
काठमाडौँ।यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि अनलाइनमार्फत सेवा उपलब्ध गराउने भएको छ ।
२०८३ साल साउन १ गतेदेखि लागू हुने गरी यो सेवा सुरु हुन लागेको हो । अब लाइसेन्सका लागि फारम भर्दा सेवा लिन चाहनेहरुले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्युआर स्क्यानरबाट स्क्यान गरी अटोफिलमार्फत सजिलै फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ । अन्यको हकमा भने साविकअनुसार नै हुनेछ ।
सेवाग्राहीलाई थप सहजता प्रदान गर्न राजस्व भुक्तानीसमेत अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था गरिएको छ । यदि सेवा प्रवाहका क्रममा कुनै किसिमका समस्या, गुनासो वा सुझाव आएमा विभागको आधिकारिक इमेलमा सम्पर्क गर्न सकिनेछ ।
सातवटै प्रदेशका कार्यालयहरूबाट पनि सम्बन्धित इमेल र मोबाइल नम्बरमार्फत सेवाग्राहीका जिज्ञासाको सम्बोधन गरिने बताइएको छ ।



