
काठमाडौं । काठमाडौं महानगरपालिका, यूनेस्को तथा काठमाडौं सिटी अफ फिल्म्सको आयोजनामा नेपा: डान्स एकेडेमी, बौद्ध दर्शन अध्ययन पुचः र नेपा सांस्कृतिक पुचःको सहकार्यमा २०८३ जेठ ९ गते राष्ट्रिय नाचघरमा “चर्या प्रवाह” कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम “चर्या प्रवाह” मा चर्या बौद्ध दर्शन तथा नृत्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका गुरु यज्ञमानपति बज्राचार्य लाई विशेष सम्मान अर्पण गरिएको थियो।
सो अवसरमा गुरुको योगदान लाइ कदर गर्दे विभिन्न कलाकारहरूले चर्या नृत्य प्रस्तुत गरेका थिए।
मन्तव्य व्यक्त गर्ने क्रममा गुरु यज्ञमानपति बज्राचार्यले भावुक हुँदै भन्नुभयो, “आजको यो वातावरणमा देवी–देवताहरूको अलौकिक उपस्थिति महसुस भइरहेको छ । यस्तो आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम अत्यन्त दुर्लभ हुन्छ । आज मैले आफ्नो जीवनको सार्थकता महसुस गरेको छु ।” उहाँले काठमाडौं महानगरपालिकाप्रति विशेष आभार व्यक्त गर्दै आफूलाई मानिस भएर जन्मिएको अर्थ आज गहिरो रूपमा अनुभूत भएको बताउनुभयो ।
प्रमुख अतिथि कार्यवाहक प्रमुख सुनिता डगोलले गुरु यज्ञमान पति बज्राचार्य ज्यूले कुनै जात, उमेर, वर्ग वा समुदायको भेदभाव नगरी सबैलाई समान रूपमा शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । संरक्षणमा निरन्तर सक्रिय गुरु व्यक्तित्वलाई सम्मान गर्न यस्तो कार्यक्रम आयोजना गरेकोमा भन्दै सम्पूर्ण कलाकारलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमको संयोजन नेपा: डान्स एकेडेमीको थियो भने सञ्चालन सदिक्ष्या श्रेष्ठले गर्नुभएको थियो । “चर्या प्रवाह” ले नेपालको अमूल्य अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन लागि कार्यक्रम गर्दे आइरहेको छ ।


