
इन्द्र यष्टि, इन्द्र कील (य: सीं) त्रयोदश भुवन र वर्षाथालक
यष्टि ( यः सी)
चैत्य एवं स्तूपको प्रमुख अङ्गमध्ये महत्त्वपूर्ण अङ्ग मानिने इन्द्र यष्टि र वर्षाचालकको प्रचलन किन, कहाँ, कहिलेदेखि प्रचलनमा आए भन्ने कुरो स्तूपसम्बन्धी अन्वेषण गर्न चाहने व्यक्तिले बुझ्नु नितान्त आवश्यक देखिन्छ । वैदिक हिन्दू एवं बौद्ध सबै धर्म संस्कृतिले यष्टिसँग बलियो नाता, अभिन्न परम्परा तथा आस्था राख्दै आएको बुझिन्छ । वैदिक कालमा यष्टिलाई यूप यष्टि (मौलो), इन्द्र यष्टि, इन्द्र कील (यसी) आदि नामले पुकारिन्थ्यो । त नेपालीले वर्षेनी यही इन्द्र यष्टिलाई विश्वध्वजोत्थानं भनी बैशाख एक गते मेष संक्रान्तिका दिन भक्तपुरमा ठड्याउने परम्परा चलाउँदै आएका छौं भने त्यसको पाँच महिना पछि भाद्र पूर्णिमा अगाडि द्वादशिका दिन इन्द्रजात्राका बेला काठमाडौंका वसन्तपुरमा इन्द्रध्वजोत्थानं भनी इन्द्रकील ठड्याउने कार्य गरी आए पनि यसको वास्तविक अर्थ बुझेको देखिदैन । नेवारी भाषामा इन्द्र यष्टिलाई य:सीं भन्ने प्रचलन छ । यति मात्र होइन, पहिला पहिला आ-आफ्नो देशको राज्यको सीमाना छुट्याउन पनि चारैदिशामा इन्द्र यष्टि ठड्याउने प्रचलन थिए । मल्लकाल मात्र होइन शाहकालसम्म पनि यस्ता इन्द्र कीलहरू ठंहिटी क्वाबहालबाट ठमेल छेत्रपाटी जाने कवंचा ध्वाका भनिने चौबाटो निर पहिले द्वार भएको ठाउँमा र ट्यङ्गल नरदेवी क्षेत्रमा पनि काठमाडौं शहरको सीमाना टोक्न यष्टि गाडेका थिए भन्ने बुढापाकाहरूको भनाई छ । रानी पोखरीको सँगै भोटाहिटीको सिधा बाटोमा पनि यस्तै यः सी थिए । फेरि यही यष्टि मध्येकै एउटा जीर्ण भएर ढलेको यष्टि (य: सी) लाई थाय्मरु, ख्यूंल भन्ने ठाउँको पूर्वपट्टिको घरको भित्तामा सुरक्षित राखी त्यसको एक टुप्पालाई मात्र बाहिर तिर प्रदर्शन गरी वास्या द्य: (दाँत नदुखाउने देवता) भनी प्रचार गरेको पाइन्छ । दन्त दुख्दा यसमा कीला ठोकि पूजा गर्ने प्रचलन अद्यापि चलिआइरहेको नै छ ।
वस्तुत: यसरी बैशाख महिनामा यष्टि (मौलो) गाड्ने प्रचलन हामीकहाँ मात्र होइन युरोपियनहरू कहाँ पनि भएको कुरा युरोपियन, ब्रिटिस साहित्य, उपन्यास पढ्दा यदाकदा हामीलाई ज्ञान हुन्छ । युरोपियनहरू पनि मे महिनामा “मे पोल” भनी लामो खम्वा गाडी त्यो खम्वाको चारैतिर युवा युवतीहरू नाच्दै गाउँदै एक अर्कोसँग हाँसखेल गरी प्रणय बन्धनमा पनि बाँधिने प्रचलन थिए । हुनत अरु देशमा के कुराबाट प्रभावित भई यी यष्टिको प्रचलन आए भनी थाहापाउनु भन्दा वर्षेनी आफूले चाडवाडका रूपमा मानी आएको यष्टि ठड्याउने चाडसँग इन्द्रजात्रा एवं विस्केट जात्रा पनि किन मनाउँछौ बुझ्नु आवश्यक छ । यस इन्द्र जात्रामा टोल टोलमा विमान ब्वयेगु भनी चारवटा खम्बा गाडी त्यसमाथि खट जस्तो बनाई इन्द्र तथा हाथुद्य: ( यलम्बर) को मूर्ति राखी पूजा गर्ने प्रचलन छ । यसरी यष्टिसँग इन्द्रको प्रत्यक्ष सम्बन्ध भएकोले यष्टिलाई इन्द्रकील, इन्द्र यष्टि भन्ने प्रचलन चल्यो होला भन्ने अनुमान लगाउन सकिन्छ । बुद्ध भगवान् स्वयंले पनि बैशाली नगरमा अत्यन्त भयंकर महाभूकम्प हुँदा इन्द्रकीलको मुनि उभी हात उठाई चारै दिशामा क्रमश: फर्की साहस्र प्रमर्दनी नामको धारणी पाठ गरी देशोपद्रव शान्त गरेको कुरा पंचरक्षा सूत्रका साहस्र प्रमर्दनीसूत्र र महावस्तुमा पाइनुले बौद्धकालीन समाजमा पनि इन्द्रकीलप्रति ठूलो गौरव र आदर भाव रहिआएको कुरा ज्ञात हुन आउँछ । जसअनुरूप हामी बौद्धहरूले यही यष्टिको संस्कृति एवं परम्परालाई अहिलेसम्म पनि मान्दै आएका छौं । यो एउटा वैदिक संस्कृति र बौद्ध संस्कृति बीच रही आएको सुमधुर सम्बन्ध एवं परम्पराका द्योतक तत्त्व सम्झनु पर्छ । अथवा बौद्धहरूले आफू भन्दा अघि समाजमा चलिआएका राम्रा परम्परा, पद्धति एवं जीवन शैलीलाई कहिल्यै विरोध गर्दैन भन्ने कुराको ज्वलन्त प्रमाण हो भन्ने पनि महसुस हुन्छ । क्रियासंग्रह पंजिकाका रचयिता कुलदत्त आचार्यले पृष्ठ २५९ मा “आकारजां परमार्थधीं स्वभावां यष्टीकां विभाव्य” यष्टीलाई आकारबाट उत्पन्न परमार्थ ज्ञान स्वभावको तत्व भनेर बुझ्नु भन्ने संकेत गरेको छ ।
वैदिक युगको सुरु सुरुमा यूपलाई बलिरहेको ज्वाला वा सूर्यको किरण भन्ने अर्थ लगाइन्थे । अत: बौद्धहरूले पनि यही सिद्धान्तबाट प्रभावित भई
-४० पं. दिव्य वज्र- पञ्चरक्षा कथासार पृष्ठ २३
– ४१. महावस्तु अवदान पृष्ठ २३८

बलिरहेको अग्निको ज्वाला जस्तै युप आकारको प्रस्तर मूर्ति (चित्र नं. २९) बनाई दशबल भगवान् बुद्धको प्रतीकात्मक पूजा गरेको प्रस्तर मूर्तिहरू पनि उपलब्ध छ ।
तर यही यष्टि (यूप) लाई आगोको ज्वाला, सूर्य वा आकाश थाम्ने स्तम्भ संझदै आएको वैदिक सभ्यता उत्तर वैदिक कालसम्म आइपुग्दा आर्य सभ्यतासँग मिलेर यष्टिलाई आपस्तम्भ ( पानीको खम्बा) भन्ने कल्पना गरियो र यसैको माध्यमबाट पृथ्वीमा वर्षा हुने भएर यसमाथि वर्षाथाली राख्ने प्रचलन चैत्य निर्माण संवन्धी विधिविधान ज्ञाता विद्वान्हरूले पनि कार्यान्वयनमा ल्याएको देखिन्छ । यसरी यूपको विकसित रूप यष्टिलाई स्वर्ग-मर्त्य, आकास-पृथ्वी, सत्-असत्, न्याय-अन्याय मात्र होइन, दुर्भिक्ष हटाइ सुभिक्ष ल्याउने प्रतीकको रूपमा पनि यष्टीको प्रयोग गरिएको कुरा एकदम रोचक छ ।
यी उपर्युक्त स्तूप निर्माण विधिमा र वैदिक कालमा मृतआत्माहरूको शान्ति कामनागरी यूप ठड्याई हिरण्य गर्भ (गर्भगृह, अण्ड) बनाइ मरेपछि दश दिनसम्म पूजा तर्पण दिने प्रचलनमा धेरै नै समानता कायम रहँदै आइरहेको आभास हुन्छ भने बौद्ध धर्ममा इन्द्रयष्टिको स्थान वेदमा जस्तै महत्वपूर्ण रहँदै आएको कुरा पनि निर्विवाद नै मान्नुपर्छ । बौद्धकालीन समाजले वैदिक कालदेखि चलि आइरहेको यष्टि, यसको प्रयोगलाई अंगालेर यसलाई निरन्तरतानै प्रदान गरेको देखिन्छ । प्राचीन समयमा शहर शहरबीच सीमा निर्धारण गर्नु पर्यो भने बलियो र लामो खम्बा (इन्द्रयष्टि) शहरको चारै दिशामा गाडिन्थे । त्यसैले बौद्ध दर्शनमा सम्यक् संबुद्ध, महान् तपस्वी, ब्रह्मचारीहरूलाई हावाले धाल्न नसक्ने, हुरीले फाल्न नसक्ने इन्द्रयष्टि जस्तै सुप्रतिष्ठित महापुरुष भनी तुलना गरी तारिफ गरिएका बौद्ध साहित्यका पंक्तिहरू यहाँ उल्लेख गर्नु उपयुक्त छ जस्तै:
यथेन्द्रकील: पृथ्वी प्रतिष्ठिता, चतुर्दिशं वायुभिरप्रकम्यः ।
तथोपमा: पुद्गल सन्ति सङ्घे, ये आर्य मार्गस्य वरस्य दर्शिनः ॥४२
४२. महावस्तु अवदान पृष्ठ २३८
यसरी भगवान् बुद्धले बौद्ध धर्म ज्ञाता महापुरुषहरूलाई तारिफ गरेका यी पचरक्षासूत्र तथा महावस्तु अवदानबाट उधृत रतन सूत्र ( स्कन्ध सूत्र ) का पंक्तिबाट तत्कालीन समाजमा इन्द्र यष्टि (इन्द्रकील) प्रतिको धारणा व्यक्त हुन्छ । त्यस्तै सुप्रसिद्ध पालिग्रन्थ मिलिन्द प्रश्नमा पनि ग्रन्थकारले बुद्ध धर्मका ४३ शब्द प्रयोग गरेको पाइनुबाट पनि मजबुत पक्षलाई तारिफ गर्दा “धर्मयूप” यूप ( इन्द्रकील) को महत्व झल्कन्छ ।
आर्य संस्कृति तथा सनातन धर्म दर्शनमा विश्वास गर्ने लिच्छवि राजाहरूको शिलापत्र मानदेवको चांगुको स्तम्भमा पनि यूप (यष्टि) शब्दको प्रयोग भएको पाइन्छ । “यूपैश्चारुभिरुच्छ्रितैर्व्वसुमती पित्रा ममालङ्कृता अर्थात मेरा बुवाले राम्रा अग्ला मौलाहरूले पृथ्वीलाई सिंगार्नु भएथ्यो भन्ने वाक्य मानदेव प्रथमका चांगुका स्तम्भलेखनमा पाइनुबाट यूप (यष्टि) को महत्व वैदिककालमा मात्र होइन लिच्छवि कालमा पनि रहेछ भन्ने प्रमाणित हुन्छ । त्यसबेला यष्टिलाई विजयस्मारकको रूपमा गर्व साथ प्रयोग गरिंदो रहेछ भन्ने कुरा पनि स्पष्ट हुन्छ ।
इन्द्रकील (इन्द्र यष्टि) को सन्दर्भमा वृत्तासुर र इन्द्रको एउटा रोचक कथा ४४ उल्लेख गर्नु उपयुक्त देखिन्छ । “विश्व ब्रह्माण्ड सृष्टि हुनुभन्दा अगाडि, सृष्टिका उषाकालतिर सत् असत्, धर्म पाप, देव मनुष्य, स्वर्ग पृथ्वी भन्ने भेद्भाव थिएन । जसले गर्दा एकताका स्वार्थी र पापीहरूका कारणले विश्व ब्रह्माण्डमा ठूलो अराजकता छाएका थिए । ऋग्वेद अनुसार त्यतिबेला पानीको उपल्लो भागमा स्वर्ग र पानीको तल्लो भागमा पृथ्वी रहेको छ भन्ने धारणा जनमानसमा व्याप्त थिए । अतः आकाशबाट वर्षा हुने पानी र समुद्रको नुनिलो पानीमा पनि फरक थिएन । कारण समुद्रको पानी नै बादल भएर वर्षा हुने हो भन्ने उनीहरूको धारणा थिए । वृत्तासुरले यी दुबै पानीमा आफ्नो कब्जा गरी देव तथा मर्त्यलोकमा ठूलो हाहाकार मचाइदियो । देवताहरूलाई पापी
४३. मिलिन्द प्रश्न पृष्ठ ६०
४४. धनवज्र- लिच्छविकालका अभिलेख पृष्ठ १२ (प्र. ने.ए.अ. केन्द्र त्रि. वि.)
४५. गौतम वज्र – Symbolism of Ashokam Pillars a reapraisal in the light of textual and visual evidence paper presented at the 24th annual confrence South Asia, Madison Wisconsin,
USA
दानवहरूसंग मिलेर संझौता गरेर बस्न सान्है गान्हो भयो । अनि वृत्तासुरसंग ती इन्द्रले वृत्तलाई मारी विजय हासिल गरी सकेपछि यष्टि ठड्याई स्वर्ग, मर्त्य (पृथ्वी), सत् असत् एवं धर्म पाप भन्ने भेद्भावको प्रार्दुभाव गरे । आकाशबाट वर्षने अभ्रवर्षा र खोला नाला एवं सागरको पानीमा पनि विभेद द्वयतता स्थापना गरिदिए । यही कारणले गर्दा यष्टिलाई इन्द्रयष्टि अर्थात् सत् असत् आदिको सीमाना छुट्याउने स्तम्भको रूपमा आदरसत्कार गरिनुको साथै आकाशबाट धने पानी र पृथ्वीको पानी (खोला, समुद्र) मा पनि यष्टि ठड्याई भिन्नता कायम गरिदिए ।
अथर्ववेद १०७८ अनुसार यष्टिलाई कुनै ठाउँमा सत् असत्, स्वर्ग, मर्त्य मात्र होइन अदृश्यरूपले आकाश थामिरहेको स्तम्भका रूपमा पनि वर्णन गरिएको छ भने कुनै ठाउँमा देउटाहरूको निवास स्थानको रूपमा पनि वर्णन गरिएको देखिन्छ ।” अत: चैत्यका सन्दर्भमा पनि यष्टिको प्रयोजन स्वर्ग मर्त्य, सत् असत् छुट्याई दिने स्तम्भ एवं देवताका निवासका रूपमा नै लिनु धेरै उपयुक्त देखिन आउँछ । किनभने स्वयम्भू पुराणको चैत्य लक्षण विधिले यष्टिमा राखिएका त्रयोदश भुवन तेह तल्ला चक्रावलीमा चतुर्महाराजदेखि सुदर्शनेश्वर सम्म तेऱ्हतहका देवगणहरूको निवास रहेको कुरा प्रस्तुत गरेको पाइन्छ फेरि क्रियासमुच्चयमा मृत व्यक्तिको राग द्वेष र बुद्धत्वको ख्याल गरी संबुद्ध र वज्रधरको धातु गर्भ चैत्यमा १, ३, ५, र १३ चक्रावली, राख्ने चर्चा गरिएका छन् भने श्रावकको धातु गर्भ चैत्यमा सात चक्रावली प्रत्येकबुद्धकोमा नौ वटा चक्रावली र अवितरागको धातु गर्भ चैत्यमा कर्णिका वा पद्मकर्णिका मात्र राख्ने कुरा माथि उल्लेख भइसकेका छन् ।
त्रयोदश भूमि (भुवन)
यी उपर्युक्त चक्रावलीलाई कुनै ग्रन्थले छत्र भनी उल्लेख गरेका छन् भने कुनैले भुवन, भूमि पनि उल्लेख गरेको पाइन्छ । यी एघाह, बाहौं शताब्दीका बौद्ध ग्रन्थहरूले छत्र, भुवन, भूमि भनी देवताहरूको निवासस्थानका रूपमा मानिआएका तत्त्वहरू (चक्रावलीहरू) लाई हाल आएर बौद्ध विद्वानहरूले महायान दर्शन अनुसार बोधिसत्वले पूर्ण गर्नुपर्ने दशभूमि र त्यसमा अरू तीन भूमि समन्तप्रभा, निरूपमा र ज्ञानवती (वज्रभूमि) समावेश गरी हेवजतन्त्र र एकल्लवीर तन्त्रको त्रयोदश पटल अनुरूप वज्रयान दर्शनले त्रयोदश भुवन वा भूमिको परिकल्पना गरी चैत्यमा पनि यी त्रयोदश भूमिहरू प्रयोग गरे भन्ने कुरा प्रचारप्रसार गरेको देखिन्छ ।
बोधिसत्व चर्या सम्बन्धी महायानी सूत्र ग्रन्थ दशभूमिक सूत्रमा प्रथम भूमिलाभ गरेको बोधिसत्व जम्बुद्वीपेश्वर सरह, द्वितीय भूमि लाभ गर्ने चक्रवर्ती राजा सरह, तृतीय भूमि लाभ गर्ने इन्द्र समान, चतुर्थ भूमि लाभ गर्ने बोधिसत्व सुथाम देवलोकको देवराज समान, पंचमी भूमिलाभ गर्ने तुषित भुवनको देवराज सरह, षष्ठ भूमि लाभ गर्ने बोधिसत्व सुनिर्मित देवराज समान, सप्तम भूमि लाभ गर्ने वशवर्ती देवराज सरह अष्टम भूमि लाभ गर्ने बोधिसत्व साहस्र लोक धातुका महा ब्रम्हा सरह, नवम भूमि लाभ गर्ने बोधिसत्व द्विसाहस्र लोक धातुका महाब्रम्हा समान र दशम भूमि लाभ गर्ने बोधिसत्व महेश्वर देवराज समान हुन्छ भनी देवत्व प्राप्ति कै वर्णन गरेको देखिन्छ । यी भए दश भूमिकं सूत्र ७. दुरङ्गमा अनुसारको दश प्रकारका बोधिसत्व भूमिहरू जस्तै- १. प्रमुदिता, २. विमला, ४. अर्चिष्मती, ५. सुदुर्जया ६. अभिमुखी, ३. प्रभाकरी ८. अचला ९. साधुमती १०. धर्ममेघा । यी दश भूमिमा वज्रयानदर्शनले समन्तप्रभा, निरुपमा र ज्ञानवती यी तीनवटा भूमिहरू थपी त्रयोदश भूमिको प्रचार गरियो ।
फेरि महायान दर्शनको पूर्वरूप मानिने द्वितीय शताब्दीको स्थविरवादी ग्रन्थ महावस्तु अवदानमा४६ एउटा छुट्टै मान्यता र अर्थलाई यथार्थरूपमा व्यक्त गर्न दशवटा बोधिसत्व भूमिको परिकल्पना गरेको पाइन्छ । ती दश भूमिमा पनि क्रमश: प्रथम, द्वितीय आदि भूमिमा पुगेका बोधिसत्वहरूमा हुनुपर्ने आचार, शील, करुणा, अध्याशय ध्यान आदिको पनि विशद वर्णन गरिएका छन् । महाकाश्यप अर्हतले काट्यायनलाई दशबोधिसत्व भूमि बारे दिनु भएका यी उपदेश अनुसार ती दश भूमिहरू यसप्रकार छन्-
१. दुरारोह, २. वद्धमाना, ३. पुष्पमण्डिता, ४. रूचिरा, ५. चित्तविस्तरा, ६. रूपवती, ७. दुर्जया, ८. जन्मनिर्देशो, ९. यौवराज्यत,
४६. महावस्तु अवदानं पृष्ठ ५६

१०. अभिषेकत ।
यसरी स्थविरवादबाट विस्तारै महायानको विकास हुँदा दश भूमिको परिकल्पना गरिए पनि स्थविरवादले अष्टभूमि मात्र मानि आएको कुरा निम्नलिखित अभिसमयालंकारबाट उद्धृत श्लोकबाट अझ स्पष्टसँग व्यक्त हुन्छ-
यथा श्रावकयाने ऽष्टमूमयः परिदीपिता ।
महायानेऽपि तदवद् दशधा बोधिसत्वभूः ॥
अर्थात् श्रावकयानमा स्रोतापत्ति आदि र यसको फलका भेदले लोकोत्तर भूमिहरू आठ वटा मानिए जस्तै महायानमा पनि दशवटा भूमिहरू वर्णन गरेको कुरालाई विर्सनु हुन्न भन्ने संकेत हामी यस श्लोकबाट बुझ्न सकिन्छ । श्रावकयान अनुसारका अष्टभूमि वा अष्टपुदगल यसप्रकार उल्लेख गरेको पाइन्छ-
१. स्रोतापन्नफलप्रतिपन्न, २. स्रोतापन्न, ३. सकृद्गामिफलप्रतिपन्न ४. सकृदागामि, ५. अनागामिफलप्रतिपन्न, ६. अनागामि, ७. अर्हत्फलप्रतिपन्न ८. अर्हत् ।
यसरी स्रोतापत्ति आदिमार्गमा लागेका र स्रोताप्रतिपन्न आदि फल प्राप्त गरेका पुद्गल (व्यक्ति) का भेदले श्रावकयानमा अष्टभूमिको वर्णन गरिएको कुरा नैसर्गिक नै देखिन्छ
शान्तिकर आचार्यले मञ्जुदेव आचार्य (मञ्जु श्री भगवान् ) को स्मृतिमा वहाँको अस्थिधातु राखी पुच्छाग्रचैत्यं निर्माण गर्दा अतीत र प्रत्युत्पन्न तथागतको धातु चैत्यमा नवचक्र मात्र प्रयोग गरेको कुरा निम्न श्लोकबाट व्यक्त हुन्छ । जस्तै-
नवनाकविशुद्धत्वा न्नवचक्रंच संस्कृताम् ।
अतीता प्रत्युत्पन्नानां त (ता) थागतानां धातुके ।
नव चक्र प्रयुक्तेन विश्वकर्म्मचैत्य कृतम्।।४८
४७. पं. दिव्य वज्र- धर्म संग्रह कोष, प्रकाशक हेम वज्र वज्राचार्य पृष्ठ ३७
४८. हर प्रसाद शास्त्री- वृहत स्वयंम्भू पुराण पृष्ठ ४२२, कलकत्ताबाट प्रकाशित
वास्तवमा पुलांस्यगु नामले प्रसिद्ध पुच्छारा चैत्यमा पनि नव चक्र नव(भूमि) मात्र भएको तथ्य बौद्ध मार्गीहरूलाई विदित नै छ । सम्पूर्ण शील्पका ज्ञाता भएको नाताले यो चैत्यलाई विश्वकर्म चैत्य पनि भनिन्छ भन्ने कुरा यही श्लोकले व्यक्त हुन्छ । हुनत यो चैत्यलाई पटचैत्य भन्ने नामले पनि पुकारिन्छ ।
स्वयम्भू पुराणले बोधिसत्व मञ्जुश्रीको अस्थिधातु राखिएको पुच्छाग्र चैत्यलाई पट चैत्य, विश्वकर्म चैत्य भनी श्रद्धा गरी आएतापनि एक-दुई जना पडितहरुले पुलांस्यंगु भनि आएको पाइन्छ । वास्तवमा स्वयम्भूको पूराना ढुंगाका मूर्तिहरु झिकी धातुका पंचबुद्धहरू, ताराहरू प्रतिष्ठा गरी जिर्णोद्धार गर्दा ती ढुंगाका पुराना मूर्तिहरू, वज्र र धर्मधातु मण्डलहरू खेर जान नदिन यी सबै राखी स्थापना गरिएको गाडी पार्कमाथि अवस्थित चैत्यलाई नै पूलांस्यंगु भनिन्छ । तर विद्वानहरूले बोलेका कुराहरू कति ठिक छ, कति बेठिक छ शास्त्रीय आधारमा तुलना नगरिकन लहैलहमा पुच्छाग्र चैत्यलाई पुलांस्यंगु मान्नु उपयुक्त देखिदैन ।
यसरी नव छत्र (भूमि) भएका चैत्यहरू भूरूंखेल र हेनाकर महाविहार भित्र नासल चोकमा (चित्र नं. ३०) पनि अवस्थित छ । यो चैत्य पनि लिच्छविकालीन चैत्य हुन सक्छ । किनभने वेदीमा चतुर्मुख वा (चार प्रतिमा गृह) रत्न मुकुट जस्तो छेपु युक्त यो चैत्यमा मूर्ति छैन । बनोट र आकार प्रकार एकदम सुन्दर छ । ठ्याक्क यस्तै आकारको चैत्य त्यौडमा पुरानो धारा निर अवस्थित छ भने एउटा टुटेको फुटेको रूपमा हेनाकर महाविहार भित्रै पनि अवस्थित छ ।
यस्तै नामसंगीतिका टीकाकारले श्री वज्रमण्डलाकार तंत्रको उल्लेख गर्दै अ आ इ ई उ ऊ आदि द्वादश स्वरबाटै द्वादश तथागत भूमि परिनिष्पन्न भएको कुरा वर्णन गरेको पाइन्छ । ती द्वादश तथागत भूमिलाई क्रमश: सूर्यमण्डल, चन्द्रमण्डल, गगनमण्डल, मनोरमा, अभिषेक, पद्म, शुद्ध धर्मोत्पादक, अनुपम, सर्वोपमा प्रतिबोधक, अनुत्तरा, प्रभास्वर, योगिज्ञानपुरक आदि भनेर पनि वर्णन गरिएका छन् भने ती द्वादश तथागत भूमिका नाम यसरी पनि व्यक्त गरिएका छन् ।
१ )समन्तप्रभा भूमि २) अमृतप्रभा भूमि ३) गगनप्रभा भूमि ४) प्रभा भूमि ५) रत्नप्रभा भूमि ६ ) पद्मप्रभा भूमि ७) कर्मप्रभा भूमि
८) अनुपमाप्रभा भूमि ९) निरुपमाप्रभा भूमि १०) प्रज्ञाप्रभा भूमि (११) सर्वज्ञप्रभा भूमि १२) प्रत्यात्मवेद्या भूमि
अत: महायान सूत्र ग्रन्थले दशबोधिसत्व भूमि माने पनि नाम संगीतिको समयसम्म आउँदा द्वादश तथागत भूमिको परिकल्पना गरियो र वज्रयानको जोर जुलमले प्रसार प्रचार हुँदा हेवज्रतन्त्रले त्रयोदश भूमि (भुवन) को परि कल्पना गरेको कुरा स्पष्ट हुन आउँछ । यसरी नामसंगीति, हेवज्रतन्त्र र दश भूमिक सूत्र यी तीनै ग्रन्थले के कुन दृष्टिकोणले भूमिहरूको परिकल्पना गरे त्यो नबुझिकन लह लहैमा त्रयोदश भुवनको अर्थ बोधिसत्व भूमि मात्र होला भनी निश्चय गर्न मिल्दैन ।
यी त्रयोदश भुवन (चक्रावली) पनि क्रिया संग्रह पंजिका अनुसार कोणावली, मध्यावली र मध्यकोणावलीका हिसाबले तीन प्रकारको चक्रावली (भूमि) हरू राख्ने वर्ण भए अनुसार स्वयम्भू महाचैत्यको चक्रावलीलाई मध्यावली मान्न सकिन्छ त पुल्चोक स्तूप र बौद्ध नाथ स्तूप, धन द्यः चैत्यको चक्रावलीलाई कोणावली मान्न सकिन्छ । त्यस्तै भक्तपुरको मिलाख्वामा अवस्थित चैत्य र टेवहाल स्थित चैत्यमा पनि मध्यकोणावली चक्रावली (चित्र नं. ३३ ) राखिएको देखिन्छ ।
भुरुडखेल र पुच्छाग्र चैत्यमा मात्र नव चक्रावली राखिएको होइन अरू पनि धेरै स्थानमा यसरी चक्रावलीको संख्या फरक भएको पाइन्छ । चावहिलमा पाँच भूमिको चैत्य छ भने ढोकावहाल नाशल चोक भित्र नवभूमि मात्र भएको सुन्दर चैत्य भेटिएका छन् । यसरी हरेक विहार, वहीलमा राम्ररी नियालेर हेर्न सके यस्ता विविध चक्रावलीका चैत्यहरू र यी चैत्यसँग सम्बन्धित महापुरुषहरूका बारे पनि ज्ञान नहोला भन्न सकिन्न । ढोकावहालको नाशलचोकको चैत्य अि सुन्दर मात्र होइन क्रियासंग्रहमा वर्णित विधि अनुरूप वेदीको चारै दिशामा सुन्दर प्रतिमागृह राखिएका छन् । तर त्यो प्रतिमागृहमा तोरणको सट्टा रत्नमुकुट जस्ता बुट्टा कुंदैको छ ।


त्यस्तै भोटेबहालबाट महिला जेल जाने दोबाटोमा पनि तीनवटा मात्र भूमि भएको चैत्य (चित्र नं. ३१) उपलब्ध छ । यो चैत्यको गर्भगृह गाग्री आकारको छ भने यसमा हर्मिका आदि केही प्रयोग भएको छैन । वेदीको चारैतिर वैरोचन समेत गरी पंचबुद्ध स्थापना गरिएको छ । कुनै मूर्तिको मुखपनि टुटेको छ ।
वर्षाथालक (आमलसारक)
अब यष्टि पछि यष्टि माथि राखिने बर्षाथालक, वर्षाथाली, आमलसारक बारे पनि यी तत्त्वहरू स्वयम्भू चैत्य एवं अरू साना ठूला समस्त चैत्यहरूमा किन राखियो ? किन अंकित गरियो ? भन्ने विचार उठ्नु स्वाभाविक छ । वर्षाथालक शब्दले नै पानी वर्षा गराउनको लागि राखिएको भाँडा भन्ने कुरा सिद्ध हुन आउँछ । भनिन्छ देशमा धर्म, सत् रहेसम्म पानी पर्ने, पानी नपरेपछि विश्वमै हाहाकार भई अशान्ति हुने भएकोले पानीजन्य झगडा शान्त गर्न वृत्त यानी महापापी स्वार्थी दैत्यरुपी अत्याचारीलाई नियन्त्रण गरी आइन्दा सिधा साधा सरलहरूलाई तिमीले दुःख दिन पाउँदैन भनी इन्द्रकील ठड्याई देव लोक र मर्त्य लोक छुट्याई त्यस इन्द्रकील, यसींमाथि हीरा मोती भरेको वर्षाथालक ४९ राखी सत्यता कायम गरी पानी कै कामना गरेको तथ्यलाई नितान्त बुझ्नु आवश्यक छ । दूर्भिक्षमा अत्याचार बढ्ने र सुभिक्षमा शान्ति अमन चैन बढ्ने कुरा पनि पानीसँग अर्थात् सुवृष्टिसँग अत्यन्त सम्बन्धित तथ्य मान्न सकिन्छ ।
क्रियासंग्रहका लेखक आचार्य कुलदत्तले बर्षाथालकलाई आस्फानक विशुद्धि अनुरूप राखिएको कुरा व्यक्त गरेको छ । पानी वर्षा नहुँदा उहिलेका योगी मुनिहरू यही आस्फानक ध्यान गर्दथे । अतः प्राणी मात्रलाई नभइ नहुने पानीका लागि हाम्रा पूर्वजहरू कति चिन्तित थिए भन्ने कुरा बर्षा थालक चैत्यमा राखिनुबाट अवगत हुन्छ । जति धेरै पानी खर्थ्यो उति नै धेरै अनावश्यक खर्च बढ्छ भनी पानीको प्रयोगमा सजग बनाउन, चेतना दिई बुढापाकाहरू पानी जोह गर्ने जुक्ति गर्छन् । तर अहिले विश्वमै पानीको हाहाकार दिनप्रतिदिन
४९. दिव्यावदान – पृ. १५१
बढिरहे पनि घर घरमा पानीको प्रयोग बढेको छ, समयमा होस् पुयाउन सकेन भने ठूलो संकट नआउला भन्न सकिन्न ।
हाम्रा प्राचीन चैत्य निर्माताहरूले त्रयोदश भुवनभन्दा वर्षाथालकलाई बढी महत्व दिई गजूरका रूपमा वर्षाथालक (चित्र नं. ३२) मात्र राखी चैत्य बनाएको पनि पाइन्छ । सम्पूर्ण सृष्टिका आधार पानी विना जीवन कष्टसाध्य हुन्छ भने पानी बाटै ठूल्ठूला प्रलय पनि हुने कुरामा हाम्रा पूर्वजहरू सर्तक थिए भन्ने कुरा चैत्यमा वर्षाथाली राख्नुबाट स्पष्ट हुन्छ । लिच्छविकाल अर्थात् पाँचौ छैठौं शताब्दीका चैत्य भनिने चैत्यहरूमा केवल गोलढुंगा आकारको गजूर वा सानो घडा आकारको गजूर राखिनुबाट पनि अवगत हुन्छ । हाल त्यस्ता चैत्यहरू साँखु, नमोबुद्ध र टेबहालमा (चित्र नं. ३२, ३३) पाइन्छ भने त्यो भन्दा पछिका वटुको तःधं बहाल (चित्र नं. ३४) र त्यौड तः ननी चोक भित्र पनि वर्षाथालकमात्र राखिएको चैत्य उपलब्ध छन् ।
सुबृष्टिकै कामनाले वर्षाथालक राख्ने प्रचन चलेको हो । यहि अनुरुप चैत्यमा मात्र होइन जुनसुकै मठमन्दिरको गजुरमा पनि कुनै न कुनै रुपका वर्षाथालक वा कलश राख्ने प्रचलन नेपाली मन्दिर निर्माताहरूले प्रचलनमा ल्याएको देखिन्छ । नेपाली मन्दिरहरूको यो एउटा महान विशेषता हो । करुणामयहरूको रथमासमेत यही ध्येयले केराबायमो भनिने बेतले बनाएको गोल आकृतिको वस्तु रथको गजुरको टुप्पोमा अनिवार्य राख्ने प्रचलन छ । कथंकदाचित आस्फानकध्यान विशुद्धि अनुरुप राखिएको यो केराबायमो रथजात्राका अवसरमा तल झयो वा रथबाट उछिटिएर खस्यो भने देशमा अनेक अशुभ एवं अनर्थ हुने कुराको संकेत गर्छ भन्ने किम्वदन्ती छ ।






