
पुराना पुस्तक चर्चा
कृति : चोर
उपन्यासकार : मोदनाथ प्रश्रित
विधा : नानी उपन्यास
लोकप्रिय प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रित जेलमा बस्दा वि.सं.२०२७ सालतिर किस्नलाई भेटेका थिए । किस्न जो एउटा तामाँग ठिटोले आफु जेल पर्नाको कारण सविस्तार प्रश्रितलाई बताउँछ र त्यसै सविस्तारलाई उनले उपन्यासमा सजीव ढंगले उधिनेका छन् । किस्नेको भावनालाई जस्ताको तस्तै उतार्ने उनको प्रयत्नको कारण यो नानी उपन्यास जन्मिएको हो ।
उपन्यासको मूलपात्र किस्नेको मुखवाट उसको सम्पूर्ण जीवन र परिवारको उपन्यास लेखिएको छ । किस्नेको परिवारको अवस्था,स्थानीय साहुले गरेकोआमाप्रतिको दुव्र्यवहार,उसका परिवारका दुख हण्डरले नेपाली समाजको तत्कालिन परिवेशको जीवन्त चित्रण गरेको छ । अन्यायको विरुद्ध जुध्न दिने उपन्यास प्रगतिवादी धारले ओतप्रोत छ । त्रिभुवन विश्वविद्यालयमा पनि यो उपन्यास पाठ्यक्रममा समावेश गरिएको छ ।
वि.सं.२०४४ सालमा पहिलो पटक यो उपन्यास प्रकाशित भएको हो ।
कृति : कुहिरो
कृतिकार : प्रदीप ज्ञवाली
विधा : कथासँग्रह
राजनीतिक व्यक्तित्व प्रदीप ज्ञवाली साहित्यमा पनि चर्चित नाम हो । वीस वर्षका अन्तरालमा लेखिएका १७ वटा कथाहरुको संग्रह हो कुहिरो । मान्छेका जीजीविषाहरु,उज्यालोका चाहहरु,यसका लागि गरिएका संघर्षका पलहरु कथाहरुका विषय बनेका छन् ।
ज्ञवालीले दावी पनि गरेका छन् यी कथाहरु सबै वास्तविक जीवनका सन्दर्भहरुबाट लिइएको हो । कथाका सबै पात्रहरु समाजका यथार्थ जीवनका हुन् । भुइँमान्छेका दुख र पीडाहरु कथामा चित्रण गरिएका छन् ।
प्रभु मलाई भेडो बनाउ देखि हेडलाइनसम्म १७ थान कथाहरु मध्यम कदका छन् । एकै बसाईमा पढिसकिने छन् । अत्यन्तै सरल भावमा लेखिएका कथाहरुको भाषा मीठो छ ।
प्रस्तुत कुहिरो कथासँग्रहलाई विवेक सिर्जनशील प्रकाशनले पहिलो पटक वि.सं.२०६० सालमा बजारमा ल्याएको हो ।
कृति : शिशिरमा फुलेको गुराँस
कृतिकार : डा. युवराज संग्रौला
विधा :उपन्यास
वौद्धिक व्यक्तित्व प्रा.डा. युवराज संग्रौला । मनमा लागेको कुरा निर्धक्क बोल्छन् र लेख्छन् । परिवर्तनको हुटह्ुटी भएको एउटा शिक्षकको मनोविज्ञानलाई उतारेका छन् उपन्यासमा । उनको सिर्जनाको क्यान्भासमा रामै जम्ने क्षमता उपन्यासले वताएको छ । नेपाली समाजलाई उज्यालो देखाउने कृति हो यो । राष्ट्रिय अस्मिताको पक्षमा लाग्ने युवराजको यो उपन्यास समग्र शिक्षक हेमन्त भएर प्रस्तुत भएको छ । यस उपन्यासमा विभिन्न समसामयिक विषयवस्तुहरुमा शिक्षक र विद्यार्थीहरुको वार्तालाप,छलफल,भेला आदिमा गरिएका खँदिला तर्कहरुले भरिएको छ ।
सर्सर्ती हेर्दा डा.संग्रौलाको अनुभूतिले भरिएको छ उपन्यास । पात्रह्रुको सामाजिकीकरणमा न्याय गरेका छन् उपन्यासकारले । विभिन्न कथानकता बुनोट उस्तै राम्रो छ । सम्बादहरु लामा लामा छन् । तर जोशिला कुरा छन् । यथार्थको कसीमा घोटिएका छन् । परिवर्तनको हुटहुटी भएकाहरुले पढ्नै पर्ने कृति बनेको छ ।








