काठमाडौं । सार्वजनिक संस्थाको सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठअर्याल लाइ सफाइ दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, खुसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग गत असार ९ गते उनीसहित १२ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो असुल गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले माग दाबी गरेको थियो।
अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठले मिलेमतोमा भ्रष्टाचार गरेको ठहर गरेको छ।
राजस्व अनुसन्धान विभागसँग सम्झौता नै नगरी र खरिद आदेश समेत प्राप्त गरेबेगर नै स्टिकर छपाइका लागि प्रिन्टसेल प्रालिसँग सम्झौता गरेको देखिएको हो। पौडेल र श्रेष्ठले आपसी मिलेमतो गरी पेस्की भुक्तानी गरी सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको आदेशमा उल्लेख छ।
उनीहरूले यसरी प्रिन्टसेललाई बदनियतपूर्वक अग्रिम पेस्की गरेको देखिएको भन्दै अदालतले उनीहरूले भ्रष्टाचार गरेको ठहर गरेको हो।