
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानकी प्रधानमन्त्री सानाए ताकाइचीबीच शिखर भेटवार्तापछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलनमार्फत द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने घोषणा गरेका छन् ।
यस क्रममा प्रधानमन्त्री मोदीले ताकाइचीलाई आफ्नो ‘बहिनी’ भन्दै स्वागत गरेका छन् । मोदीले ताकाइचीको यो भारतको पहिलो भ्रमण भएको उल्लेख गर्दै जापानकी पहिलो महिला प्रधानमन्त्रीको स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले भारत र जापानबीच आर्थिक सुरक्षालाई सुदृढ बनाउन संयुक्त मार्गचित्र तयार भएको जानकारी दिए ।
उनका अनुसार सेमिकन्डक्टर, क्वान्टम प्रविधि, उन्नत सामग्री तथा आपूर्ति शृङ्खलालाई मजबुत बनाउने विषयमा दुवै देशबीच सहकार्य हुनेछ भने भारत-जापान बायोग्यास पहलअन्तर्गत भारतभर एक हजार बायोग्यास तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरिने घोषणा गरिएको छ । यसबाट गोबरधन योजना, ग्रामीण अर्थतन्त्र र रोजगारी प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
दुवै देशले ब्याट्री, हरित हाइड्रोजन, आणविक ऊर्जा, रक्षा, लगानी, अनुसन्धान, नवप्रवर्तन तथा हिन्द-प्रशान्त क्षेत्रीय सहकार्य विस्तार गर्ने विषयमा पनि सहमति जनाएका छन्। मोदीले आगामी वर्ष भारत र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुने अवसरलाई विशेष रूपमा मनाइने बताए ।
जापानकी प्रधानमन्त्री ताकाइचीले भारत र जापान एसियाका दुई ठूला लोकतान्त्रिक शक्ति भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय कानुनको सम्मान, शान्ति र स्थिरताको पक्षमा दुवै देश मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले धम्की, दबाब वा बल प्रयोग गरेर परिस्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको संयुक्त रूपमा विरोध गरिने बताइन् ।
ताकाइचीले संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले आफूलाई ‘बहिनी’ भनेर सम्बोधन गरेको उल्लेख गर्दै दुवै नेताले भाइबहिनीको सम्बन्धजस्तै आत्मीयताका साथ दुई देशबीचको सम्बन्धलाई अघि बढाउने सहमति गरेको बताइन् ।
उनले जापानको स्वतन्त्र तथा खुला हिन्द–प्रशान्त नीति र भारतको महासागर पहल एकअर्काका परिपूरक रहेको भन्दै समुद्री सुरक्षा सहकार्यलाई उच्च प्राथमिकता दिने निर्णय भएको जानकारी दिइन् । यसबाट हिन्द-प्रशान्त क्षेत्रमा शान्ति, स्थायित्व र सुरक्षित समुद्री आवागमन सुनिश्चित गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
यसअघि भारत-जापान संयुक्त आर्थिक मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आगामी १० वर्षभित्र भारतमा जापानको लगानी १० ट्रिलियन येनभन्दा बढी पुर्याउने लक्ष्य राख्नुपर्ने बताए । उनले अटोमोबाइल क्षेत्रमा प्राप्त सफलतालाई अब जहाज निर्माण, हवाई सेवा, यातायात व्यवस्थापन तथा अन्य औद्योगिक क्षेत्रमा समेत विस्तार गरिने बताए ।
मोदीले प्रतिभा आदानप्रदान, सीप विकास, प्राविधिक तालिम, अनुसन्धान, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा पनि सहकार्य बढाइने जानकारी दिए । साथै संस्कृति, पर्यटन र सिर्जनात्मक अर्थतन्त्रमा समेत साझेदारी विस्तार गरिने उनको भनाइ थियो ।
ऊर्जा सुरक्षालाई पनि दुवै देशले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मोदीले तेल आपूर्ति संकटजस्ता चुनौतीको सामना गर्न नयाँ पहल सुरु गरिएको बताए । उनका अनुसार ब्याट्री, हरित हाइड्रोजन, आणविक ऊर्जा तथा स्वच्छ ऊर्जाको विकासमा सहकार्य बढाइनेछ ।
मोदीले आर्थिक सुरक्षालाई साझा सुरक्षा र ऊर्जा रूपान्तरणलाई साझा अवसरका रूपमा लिइएको उल्लेख गर्दै भारत–जापान नयाँ पुस्ताको गतिशीलता साझेदारी ढाँचा पनि शुभारम्भ गरिएको जानकारी दिए ।







