।
३. मैले यहाँलाई लेखनीतिरको कुरा गरेको । आजकाल के लेख्दै हुनुहुन्छ ?
आजकल खास लेखनी फुरिरहेको छैन् । व्यस्ततामा छु । तथापि यस बिचमा केही थान लघुकथा र कविताहरु कोरेको छु ।
४. महिला साहित्य सर्जकको निम्ति प्रतिकूलता के के छन् ?
पारिवारिक सहयोगको अबस्था,सामाजिक,साँस्कृतिक पुरातनबादी सोच,पुरुषप्रधान समाज,महिलाको तेहेरो भूमिका,अवसरको कमि जस्ता चूनौति महिला लेखनीमा प्रतिकूलता हुन् । यसो हुनुमा मुख्य दोष चाहिँ हामी र हाम्रो समाजको चेतना नै हो । सामाजिक सँरचना र हाम्रा मूल्य मान्यताले पनि यसमा असर पारेको छ । महिलाहरु जिम्मेवारीले थिचिएका हुन्छन् । यसैले लेखनीमा महिला आउन गाह्रो पारेको छ । शिक्षा र आर्थिक आत्मनिर्भरताको अभावले पनि प्रतिकूल परिस्थिति निर्माण गरेको हुन्छ भन्ने मलाई लाग्छ ।
५.यहाँ मोफसलमा बसेर साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ । के छ त्यतातिरको साहित्यिक माहौल ?
मोफसलमा बसेर साहित्य सिर्जना गर्नु कठिन हुँदो रहेछ । यहाँ धेरै अबसरहरु हुन्नन् । त्यस्तै खासै आफुले पनि व्यस्तताले सिर्जना कर्ममा लागिरहन सकिएको छैन् । साहित्यिक माहौल पहिले पहिलेको भन्दा बढीरहेको छ । स्थानीय साहित्यकारहरु महिनामा एक पटक भेटघाट गर्ने गरेका छौं । बेला बेलामा कविता वाचन हुने गरेका छन् । विभिन्न विद्यालयले पनि साहित्यलाई महत्व दिएका छन् । मैले त मेरो विद्यालयमा साहित्यको निम्ति छुट्टै कक्षा नै राखेकी छु ।
६. तपाई साहित्यकारहरुको अग्रणी सँस्था नेपाल स्रष्टा समाजको मधेश प्रदेश सँयोजक पनि हुनुहुन्छ । त्यहाँ समाजका के कस्ता गतिविधि भएका छन् ? अब समाज कसरी साहित्यिक अभियानमा अघि बढाउने सोच छ ?
गत वर्ष हामीले २ वटा कार्यक्रमहरु गरेउँ । नेपाल स्रष्टा समाजको मधेश प्रदेशको संयोजकको हैसियतले भन्नु पर्दा हामीले बर्षको कम्तिमा एउटा वृहद कार्यक्रम गर्ने योजना छ । स्थानीय साहित्यकारहरुसँग कुराकानी भैरहेको छ । हामी उचित समयमा प्रभावकारी साहित्यिक कार्यक्रम गर्ने सोचमा छौ ।
७.तपाईलाई मन पर्ने विधा कुन हो र किन ?
मलाई कविता मन पर्छ ।लघुकथा पनि मन पर्छ । बोल्न खोजेका कुराहरु मिठासपूर्ण बिम्बहरु प्रयोग गरी अभिव्यक्त गर्ने सजिलो माध्यम हो कविता । फेरी कुनैपनि घट्नाले सिर्जना गर्ने आकष्मिक भाव व्यक्त गर्ने सजिलो विधा लाग्छ कविता।उता लघुकथा निमेषभरमै पढ्न सकिने,एक झमट प्रहारमै अभिव्यक्त गर्न खोजेको कुरा शक्तिशाली ढंगले दर्शाउने भएकोले मन पर्छ ।
८.यहाँको साहित्यप्रतिको बुझाई ?
मेरो विचारमा साहित्य जीवन,प्रकृति र दर्शनको एउटा सुन्दर संगीत हो । म त साहित्य आकासको तारामा पनि देख्छु । धर्तीमा भएका चराचुरुँगीको आवाज,नदीको कलकल बहाव, सुकेका पातको सर्याकसुरुक,फूलको सुगन्ध,मान्छेका जीवनका आनन्द,भोगाई,हावाको लहर, हर्षका भावहरु हरेक क्षेत्रमा साहित्य देख्दछु । त्यसैले साहित्य समाजको दर्पण भनिएको होला । साहित्यले मान्छेका मनमष्तिष्क छुन्छ । जीवन जीउने कला,सोच र व्यवहारमा साहित्यले परिवर्तन ल्याउन पनि सक्छ । साहित्य जीवन,जगत र प्रकृतिको सुन्दर संगीत भएकोले यसमा लय,ताल र सुर हुन्छ । भाव हुन्छ । कल्पना हुन्छ । भन्न सकिन्छ,साहित्य भनेको भाषाको माध्यमले जीवनका हरपक्षको अभिव्यक्त गर्नसक्ने प्र्बल भावहरुको सुन्दर र सजीव कलात्मक साधन हो ।
९ अलिकति समय सन्दर्भका कुरा गरें । आज स्रष्टा समाजको १८ औं साधारण सभा तथा १० औं अधिवेशन शुरु हुँदैछ । यसले नयाँ नेतृत्व चयनको कुरा पनि छ । यो बारेमा यहाँको धारणा के छ ?
देशकै साहित्यिक क्षेत्रको सक्रिय र धेरै स्रष्टाको साझा संस्था हो यो । झण्डै तीनसय सदस्य रहेको यो संस्थाको ऐतिहासिक साधारण सभा तथा अधिवेशन आज सम्पन्न हुन गैरहेको खुशीको कुरा हो । वर्तमान कार्यसमितिले यहाँसम्म ल्याएको छ । पुराना र नयाँहरुको समिश्रण भएको कार्यसमिति बनोस । जुन कार्यसमिति समाजको उद्देश्य हासिल गर्न कामयावी होस । योग्य र सक्षम व्यक्तिहरु नेतृत्वमा आउन यहि चाहाना छ मेरो । आउँदो कार्यसमितिले सबै प्रदेश,जिल्लाहरुमा साहित्यिक गतिविधि अगाडि लैजाओस । विद्यालय तहसम्म पनि साहित्यको प्रचार प्रसार र गतिविधि गरोस भन्ने अपेक्षा राखेको छु । अरुसँस्था भन्दा फरक छवि बोकेको समाज अझै अगाडि जाओस कामना छ ।
१०. अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको केही भए ?
यहाँलाई धन्यवाद । मोफसलका साहित्यमा लाग्नेलाई पनि आफ्ना कुरा राख्न अबसर दिनुभयो । यसैगरी तपाईको इ खबर नेटलाई पनि धन्यवाद छ । साहित्यमा पाइला चाल्दै गरेकाले पनि अबसर पाउने अवस्था सिर्जना गर्ने हो भने साहित्यले साँच्चै समाज परिवर्तनमा महत्वपूर्ण योगदान गर्नसक्छ । स्थानीय तहदेखि अझै भनुँ विद्यालयदेखि नै साहित्यिक गतिविधिहरु सञ्चालन गरेर साहित्यको बारेमा जानकारी दिने हो भने साँच्चै साहित्यमा उल्लेख्य योगदान हुनेछ । साहित्यलाई बचाउन नयाँ पिँढीलाई साहित्यप्रति जागरुक बनाउन सबैले आआफ्नो तर्फबाट पहलकदमी गर्न पर्दछ ।