
चर्चामा पुस्तक
योगमाया न्यौपाने इतिहासदेखि वर्तमानसम्म
योगमाया तत्कालिन राणाशासनकालमा सामाजिक,सांस्कृतिक,धार्मिक आन्दोलनको अगुवा व्यक्तित्व हुन् । उनले त्यतिबेलाका समाजमा धर्मका नाममा हुने विभिन्न ठगी,समाजमा प्रचलित कुप्रथा,महिला हिंसा, राजनीतिमा हुने बेइमानी, जातिय विभेद लगायतका विषयमा आवाज बुलन्द गरेकी थिइन । सत्यधर्मको पक्षमा लागेर धर्मराज्य स्थापना गर्नुपर्ने माग गर्ने योगमाया लगायत ६८ जनाले अन्तत् जलसमाधि लिएर जीवनलाई उत्सर्ग गरे ।
तिनै योगमायाको बारेमा विभिन्न अध्येता,अनुसन्धानदाता,लेखक लगायतका खोजमुलक सिर्जनाहरु समावेश गरेर ओझेलमा पारिएकी योगमाया र उनको योगदानलाई उजागर गर्ने कृतिको रुपमा यो आएको देखिन्छ ।
प्रदीप सापकोटाद्धारा संम्पादित कृतिभित्र योगमायासँग समाधि लिने र पहिले उनीसँगै जेलपरेकाहरुको विवरण, योगमायाका तस्वीर,योगमायाका नाममा भैरहेका विभिन्न संघसंस्थाका गतिविधि,उनको नाममा राखिएका पुरस्कार र सम्मान,उनको नाममा विभिन्न विद्धानहरुले प्रकाशनमा ल्याएका पुस्तकहरु लगायतका विषयहरु समावेश गरिएको छ । योगमायाको बारेमा जान्न चाहाने जो कोहीलाई पनि पुस्तक महत्वपूर्ण बन्न सक्छ ।
योगमाया न्यौपाने इतिहासदेखि वर्तमानसम्मलाई न्यौपाने बन्धु समाज नेपालले प्रकाशनमा ल्याएको हो ।
मेरो देश र कर्तव्य
बिन्दुराज अधिकारीको यो कृतिले देशभक्तिभावलाई दर्शाएको छ । सकारात्मक भावले लेखिएका विभिन्न लेखहरु यसमा समावेश छन् । शहरीकरण,नमूना नगर,बनपैदावर,पर्यटन,आदर्श समाजको परिकल्पना,वर्तमान शिक्षा प्रणालीमा गरिनुपर्ने सुधार,समायानुकुलको व्यवसायिक शिक्षा,विभिन्न पेशाकर्मीले आफ्नो पेशाको व्यवसायिकताको हितमा शिक्षा लिनु पर्ने जस्ता महत्वपूर्ण विषयका लेखहरु छन् । कृतिभित्र राष्ट्रवादी चिन्तन पनि छ । राष्ट्रिय सौन्दर्यका कार्यक्रम सम्बन्धमा पनि आफ्ना दृष्टिकोण राखिएको छ । जनसहभागिता र सामाजिक विकास जस्ता कुराहरु पनि छन् । भाषाको सम्बन्धमा लेखिएको लेख पनि छ ।
यसरी आफ्ना विभिन्न क्षेत्र र स्थानमा काम गर्दाका अनुभवहरु सहित लेखहरु आएका छन् । चिन्तन गर्छन् अधिकारी आफ्ना लेखहरुमा । जहिँकहिँ देखिएको छ सकारात्मक भाव ।
मेरो देश र मेरो कर्तव्यलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
खरानीको अङ्कुर
कवि हरिकुमार श्रेष्ठ ‘शिखर’का विभिन्न चार दर्जन कविताहरु समावेश गरिएको कवितासङ्ग्रमा नेपालको सामाजिक,साँस्कृतिक र राजनीतिक परिवेशहरु परेका छन् । वि.सं.२०६८ देखि २०८१ सम्मका समयावधिका सिर्जनाहरुले कृतिमा स्थान पाएका छन् ।
प्राय कविताहरु मुक्त छन्दमा लेखिएका छन् । राष्ट्रिय विद्रुप अवस्था,राष्ट्रियता,ऐतिहासिक स्थानहरुको महिमा,कविको सम्झना,किसानका मर्का,साम्राज्यवादीका ठग्ने तरिका चित्रण गरिएका कविता छन् ।
कविताका भावहरु गहन छन् । हामी बाँचिरहको समाजको यथार्थ चित्र कविताहरुले दर्शाउँछन् । कविमन भावुक पनि देखिएको छ । विम्ब र प्रतिकहरु उचित संयोजन,सरल भाषाले कविता सुन्दर बनेका छन् ।
खरानीको अङ्कुरलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।



