
निरर्थक शव्दको पर्यायमा ताईं न तुईं भन्ने वाक्याँश पनि प्रयोग हुँदै आइरहेको देख्छौं , त्यसैले यो वाक्याँश कस्तो बेला,कस्तो ठाउँमा ? प्रयोग हुन्छ भन्ने कुरा खुलाई रहनु परेन । कतिपय पण्डितहरुले एउटा कुरो पायो भने त्यसलाई कसरी आकासपाताल गर्दै ताईं न तुईंको व्याख्या गर्दा रहेछन् भन्ने उदाहरण फाट्ट फुट्ट देख्न पाइन्छ र पछि उनीहरु आफै ङिच्च पर्ने गरेको पनि देख्दै आएकै हो । यसको ज्वलन्त उदाहरणको रुपमा हनुमानढोका क्षेत्रमा पाइएको एउटा लिच्छविकालको जलद्रोणी अभिलेखलाई नै लिन सकिन्छ । जस्तो त्यसमा “किरातवर्षधरद” स्पष्ट रुपले उल्लेख आइरहेको भएपनि “किरातवर्षधर” मात्र पढेर पूर्णिमा अंक तीनवटामा ताईं न तुईंको वर्णन गरेका छन् । वास्तवमा धर पछि द सहित स्पष्टै हुँदाहुँदै पनि अधूरो शव्द पढेर “किरातवर्षधर” भनेको नपुंसक मान्छेलाई भनेको भनेर अथ्र्याए । अब आएर किरातवर्षधरद हो भनी जानी सक्दापनि त्यसको अर्थ पनि उही नै हो भनी पुनव्र्याख्या अहिलेसम्म गर्न सकेको देखिएन । त्यसैले त्यो कुरा निरर्थक सिद्ध भइसकेको प्रमाणित हुन्छ ।
त्यस्तै गरी अर्को उदाहरण पनि देखिन आएको छ । त्यो हो एउटा तामापत्र अभिलेखमा “यंग्वर” लेखिएको कुरालाई “मंग्वर” भनी पढेर मंग्वर भनेको “मगरात” प्रदेश भनेर नाना भाँतिको लामो व्याख्या गरिंदै आएको पनि देखियो । वास्तवमा यो पनि ताईं न तुईं को निरर्थक भन्नु परेको छ । किनभने त्यस अभिलेखमा अलि गहिरिएर शव्द खुट्याएको भए त्यहाँ मंग्वर होइन यंग्वर हो “झोंण्टेश्वर” होइन “झपाेंटेश्वर” लेखिएको पढ्न सकिन्छ । यता तिर पनि पण्डितहरुले अलि मेहनत नगरिएकै प्रष्ट हुन्छ । त्यसैले यही अभिलेखको पाठलाई सुधारेर पुन लिप्यान्तर र भाषान्तर गर्न आवश्यक ठानी यो लेख तयार गरिएको हो ।
हाल केही दिन अघिदेखि अनलाइन संजालमा सेभ हेरिटेजबाट पोष्ट भइरहेको गौतमवज्र वज्राचार्यको पोष्ट भाइरल भइरहेको देखियो । जसमा तामापत्रको फोटो पनि दिइएको रहेछ । यो अभिलेख धनवज्र वज्राचार्यको पूर्व मध्यकालका अभिलेख नामक ग्रन्थको संख्या १६ मा पनि त्यो अभिलेख छापिएको रहेछ तर त्यो कुरा चाहिं त्यहाँ व्यक्त गरेको देखिएन ।
त्यस ग्रन्थमा भनिएको छ कि ताम्रपत्राभिलेख हाल ऐश्वर्यधर शर्माको संग्रहमा रहेको छ भने यसको पहिलो प्रकाश “दि टू अर्लिएस्ट कपर प्लेट एन्स्क्रिप्शन्ज फ्रम नेपाल”मा महेशराज पन्त र ऐश्वर्यधर शर्माले अनुवादसहित छपाएका थिए भनेर उल्लेख छ । साथै पाञ्चाली(पञ्चायत) शासनपद्धतिको ऐतिहासिक विवेचनामा धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठद्वारा छापिएको अनुवाद सहित दिएको भनेर मात्र होइन पूर्व मध्यकालको अभिलेखको पृष्ठ ५८ मा पनि प्रकाशित छ भनियो भने सायद गौतमवज्रले धनवज्रलाई चुनौति दिएको पो हुनजाने हो कि भनेर पनि नदिइएको होला ।
यसमा लिप्यान्तर र अनुवादमा यंग्वरलाई मंग्वर भनेर पढी दिंदा आगराको कुरा गागरा हुन गएको छ । त्यस्तै झपोंटेश्वर लाई झोंण्टेश्वर भनेर पढीदिए र ने.सं २२१ मार्गशुक्लको तद्नुसार वि.सं ११५६ हुने लाई ११५७ भनेर अर्थ लगाई दिंदा इतिहास अण्टसण्ट हुनगई पाठकहरु दिग्भ्रमित भइरहेको देखियो । यसलाई पाठकहरुले सच्याएर पढ्न सहज होस् भनी दिइएको यस प्रकार छ:
मूलपाठ
१.ॐ ( चिन्ह) शुभमस्तु । सम्वत् २२१ माग्र्गशुक्लदशम्यां । राजाधिराजपरमे
२.श्वर: श्रीमतशिवदेवमहाराजै । श्रीरामदीवसमत्तविजयराजै ।
३. यंग्वरविषये । झपोंटेश्वर भटारकास ताडेगौठिपञ्चालिकेणः छेप
४. रं ग्वण्ड ओपलें । श्रीइदाभावो नायक । श्रीधनप नायक । श्रीसोह
५.वराने । एते पधाण वत्र्तनीय ।।
अनुवाद
शुभहोस् । नेपालसंवत् २२१ (वि.सं ११५६) मार्गशुक्ल दशमीकोदिन राजाधिराज परमेश्वर श्रीशिवदेवको र सामन्त श्रीरामदेवको विजयराज्यमा यंग्वल जिल्लामा झपोंटेश्वर भट्टारक (देवता) लाई ताडेका गोष्ठी र पाञ्चालिका सदस्यहरुले (छेपर ग्वण्ड = गुठीलाई चाहिने भाँडावर्तन सामानहरु ) राखिए । ती सामानहरुको रेखदेख गर्न श्रीइदाभावो नायक,श्रीधनप नायक , श्रीसोहव राना यी प्रधानहरु नियुक्त गरियो ।
फोटो

(पूर्व मध्यकालको अभिलेखमा छापिएको ताम्रपत्रको छापा)
यहाँ सर्बप्रथम बिचार गर्नु पर्ने कुरा भनेको ताम्रपत्राभिलेख हाल ऐश्वर्यधर शर्माको संग्रहमा रहेको छ भनिएकोमा ध्यान दिनु अति जरुरी हुन आउँछ । यदि यो ताम्रपत्र मगरात प्रदेश तिरको थियो भने पुस्तौंपुस्तादेखि इन्द्रचोकमा बसोबास गर्दै आएको ऐश्वर्यधर राजोपाध्याय शर्माको संग्रहमा मगरात तिरको तामापत्र किन कसरी उनको स्वामित्वमा आयो ?भन्ने प्रश्न उब्जिन्छ ।
अर्को विचारणीय कुरा भावो भनेको नेपालमण्डल उपत्यकामा बस्ने आदिवासी ज्यापू समुदायलाई भनिने हो । गण्डकी क्षेत्र याने मगरात क्षेत्रमा भावो(ज्यापु)हरु थिए भनेर सिद्ध गर्न सकिंदैन । नेपालमण्डलमा केवल नेवार समुदाय मात्र रहेको ठाउँ भनेर सिद्ध गर्न पनि सकिने होइन । उपत्यकामा खस मगर तिरहुतियाहरु पनि प्राचीन कालदेखि बस्दै आएको हो त्यहाँ नेवारहरुको बाहूल्यता भएको ठाउँ मात्र हो । यसमा श्रीधनप नायक र श्रीसोहव राने नेवार समुदायका नहुन सक्छ तर नायक श्रीइदाभावो चाहीं अवश्य नेवार हुन् ।
त्यसकारण ताम्रपत्रमा मंग्वर भनेर पढिएकोमा त्रुटि देखिन्छ । अतः त्यो यंग्वल याने यंग्वर नै हो मंग्वर होइन भन्न सकिन्छ । ताम्रपत्रमा अक्षर कुँद्दाखेरि दोह¥याएर कुँदेको देखिन्छ । यंग्वलको य अक्षरलाई ज्यावलले अलिकति केरमेट गरेको देखिन्छ । वास्तवमा यो य नै हो म होइन । ताम्रपत्र जसको स्वामित्वमा रहेको हो उनीहरुको पूर्खा यंग्वल क्षेत्रमा रहेको झपोंटेश्वर शिवालयको पुजारी हुनु संभव छ । लिच्छविकालमा यंग्वल क्षेत्रलाई दक्षिण कोलीग्राम कहलिने भएकोले प्रशासनका सबै निकाय यंग्वलमा रहेकोले यसलाई विषय भनेको हुनुपर्छ भने पण्डितहरुले व्याख्या गरे झैं यदि यो मंग्वर भै दिएको भए यो ताम्रपत्र पनि गण्डकी क्षेत्रमा बस्ने व्यक्तिको स्वामित्वमा रहेको हुनु पर्ने हो । यसो नभएकोले व्याख्याताहरुले मंग्वर कल्पना गरेको वास्तविकता भन्दा नजिक नभई धेरै टाढा देखिने भएको हो ।
गौतमवज्र वज्राचार्यले पोष्ट गरेको सन्देशमा झपोंटेश्वरलाई उनले पनि झोण्टेश्वर नै मानेको छ र यो झोण्टेश्वरलाई झोटपा द्य भन्ने गर्दछ भनेर पनि टिप्पणी गर्नु भएको छ । खासमा अभिलेखमा झोण्टेश्वर भनिएको नै होइन र यसलाई झोटपा द्य भनीरहनु भन्दा पनि तामापत्रका स्वामित्वधारी जो हो उनको पूर्खा कुन देवताको पुजारी थियो त्यसको खोजी हुनुपर्ने हो । यो देवताको मन्दिर अवश्य यंग्वल क्षेत्रमा पर्दछ भन्ने स्पष्ट छ ।
अर्को कुरा ने.सं २२१ मार्गशुक्लको तद्नुसार वि.सं ११५६ हुने हो ११५७ हुने होइन भन्नु पर्नाको कारण यस प्रकार छ । जस्तै नेपालसंवत् १ भनेको वि.सं ९३६ को कार्तिकदेखि विसं ९३७ को आश्विनसम्म रहने सिद्ध भएबाट नेसं र विसं बीचको त्यसबेला अन्तर ९३५ र ९३६ हुने स्वतः प्रष्ट छ । त्यही सिद्धान्त बमोजिम नेसं २२१ पनि ९३५ र ९३६ कायेम हुने आधारमा तदनुसार विसं ११५६ को कार्तिकदेखि विसं ११५७ को आश्विनसम्म रहने स्पष्ट हो । तव मार्गशुक्लको तिथि विसं ११५६ को मार्ग शुक्ल हुने पनि निश्चित देखिएको हो । अभिलेखमा बारको समेत उल्लेख आएको भए त्यसको स्वाद झन अर्कै हुने थियो तापनि बार र तारिख गणना गर्दा अन्य गणना मिलेको आधारमा यसको पनि बार र तारिख गणना गरेर अवश्य हेर्न सकिन्छ । हेरौं बार र तारिख के आउँदो रहेछ ?
ने.सं २२१ माग्र्गशुक्ल दशमीको गणना
सिद्धान्त: ने.सं २२१+८०२=लिसं १०२३, यो शक १०२१ को कार्तिकदेखि शक १०२२ को आश्विनतक रहने हुन्छ । यहाँ मार्ग महिना आएकोले शक १०२१ हुन्छ । योवर्ष १०२१ वैशाखमा अधिमास परेको छ ।
यो मितिको गणनाद्वारा परीक्षा गरी हेरिन्छ । शक १०२१ + ७८= ई.१०९९
इष्ट इश्वीसन् १०९९ ।(साधारण वर्ष) हुन्छ ।
तिथिगण चैत्र १,+ वैशाख२+अधिमास३ +जेष्ठ ४ + आषाढ५+श्रावण६+भाद्र७+आश्विन८+कार्तिक९+ मार्गशुक्ल १० =(३०+३०+३०+३०+३०+३०+३०+३०+३०+१०=२७०+१०=२८० ।२८०—३=२७७
न्यास संख्या १
परिणामः— नेसं २२१ मार्ग शुक्ल दशमी तिथि आइतबार पर्न आउँदो रहेछ । तद्नुसार इस्वी १०९९ डिसेम्बर २५ तारिख आए भने शक १०२१ र वि.सं ११५६ पौषको ९ गते पर्न आउने माथिको गणनाबाट देखिन्छ ।
अभिलेखको व्याख्या
पूर्व मध्यकालका अभिलेखमा दिइएको व्याख्यालाई हेर्दा गोपालराज वंशावलीलाई आधार बनाइएको देखिन्छ । उक्त वंशावलीका अनुसार शिवदेवको जन्म नेसं १७७ आषाढ कृष्ण प्रतिपदा बुधबारको दिन भएको हो । उनी ६९ वर्षसम्म जीवित रहेको देखिन्छ । यिनी राजा शंकरदेवका छोरा हुन् पनि भनिएको छ । यिनी राजगद्दीमा वस्दा ४२ वर्षका थिए । ने.सं २४६ सम्म राज गर्दा २७ वर्ष ७ महिना राज गरेको कुरा त्यस व्याख्यामा पाइन्छ ।
फेरि त्यही व्याख्यामा कताकता बाझिएको जस्तो अनमेलजन्य कुरा पनि छन् । किनकि ने.सं २१७ मा राजा हर्षदेवको पालामा लेखिएको हस्तलिखित ग्रन्थ पाइएको कुरा छ । गोपालराज वंशावली कै आधारमा भनी राजा हर्षदेव पछि ने.सं २१९ मा शिवदेव गद्दीमा बसेका थिए । ने.सं २२१ देखि २४३ भित्र लेखिएका तमाम हस्तलिखित ग्रन्थमा शिवदेवको नाम उल्लेख भएको र ने.सं २४७ आषाढमा लेखिएको हस्तलिखित ग्रन्थमा शिवदेवका उत्तराधिकारीको रुपमा इन्द्रदेवको नाम उल्लेख भएको हुनाले यसबाट शिवदेवको सालमिति सबै ठीक देखिएको भनी व्याख्यामा छ ।
इतिहासकार धनवज्र वज्राचार्यकोे व्याख्याबाट के स्पष्ट भएन भने शिवदेवको पिता राजा शंकरदेव थिए पनि भनिएको छ भने राजा हर्षदेव पछि शिवदेव राजा भएको कुरा पनि छ । फेरि दुइटै कुरा गोपालराज वंशावलीको हवाला दिएर भनिएको छ । यहाँ निर पाठकहरु बडो अन्यौलमा परेको छ । वास्तवमा यो परिस्थितिमा कुशल इतिहासकारले सहीबाटो देखाउन सक्नु पर्दथ्यो । साँच्चै भन्नु पर्दा उनी यहाँ असफल रहेको प्रतित हुन्छ ।
गोपालराज वंशावलीकारका अनुसार पशुपतिमा सुनको छाना हाली पूर्व शिखरदेवको जीण्र्णोद्धार जसले गरेका थिए उनै राजा शिवदेव हुन् । यिनै शिवदेवले कीर्तिपुरको बल्खुखोलामा बाँध हालेका थिए, शहर बस्तीहरुमा धारा कुवा पोखरी बनाई विकास गर्दै चाँदीका द्रम्म मुद्रा चलाएर आर्थिक विकासमा समेत गति दिएर नेपाली मुद्राको इतिहासमा नयाँ अध्याय नै थपेका थिए । यिनले सुनका शिवका सुकीहरु पनि प्रचलनमा ल्याए । यिनले पञ्चपुर नामको दरवार बनाउन लाएका थिए भनी व्याख्या गरिएको छ । यी कुरा बस्तुस्थितिको आधारमा होइन केवल वंशावलीको आधारमा मात्रै हुन् । किनभने द्रम्म मुद्रा शिवका सुकीहरुको अस्तित्व प्रमाण देखाएर व्याख्या गरेको भए राम्रो हुने थियो ।
अर्को बाझिएका जस्तो देखिने कुरो यो पनि छ कि ने.सं २४७ को हस्तलिखित ग्रन्थ पाइएको आधारमा शिवदेवका उत्तराधिकारी इन्द्रदेव थिए भनेर उल्लेख गरिएको छ भने शिवदेवको पालामा युवराज महेन्द्रदेवले महेन्द्रसर नामक पोखरी बनाएका थिए । यो पोखरीको अस्तित्व छ छैन भन्नु भन्दा पनि शिवदेवका उत्तराधिकारी इन्द्रदेव थिए कि महेन्द्रदेव थिए त्यसमा पो अन्यौल देखिने भएको छ । अर्को कुरा तानतुन पारेर व्याख्या लम्ब्याउन यिनको पालामा भारतको काशी प्रयाग देखि केहीविद्वानहरु नेपाल आएर बसे राजकुमार आनन्ददेवहरु समेत ती विद्वानहरुसंग दीक्षा लिए भनी अपुष्ट कुरा वर्णन गरिएको छ । यसरी अपुष्ट कुरालाई आधार बनाएर व्याख्या जुन गरिएको हो । यो धनवज्र जस्तो व्यक्तिलाई सुहाएको छैन ।
अकाकुर्रो एकातिर ने.सं २२० देखि २४३ सम्मका हस्तलिखित ग्रन्थहरुमा राजा शिवदेवको नाम उल्लेख पाइन्छ पनि भन्ने अर्कोतिर नेसं २३१ देखि २४२ सम्म पाइएको हस्तलिखित ग्रन्थहरुमा सिंहदेवको नाम उल्लेख छ भनेर पनि लेखिएका छन् । लुसियानो पेतेकको भनाइमा शिवदेव र सिंहदेव एकै व्यक्ति होइन भिन्नाभिन्नै हुन् भन्नेमा जोड दिइएको बताइएको छ र सिलभान लेभीले चाहीं शिवदेव र सिंहदेव एकै व्यक्ति हुन् भनेर जोड दिएको कुरा पनि छ ।
गोपालराज वंशावलीकारले नेपालको राजाहरुको क्रममा शिवदेवको नाम मात्र दिएको छ सिंहदेवको नाम दिइएको छैन । युवराज महेन्द्रदेव , राजा आनन्ददेव रुद्रदेव र अमृतदेवको पिताको नाम सिंहदेव भनेर दिएको कुरा उल्लेख गरेको छ । शिवदेवको उत्तराधिकारीको नाम इन्द्रदेव देखिनु र सिंहदेवका युवराज राजकुमारहरुको नाममा महेन्द्रदेवको नाम देखिने । यति हुँदा पनि शिवदेव र सिंहदेव एकै व्यक्ति हुन् भन्नुले आभास जनाउँछ तर प्रामाणिक मान्न गाह्रो छ । ने.सं २३१ देखि २४२ सिंहदेवको समय र ने.सं २२० देखि २४३ सम्मको अवधिलाई मध्यनजर गर्दा शिवदेव र सिंहदेव एकै व्यक्ति भनेर अनुमान गर्नुपर्ने अवस्था पनि छ ।
इतिहासकारको मत बाझिएको जस्तो देखियो कि त्यसताका दुई राजकूलको अस्तित्व रहेको हुँदा गद्दीनशीन राजा एक वंशका भए युवराज अर्को वंशको घोषित हुने चलन छ भनियो । तर राजा शिवदेवको छोरा युवराज महेन्द्रदेव हुन भनेर ठोकेर भन्न सकिंदैन पनि भनिएको छ । जे होस् यस्तो किसिमको व्याख्या कुनै पनि कुशल इतिहासकारले गर्दैनन् भन्न सकिन्छ । जब इतिहासका अन्य स्रोतहरुको आधारमा गरिएका व्याख्या त पुत्र न पुत्री भन्ने किसिमको भइ रहेको छ भने यंग्वर भनेर पढ्नु पर्ने कुरालाई मंग्वर भनेर पढेर गरिएको व्याख्या अण्टसण्ट हुनगयो भनेर कुनै आश्चर्य मान्नु पर्ने होइन ।
निष्कर्ष
प्रसिद्ध इतिहासकार स्व.धनवज्र वज्राचार्यको देनको कुरा गर्दा लिच्छविकालका अभिलेख पूर्व मध्यकालका अभिलेख, मध्यकालका अभिलेख र शाहकालका अभिलेख संकलन गरी चारै कालखण्डको अभिलेखहरु नेपाली समाजलाई दिएर जुन गुण लगाउनु भएको हो । यसलाई अति स्तुत्य मानेर मात्र पुग्दैन इतिहासका सम्पूर्ण पाठकहरुलाई ऋणी बनाएर गएको छ भन्नु पर्ने हुन्छ । तथापि उहाँ पनि एक मानव नै हुन् त्यसैले त्रुटि भनेको मानव कै हुने हो । उहाँले ती स्रोतहरुको व्याख्या गर्ने क्रममा धेरै ठाउँमा धेरै कुशलता प्रकट गर्नु भएको छ यसमा कुनै विवाद छैन तर कतै कतै चिप्लीएका छन् भने कतिपय ठाउँमा कुशलता प्रकट गर्नमा असफल भएका पनि छन् ।
माथि उल्लेख गरेको हनुमानढोका क्षेत्रमा पाइएको जलद्रोणी अभिलेखमा भएको किरातवर्षधरद लाई अन्तको द छोडेर किरातवर्षधर भनेर जुन किसिमको ताईं न तुईंको अर्थ लगाउनुमा धनवज्र, गौतमवज्र र संशोधनमण्डल अछूटो हुन सकेन । अहिले चर्चा गरिएको तामापत्रको अभिलेखमा यंग्वर नै हुनु पर्ने हो मंग्वर होइन भनेर जुन गौतमवज्र वज्राचार्यले औंल्याउनु भएको हो । त्यसमा म लगायत हामी सबैले शतप्रतिशत समर्थन जनाउनमा आनाकानी गर्नु पर्ला जस्तो लाग्दैन ।








