काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको गरिमा र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिए । सर्वोच्च अदालतमा पदबहाली गर्दै उनले मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउनेतर्फ लाग्ने बताए।
‘नेपालको न्यायालय लयमा फर्केको छ, त्यो गौरवको विषय हो।’ अगाडि उनले भने, ‘अदालत पारदर्शी छ, म न्यायको पवित्रतालाई उचाइँमा पुर्याउन प्रयत्न गर्नेछु, न्यायिक सुधार अनिवार्य सर्त हो, त्यसको विकल्प छैन, आन्तरिक रुपमा पनि कटिबद्ध र प्रतिबद्ध छौँ, न्यायपालिकाको साख र विश्वसनीयता अझै बढाउन लाग्नेछु।’
नेपालको न्यायालयको ३२औं प्रधानन्यायाधीशका रुपमा राउतले करिब १८ महिना न्यायालयको नेतृत्व गर्नेछन्।