नियात्रा
उचाई सत्ताइस सय मिटर !
उद्धव सापकोटा
छोटो समयमा हाईकिङ जाने योजना तय भयो । हाम्रो परिवारका जेष्ठदाइ र ठुलीभाउजुको ४९औं शुभबैबाहिक वर्षमहोत्सवको दिन फागुन २९ गते । धेरै ठाउँहरुको नाम लिएपछि ठेगान लाग्यो । घर नजिकैको धार्मिक स्थल फूल्चोकीमाईको दर्शन गर्न जाने । हाईकिङ पनि हुने,भगवानको दर्शन पनि । हाम्रो परिवारका छोराहरु, भतिजहरु र भान्जाहरुको नाम तयार भयो । त्यो ग्रुपमा म पनि सामेल भए । उनीहरुभन्दा अलि पाको कपाल फूलेको मै थिए । २०८२ साल चैत्र १४ गते शनिवारको मिति तय भयो ।
एकदिन दुईदिन हुँदै समयले डाँडो काट्दै गर्दा १३ गते हामीहरु त्यसैको तयारीमा लाग्न थाल्यौं । सबैलाई सम्पर्कमा रहन छोराहरुले मोवाईलमा ग्रुप बनाएका थिए । तर म चाहि त्यो ग्रुपमा जोडिएको छैन । कान्छो छोरा उपकारले ग्रुप प्रवन्धकको काम गर्छ । फेरी १३ गते नातिनी आशुकाको गुन्यूचोलो दिने दिन । हामी अलि हतारमा थियौं । यो एउटा दिमागलाई दुईतिर बाँड्नु पर्दा कताकता के नमिले जस्तो हुँदो रहेछ । नातिनीको गुन्यूचोलोको कार्यक्रम सकाएर हामीहरु बस्नको लागि गाउँमा पुग्नैपर्ने थियो । हाम्रो हाईकिङको स्टार्टप्वाईण्ट पनौती-१, स्थित डाँडागाउँको हाम्रो मुलघर थियो ।
हामी सबै हाईकिङ जान उत्साहित थियौं । तर त्यसको बाधक चाहिं मौसम भईदेलाकि भन्ने पिरचिन्ता सबैको मनमा थियो । मौसमविदहरुले पनि त्यस्तै भविष्यबाणी गरिरहेका थिए । हामीहरुलाई पनि हिम्मत हार्न हुँदैन जस्तो लाग्यो । आँटेको काम बीचैमा रोक्नु पनि राम्रो हुँदैन भन्छन् । मौसमलाई च्यालेन्ज गर्दै हामीहरु सबैजना मुलघरमा जम्मा हुन थाल्यौं । कान्छो छोरो उपकार र निरञ्जन भान्जा बाईकमा पहिले नै त्यता लागे । पानीले चुटेर घर पुग्दा मुसो भएछन । हामीहरु पनि पहिला त बाईकमा जाने शुरमा थियौं । तर प्रकाश भतिजले गाडीमा जाने भनेपछि मन त्यसै रमायो । गाडीमा जानेमा म, भतिज प्रकाश, सरोज, उमेश, उज्जल छोराहरु थियौं ।
समय साँझ परिसकेको थियो । कुन बाटो जाने होला द्धिविधामा थियौं । लाकुरी भञ्ज्याङ्गको बाटो बनाउदै छ भन्ने थाहा थियो । यो बाटो बन्न लागेको कयौं दशक बितिसके । के गर्नु नेपालको विकास । पनौतीको बाटो जाँदा धेरै लामो दुरी र सूर्यविनायक धुलिखेल सडक निर्माण कार्य भईरहेकोछ । त्यो बाटो जाने कुरा पनि भएन । हामीहरु सूर्यविनायक, घ्याम्पेडाँडा, रानीकोटको छोटोबाटो हुँदै गाउँसम्म गयौं । उपत्यकाबाट निस्कदा दर्के झरी पर्दै थियो । बाईकमा जानु परेको भए के हालत हुन्थ्यो होला ।
२०८२ साल चैत्र १३ गते देशमा ठुलै परिवर्तन भएको दिन थियो यो । यो वर्ष देशले ठुलो क्षति बेहोर्नु पर्र्यो । २०८४ सालमा हुनुपर्ने संघीय संसदको निर्वाचन जेन-जी आन्दोलनको कारणले २०८२ सालमा नै बेहोर्नु पर्र्यो । २०८२ भदौ २३ गते १९ जना बिद्यार्थीहरु र २४ गते को आन्दोलनमा कयौं सर्वसाधारणले ज्यान गुमाउनु पर्र्यो । तत्कालीन कांग्रेस र एमालेको गठबन्धन सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पदच्युत हुनुपर्यो ।
त्यस पछाडि शुशिला कार्की प्रधानमन्त्री भईन । देश निर्वाचनमा गयो । परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुईतिहाई मत ल्यायो । राजनीति शुरु गरेको छोटो समयमा नै बालेन्द्र शाह प्रधानमन्त्री भए । उनले शपथ लिएको दिन थियो त्यो । उनले सपथको लागि साईत जुराएर १३ गते रामनवमीको दिन १२:३४ बजे राष्ट्रपति समक्ष सपथ खाएका थिए । नेपालले मधेशी मुलको ३६ बर्षको युवा प्रधानमन्त्री पाएको थियो ।
यहि मेसोमा गाडीमा पनि यिनै राजनीतिका कुराहरु गर्दै, अव चाहीँ यी युवाले देश हाँक्ने भए । अन्याय, बेथिति,बिसङ्गति र भष्ट्राचारको अन्त्य हुने बिश्वासमा हामीहरु घरमा पुगेका थियौं । घरमा पुग्दा भतिज सुमन र निरोज भान्जाले कुखुराको भाले सुधारी सकेका थिए । बेलुकाको खाईपिइ रमाईलो गरी सुतियो । अव बिहान हिड्न तयारी गर्दैगर्दा सिमसिमे पानीले हामीलाई स्वागत गर्दै थियो । बाटोमा खाजाको तयारी गरेका झोला तीन चारवटा थिए । केटाहरुले त्यो बोके । बाटोमा ठुलो पानी आएमा के गर्नेहोला भन्ने चिन्ता पनि लाग्न थाल्यो । कसैले प्लाष्टिक किन्न जाने कुरा भयो । तर त्यो सम्भव थिएन । त्यति सबेरै कुनै पसल खुल्ने समय भएको पनि थिएन ।
हिड्न लागेका हामीहरु सिमसिम पानी आएको देखेर पछि हट्न थाल्यौं । मैले यस्तो पानीमा बस्नु हँुदैन हिडौं भनेर आँट गरे पछाडि सबै मेरा पछाडि लागेर हिड्न थाले । आखिर पानी रोकियो । अब हामी बिस्तारै उकालो लाग्दैछौं । बिभिन्न कुराकानी चलिरहेछन एकआपसमा । डाँडागाउँबाट पारीघर हुँदै हामी छापाडाँडो पुग्छौं । तलतर्फका भौगोलिक आकृतिहरु मज्जाले दृष्टिगोचर हुन्छ । जुनभूमिमा म ५५ वर्ष अगाडि पहिलो पाईला टेकेको थिए । मेरो बालाबयको जीवन बिताएको थिए । धर्ति उहि छ, भौगोलिक आकृति उहि छ । गोरेटो बाटोको ठाउँमा कच्ची मोटर बाटोहरु बनेको छन ।
२०८१ साल असोज १२, १३ गते परेको आरीघोप्टे पानीको कारण पहिरोले हाम्रो गाउँलाई पनि क्षतबिक्षत पारेको थियो । पहिरोले निउरेखोलाकी माईलीआमा र पाटापारेका दुईवटी बहिनीहरुलाई दैवले खोसेर लग्यो । हुने हार दैव नटार भयो । दैवलाई पनि किन यतिसाह्रो रिस उठेको होला हाम्रो गाउँप्रति ।
हामी माथि माथि उकालो लाग्दैछौं । गन्तव्य २,७०० मिटरको उचाईमा पुग्नुछ । जुन उपत्यकाको सबैभन्दा अग्लो डाँडा हो । सबै दाजुभाइहरु यसरी सँगै हिड्न पाउदा खुशीले गदगद छन । हाम्रा हजुर बाले किनेको निगालेभन्ज्याङ्ग पाखोबारीको किनारबाट गोरेटोबाटो छ । निगालेभन्ज्याङ्गको ठाडो उकालो जानु परेको भए ज्यानलाई अझै सास्ती हुने थियो । तर बिकल्पमा कच्ची मोटर बाटोबाट पैयूँभन्ज्याङ्गमा पुग्छौं । उबेलामा पैयूँभन्ज्याङ्गमा आईते तामाङ्ग दाईको घर थियो । अहिले भग्नाबशेषमात्र बाँकी रहेछ । यसले पुरानो याद दिलायो । हामी बनमा जाँदा त्यहि घरमा पानी खान जान्थ्यौ । आईतेनी भाउजुले धेरै तल निउरेखोलाको मुहानबाट गाग्रीमा बोकेर पानी ल्याउथिन् । खानेपानी दिन पनि गाह्रो थियो । कति दुस्खका दिन थिए त्यतिबेला ।
हामी मुल बाटैबाटो पैयूँभन्ज्याङ्गमाथिको बाटोको मोडमा पुग्छौं । एक लाईनमा बसेर पूर्वउत्तर दिशातर्फ गोचर गर्छौ । त्यहाँबाट कुशादेवी, घिमिरेगाउँ, थापागाउँ, नागीडाँडा, पनौती, ठाडोबाटो, बन्दै गरेको प्रहरी प्रतिष्ठान मजाले देखिएको छ ।
उहि छन उकाली, ओराली अनि पहाडका थाप्लाहरु । घरबाट माथि गुर्दुम डाँडासम्म पुग्ने कच्ची मोटर बाटो बनेको छ । पहिला हामीहरु बाआमा र गाउँलेहरु लर्को लागेर घाँस दाउरा गर्न त्यहि बनमा जान्थ्यौं । उनीहरुले पोल्टामा मकैभटमास राखेका हुन्थे । पिउने पानी हँुदैनथ्यो । त्यो खाजा घाँसकाटी सकेपछि एकैठाँउमा बसेर खाईन्थ्यो । कति मिठो हुन्थ्यो । आजभोली त्यो समयको जस्तो अग्र्यानिक खाजा कहाँ पाउनु ।
गुर्दुमडाँडामा पुगेपछि हामीहरु केहि बिश्राम गर्छौ । लगेको अण्डा, चना, केरा खान्छौं । केहि छिनको बसाईले शरीरलाई आराम मिल्छ । हामी यात्रालाई निरन्तरता दिन्छौं । तीखाथुमको उकालो चढ्छौं । यहाँबाट हाइकिङको लागि भनेर सिढीँहरु बनाइएको छ । यसको श्रेय पनौती नगरपालिका नम्वर २ वडाका अध्यक्ष पुरुषोतम अधिकारीलाई जान्छ । समग्र बिहावरक्षेत्रको पर्यटन पूर्वाधार बिकासको लागि उहाँले धेरै प्रयत्न गर्नु भएको छ । यो प्रयत्नले अझै पुगेको जस्तो लागेन हामीहरुलाई । तर,उहाँलाई धन्यवाद दिनैपर्छ ।
साइक्लिङ्गको लागि पनि फूल्चोकी ट्रेलको बिकास भएको रहेछ । यिनै कुराहरु गर्दै हामीहरु सानुनाङ्गे, ठुलनाङ्गे पुग्छौं र एक एक गिलास कोल्डड्रिङ्स पिउछौं । नेपालमा जेन जी आन्दोलन पछि भर्खरै भएको चुनावबाट प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाहको कार्यकाल केहि शंका र बिश्वासमा आधारित कुराकानी गर्छौ । देशमा रहेका युवाको भविष्य अब यिनैको हातमा छ भन्ने कुरामा एकमत हुन्छौं ।
आज मौसमले च्यालेन्ज गरेको छ । पानी बिरबिराउन थालेको छ । बनमा पहिला हामी सानो छदाँ कति ठुला ठुला खस्रु र बाँझका रुख थिए । अहिले सबै लोप हुनलागेको देखेर मन कटक्क खान्छ । केहि अगाडि पुगेपछि देउरालीमाईको थान आउछ । सबैले शीर झुकाएर नमस्कार गर्र्छाै । अनि देउरालीमाईलाई पाती चढाउँछौं
सिमसिम पानी परेको आवाज रुखका पातहरुले दिएका छन । एउटा ट्रष्ट बनाएको रहेछ त्यहाँ । सबै जना त्यसभित्र ओत लागेर बसेकाछौं । केहि साथीहरु आगो बाल्न तम्सन्छन तर पानीले सबै दाउरा पत्करहरु ओसिएकोछ । आगो सल्कन गाह्रो भएर धुवाँ पुत्पुताएको छ । सबै साथीहरु जम्मा भएपश्चात अगाडि बढ्ने निधो गर्छौ । केही बाटो ओरालो लागेपछि तेरपिन हिडरे ढोकाको मुखमा पुग्छौ । त्यहाँबाट उकालो शुरु हुन्छ । त्यहाँ धोद्रो परेको एउटा खस्रुको ठुलो रुखबाट हामीहरु जेष्ठताक्रममा पालैपालो छिर्छौ । यो पनि एउटा मजा नै हो ।
यो सिंढीदार उकालो चढेर हामीहरु गोदावरीबाट जाने मोटर बाटोलाई भेट्टाउछौं । अहिले हामी सबैको मन प्रफुल्ल भएको छ । लगभग हाम्रो लक्ष्य पुरा हुन केहि क्षण लाग्नेछ । मुलबाटैबाटो घुमेर उत्तर दिशा तर्फबाट फूल्चोकीकाईको थानमा पुग्छौं । आज आकाश त्यति खुलेको छैन । बादलहरु मडारीई रहेको देखिन्छ । त्यहाँबाट दक्षिण ललितपुरतर्फका केहि अग्ला डाँडा र बनपाखाहरुको मज्जाले दृश्यावलोकन भएको छ । हामीहरु दर्शन गर्न लाईनबद्ध भएकाछौं ।
त्यहाँ ढुङ्गैढुङ्गा भएको फूल्चोकीमाईको थानमा दर्शन गर्छौं । त्यहाँ चढाएको केरा, जेरी, स्याउ खान्छौं । भोकाएको पेटलाई यस्ले केही त्राण दिन्छ । त्यसमध्ये सबैभन्दा जेष्ठ भएकोले सबैलाई जलले सेचन गरी टिका लगाई दिन्छु । फूल्चोकीमाईसँग सबै देशबासीको शान्तिको कामना होस भनि आशिर्वाद माग्छु ।
आकाश खुलेको समयमा यहाँबाट काठमाण्डौ उपत्यका, काभ्रेपलाञ्चोक र दक्षिण ललितपुर जिल्लाका धेरै स्थानहरु नजर गर्न सकिन्छ । फूल्चोकीमाईको दर्शन सकेर हामीहरु मुलबाटोमा ओर्लन्छौ । त्यहाँ केहि खाजा खान्छौं । केहि क्षणको आराम पछि हामीहरु ओरालो लाग्न शुरु गछौं । लखतरान भएको शरिर घरमा आईपुग्दा शरीर गलेको छ ।